पोखरा, युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शिशुवामा निशुल्क रक्त परीक्षण सहितको सचेतना कार्यक्रम गरिएको छ । युआरएल फाउन्डेसनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) मुख्य कार्यालयको प्राविधिक सहयोगमा आयोजना गरेको उक्त कार्यक्रममा ६ सय १ जनाको मधुमेह तथा थाइराइडसम्बन्धी रगत जाँच निशुल्क गरिएको थियो।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा. प्रकाश भट्टराईले मधुमेह, थाइराइड जस्ता रोगहरु लाग्नुका कारण र निदानका उपायहरुबारे प्रकाश पारेका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप भट्टराई र मणिपाल शिक्षण अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विभा महतोले पनि सहभागीहरुलाई विविध रोगबारे जानकारी गराएका थिए ।

शुक्रबार रगत जाँच गराएकाहरुलाई परामर्शसहित मंगलबार र बुधबार रिपोर्ट वितरण गरिने युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार अन्य जांचमा पनि छुट प्रदान गरिएको थियो ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै सामाजिक उत्तरदायित्व वहन गर्ने कुरालाई युआरएलले महत्व दिंदै आएको बताए । उनले भने, “हामीले सेवा र सामाजिक दायित्वलाई सँगसँगै लगेका छौँ । राजधानी बाहिरको पहिलो रेफरेन्स ल्याब युआरएलले गुणस्तरीय सेवालाई गण्डकी प्रदेशका सबैजसो जिल्लामा पुर्याउने लक्ष्य राखेको छ । युआरएलले हाल गण्डकी प्रदेशका विभिन्न जिल्लामा २४ स्थानबाट सेवा प्रवाह गरिरहेको जनाएको छ ।

युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो २२५ औं शिविर हो । पोखरा महानगरको स्वास्थ्य महाशाखासँग सहकार्य गरी पोखराका पाँच स्थानमा शिविर आयोजना गर्ने तयारी भएको युआरएलका सञ्चालक मणि न्यौपानेले बताए । कार्यक्रममा शिशुवा अस्पताल संचालक समितिका अध्यक्ष बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले सहज र सुलभ स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक कार्यान्वयन गर्न राज्यसँगै निजी क्षेत्रको यस खालका प्रयास जरुरी हुने विचार राखे ।














