पोखरा, पटक पटक फिर्केखोलाको दायाँ बायाँ बनेका संरचनाहरु हटाउन अल्टिमेटम दिंदै आएको पोखरा महानगरपालिकाले पछिल्लोपटक बुधबार पनि फिर्केखोला भित्रका संरचना तिन दिनभित्र हटाउन अल्टिमेटम दिएको छ। बुधबार पोखरा महानगरपालिकाले जारी गरेको सूचनामा खोलाघर भित्रका संरचना तिन दिन भित्र आफै हटाउन र नहटाएमा महानगरले हटाउने र महानगरले हटाउँदा लाग्ने खर्च पनि सम्बन्धित घरधनीले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ।
‘फिर्के खोलाको खोला घरभित्रका संरचनाहरू सम्बन्धित व्यक्ति तथा संस्था स्वयंले नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने व्यहोरा जानकारी गराइन्छ’ सूचनामा भनिएको छ।
महानगरले जारी गरेको सूचनामा ‘यस अगाडी २०८० कात्तिक १० गते ३५ दिने सूचना प्योरकाशित गरि पोल गाडिएको ठाउँभित्रका संरचना हटाउन भनिएकोमा उक्त सूचनाका विरूद्ध उच्च अदालत पोखरामा परेको रिटमा अदालतले उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने आदेश भएको र २०८३ बैशाखमा जारी भएको सुचना समेतको आधारमा खोलाघर भित्रका संरचना २०८३ जेठ ९ गते भित्र हटाउन’ भन्ने उल्लेख गरिएको छ।
यसैबीच, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अहिले खोला घरभित्रका संरचना हटाउन खोजिएको र साइकल लेन निर्माण गर्ने समयमा मापदण्ड लागू गर्न छुट्टै सूचना जारी गरिने जानकारी दिए । उनले मापदण्डभित्र लालपूर्जा भएका जग्गाको हकमा मुआब्जा दिईने भएपनि अहिले खोलाघर मात्र खाली गर्न लागेका भन्दै खोलाघर भित्र लालपूर्जा दिन नमिल्ने भएकोले पछि मापदण्ड लागू गर्दा व्यक्तिको लालपूर्जा भएको जग्गा मापदण्ड भित्र परेमा मात्र मुआब्जा दिन्छौं।’
पोखरा महानगरपालिकाले २०८० साउन २ गते फिर्के खोलाको अबस्था अध्ययन गर्न भन्दै वासुदेव पौडेलको संयोजकत्वमा गठन गरेको प्राविधिक टोलीले बुझाएको प्रतिवेदनमा फिर्के खोला तीन मिटरदेखि ४० मिटरसम्म फैलिएको र आठ किलोमिटर लम्बाई रहेको उल्लेख गरिएको छ। पोखरा महानगरको वडा नम्बर २, ४, ५, ७, ८, ६, १७ र १८ हुँदै बग्ने फिर्के खोलाको गहिराइ ४ देखि ९ मिटरसम्म रहेको र खोलाको जग्गा अतिक्रमण गरेर व्यक्ति एबम बिभिन्न संघ संस्था र सरकारी निकायले समेत स्थायी र अस्थायी संरचना निर्माण गरेको प्रतिबेदनमा जनाइएको छ।
प्राबिधिक टोलीले दिएको प्रतिबेदनमा फिर्के खोला अतिक्रमण गरेर १ सय ६० वटा संरचना निर्माण गरिएकोमा ९७ वटा अस्थायी र १५ वटा स्थायी संरचना निर्माण गरिएको छ। यसका साथै बिभिन्न संघ संस्थाको नामबाट बनाइएका ८ वटा अस्थायी र ११ वटा स्थायी संरचना रहेको प्रतिबेदनमा उल्लेख छ यसबाहेक केहि व्यक्ति र केहि संस्थाले खोलाको केहि भागमात्र अतिक्रमण गरेको छन ।
सशस्त्र प्रहरी बल तालिम केन्द्रसहितका केहि सरकारी निकाय, लिटल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज लगायतका केहि शैक्षिक संस्था र लायन्स क्लब लगायतका केही संघसंस्थाले फिर्के खोला पुरै वा आंशिकरुपमा अतिक्रमण गरेर संरचना निर्माण गरेर आँफै उपभोग गर्ने वा अन्यलाई भाडामा लगाउने काम गर्दै आएका छन।















