Play

होटल मेनेजमेन्ट कलेज पोखरामा अन्तराष्ट्रियस्तरको ‘ट्रेन द ट्रेनर’ कार्यक्रम, बिभिन्न होटलका ब्यबस्थापक सहभागी

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१४ छिनेडाँडामा सचालनमा रहेको नेपालकाे पहिलाे हाेटल म्यानेजमेन्ट कलेज ‘नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज’ (एनटीएचएमसी) मा ‘ट्रेन द ट्रेनर’ शुरु गरिएको छ पोखरेली होटल व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूका लागि आयोजित ‘पाँच दिने बिशेष तालिममा पोखराका विभिन्न होटलका महाप्रबन्धक र सिनियर म्यानेजरहरू सहित स्याङ्जाका वेलनेस टुरिजमका प्रतिनिधिहरू समेत सहभागी छन

तालिमबाट उत्पादित ट्रेनरले आगामी जुलाई महिनामा पोखरा र यस क्षेत्रका होटलहरूमा कार्यरत करिब ५ सय जना कर्मचारीहरूलाई सेवाको गुणस्तर वृद्धि गर्ने गरि हस्पिटालिटी, फ्रन्ट डेस्क लगायतका विभिन्न विधामा विशेष तालिम प्रदान गर्ने बताइएको छ । स्वीट्जरल्याण्डको प्रतिष्ठित कलेज ‘एसएचएल’ सँगको कलेजले सहकार्य गरेर तालिम संचालन गरेको हो।

तालिमका प्रशिक्षक एबम स्विस होटल म्यानेजमेन्ट एजुकेशन सिस्टमका मुख्य प्रशिक्षक जोर्डनले सहभागीहरूलाई स्वागत गर्दै पोखरालाई नेपालकै दिगो पर्यटन केन्द्र बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। सन् १९०९ देखि आतिथ्य व्यवस्थापनमा विशिष्ट पहिचान बनाएको एसएचएलका मुख्य प्रशिक्षक रहेका जोर्डनले होटल व्यवसायमा दिगो रणनीति निर्माण, मार्केटिङ तथा सेल्स, जोखिम व्यवस्थापन र नेतृत्व क्षमता विकास जस्ता विषयमा प्रशिक्षण दिइने जानकारी गराए।

तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन र यहाँको मौलिक हस्पिटालिटी (आतिथ्यता) लाई जोगाइराख्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे । पोखराको पर्यटनलाई केवल परम्परागत रूपमा मात्र नभई समयसापेक्ष र व्यावसायिक ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिंदै उनले  सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान र भूगोल सुहाउँदो पर्यटनको विकासको आबश्यकता औंल्याए ।

‘तालिम दिनेले सिद्धान्तका कुरा गर्नुहोला, तर हाम्रो रियालिटी, हाम्रो भूगोल र हाम्रो सोसियो-इकोनोमिक परिस्थितिलाई बुझेर मात्र हामीले यस क्षेत्रको सुधार गर्न सक्छौं’ मेयर आचार्यको भनाई थियो  । पोखरा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा न्यानो आतिथ्यताका लागि चिनिने भन्दै उनले पोखरालाई नेचर (प्रकृति), कल्चर (संस्कृति) र एडभेन्चर (साहसिक पर्यटन) को संगमका रूपमा चिनाउँदै तीनै कुरालाई एकसाथ अगाडि बढाउन ब्यबसायीहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

पोखरामा हाल करिब ५० हजार बेड क्षमता पुगिसकेको अवस्थामा नयाँ वर्ष र केही विशेष सिजनमा मात्र नभई वर्षैभरि पर्यटक भित्र्याउने रणनीति आवश्यक रहेको भन्दै उनले महानगरले पर्यटन क्षेत्रको विकासका लागि हालसम्म ४०० भन्दा बढी टुरिस्ट गाइडहरूलाई सर्टिफिकेट तथा लाइसेन्स प्रदान गरिसकेको जानकारी दिए।

नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजका अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटन र हस्पिटालिटी क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न कलेजमा ‘ट्रेन द ट्रेनर’ कार्यक्रम गरिएको बताए ।  उनले स्वीस कन्ट्याक्ट र संसारकै प्रसिद्ध होटल म्यानेजमेन्ट कलेज ‘एसएचएल लुजानी’ सँगको सहकार्यमा कलेजले विशेष तालिम आयोजना गरेको जानकारी दिंदै गुणस्तरीय पर्यटन विकासका लागि तालिम र दक्ष जनशक्ति उत्पादन नै कलेजको मुख्य लक्ष भएको बताए ।

कार्यक्रमको प्रशिक्षकको रुपमा पोखरा आएका एसएचएलका प्राध्यापक जोर्डन लगायतको विज्ञ टोलीले कलेजको हस्पिटालिटी र वातावरणलाई ‘फोर स्टार’ सरहको भनी प्रशंसा गरेको अध्यक्ष पालिखेले जानकारी दिए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिसकिएको अवस्थामा केवल परम्परागत काम भन्दा नयाँ र रचनात्मक काम गर्नुपर्ने बताए उनले नेपालको पहिलो पर्यटन कलेज ‘नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको गतिविधिको सराहना गर्दै तालिमका लागि कलेजले उपलब्ध गराएको वातावरण र हस्पिटालिटी ‘फोर स्टार’ स्तरको रहेको बताए।

लामिछानेले स्वीस हस्पिटालिटी विश्वभर नै उच्च गुणस्तरका लागि प्रख्यात रहेकोले नेपालका धेरै पर्यटन व्यवसायी र जनशक्ति तालिमका लागि स्विट्जरल्याण्ड वा अस्ट्रिया जान लालायित हुने गरेको स्मरण गर्दै पोखरामा नै स्वीस कन्ट्याक्ट र स्वीस हस्पिटालिटीले तालिमको लागि सहकार्य गरेकोमा खुसि प्रकट गरे ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले पोखराको पर्यटन क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउनका लागि रणनीतिक नेतृत्व र दिगो व्यवस्थापनको आवश्यकता रहेको भन्दै कलेजको २७ वर्षको इतिहासमा यो तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। प्रिन्सिपल रेग्मीले होटलमुखी हस्पिटालिटी मात्र नभएर पर्यटकमुखी हस्पिटालिटीमा काम गर्नुपर्ने र यसका लागि व्यवसायीहरूको क्षमता विकास हुनुपर्नेमा जोड दिए ।

समाराेहमा पाेखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरि भुजेल, हाेटल एशाेसियसन पाेखराका अध्यक्ष लक्ष्मण सुवेदी, सागर चापागाइँ, नवराज अधिकारी, पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, विनाेद न्याैपाने, विष्णु कुमार मल्ल, यूनिकोम र होटल एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमकाे सञ्चालन कलेजका प्राध्यापक शुरेश अधिकारीले गरेका थिए ।

४ जेष्ठ २०८३, सोमबार १९:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा