काठमाडौँ, बर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङको संकास्पद साझेदारी र कारोबारको बिषयमा चौतर्फी आलोचना भएपछि गुरुङले पार्टी र सरकारका प्रमुखसंग मात्र नभएर आंफ्नो सामजिक संजालबाट स्पष्टिकरण दिन ब्यस्त रहेको बताइन्छ। यसक्रममा मंगलवार गृहमन्त्री गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई ६० पृष्ठ लामो स्पष्टीकरण सहितको पत्र बुझाएर आँफुलाई पदबाट नहटाउन आग्रह गरेको बुझिएको छ। प्रधानमन्त्री बालेन्द्रले पनि गुरुङले बुझाएको स्पष्टिकरण पत्रको बारेमा गहिरो अध्ययन सुरु गरेको बताइएको छ।
भदौ २३ र २४ को जेनजी पुस्ताको नाममा गरिएको आन्दोलनबाट एकाएक चर्चामा आएका गुरुङ सबैको अनुमान बिपरित बालेन्द्र सरकारको गृहमन्त्री बनेका थिए। गृहमन्त्री बनेपछि कानुनी प्रक्रिया अनुसार बिभिन्न दलका नेता र अन्यलाई कारबाहीको प्रक्रिया चलाउनु भन्दा व्यक्तिगत रुपमा आग्रह र पूर्वाग्रह साधेर अनि प्रहरी प्रशासनलाइ दवाब दिएर अनाबश्यक रुपमा जबर्जस्ती पक्राउ गर्ने प्रक्रिया अगाडी बढाइएको आरोप समेत उनीमाथि लाग्दै आएको थियो। यसैक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालका कम्पनीमा गृहमन्त्री गुरुङको साझेदारीका साथै कनेक्सन देखिए पछि गृहमन्त्री गुरुङ सर्वत्र बिबादको घेरामा तानिएका छन्
यस्ता बिबिध कारणले गृहमन्त्री गुरुङको शंकाष्पद साझेदारी र कारोबारका विषयमा चौतर्फी आलोचना भइरहेको छ । गुरुङलाई बर्खास्त गरी अनुसन्धान गर्नुपर्ने माग सबैतिर बाट उठेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेनलाई आबश्यक बिभिन्न कागजातसहित ६० पृष्ठ लामो स्पष्टीकरण बुझाइसकेका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा गृहमन्त्री सुधन गुरुङका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री बालेनले आफूले स्वविवेकले निर्णय गर्ने जवाफ दिएका थिए ।
मंगलवारको मन्त्रिपरिषदको बैठक सकिएपछि प्रधानमन्त्री बालेनले गृहमन्त्री गुरुङले बुझाएको ६० पृष्ठ लामो स्पष्टीकरणको गहिरो अध्ययन थालेका बताइन्छ । अरु दिन साँझ ६ बजेतिर सिंहदरबारबाट निस्कने प्रधानमन्त्री बालेन मंगलबार भने गृहमन्त्री गुरुङको स्पष्टीकरणको अध्ययन गर्न भन्दै आंफ्नो कोर टिम समेत राखेर साँझ साढे ७ बजेसम्म बसेको स्रोतले जानकारी दिएको छ।
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगको व्यावसायिक साझेदारी र सेयर विवादमा तानिएपछि चौतर्फी आलोचना र राजीनामाको दबाब खेपिरहेका गृहमन्त्री गुरुङले आफ्नो बचाउ गर्दै प्रधानमन्त्री बालेनलाई स्पष्टीकरण बुझाउनुको साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पनि पटक पटक भेटघाटमा छन।गुरुङसंगको भेटघाटमा लामिछानेले समेत् स्पष्ट जवाफ नदिएको बरु पार्टीको बैठकमा छलफल गर्ने जनाएको बुझिएको छ भने बालेन्द्रले पनि गुरुङ आँफैले राजिनामा दिए राम्रो हुने तर्क अगाडी सारेको बुझिएको छ । तैपनि गुरुङले बुझाएको स्पष्टिकरण अध्ययन गरिसकेपछि प्रधानमन्त्री बालेंन्द्रले कुनै निर्णय लिनसक्ने अपेक्षा गरिएको छ ।

गृहमन्त्री गुरुङले बुझाएको स्पष्टीकरणमा आफ्नो सम्पत्ति विवरण, सेयर लगानीको स्रोत र विवादास्पद व्यवसायीहरूसँगको सम्बन्धबारे उल्लखे गरेका बुझिएको छ । यसअघि उनले आंफ्नो सामाजिक संजाल फेसबुकबाट स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफमा रहेको आफूले २५/२५ हजार कित्ता सेयर किनेको र सो लगानी ‘अपराध’को नभई ‘व्यावसायिक लगानी’ भएको भन्दै स्पष्टिकरण दिएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक तमसुकअनुसार सुधनले विजय कुमार श्रेष्ठ नामक व्यक्तिसँग ३७ लाख ५० हजार रुपैयाँ ऋण लिएर प्रतिकित्ता १५० रुपैयाँका दरले सेयर किनेको उल्लेख गरिएको छ । साथै गुरूङले आफ्नो २ करोड ७४ लाखको कुल सेयर विवरणभित्रै यी कम्पनीहरू पर्ने दाबी गर्दै विवरण लुकाएको भन्ने आरोपको खण्डन गरिसकेका छन् । तर उनले लगानी गरेका दुवै कम्पनिहरु धितोपत्र बोर्डमा अझै सम्म पनि सुचिकरण नभएको बताइएको छ।
यसैबीच गुरुङको बैंक खातामा चाङ अग्रवाल नामका व्यक्तिको खाताबाट २२ लाख ५० हजार रुपैयाँ प्राप्त भएको विवरण समेत बिभिन्न संचार माध्यमले सार्बजनिक गरेको छन । कान्तिपुरले ‘हामी नेपाल’ को खाताबाट सुधनको खातामा पैसा पठाएको प्रमाण आफूसँग रहेको भन्दै समाचार प्रकाशन गरेको र समाचारमा दाबी गरिए अनुसार ‘ती तथ्यले हामी नेपालले पाउने सहायता रकम सुधनको व्यक्तिगत खातामै आउने गरेको र संस्थाको रकम पनि सुधनकै खातामा जाने गरेको’ पुष्टि गर्छ ।नेपाल उद्योग परिसंघको युवा परिषदका पूर्वअध्यक्ष चाङ कर्पोरेट जगतमा चाङ अग्रवाल दीपक-सुलभसँग निकटस्थ व्यवसायीका रूपमा परिचित रहेकोले पनि गुरुङको गतिबिधि संकास्पद रहेको अनुमान गर्नेहरुको संख्या बढ्दै गएको छ ।

यसैबीच, सुधनले सम्पत्ति विवरणमा उल्लेख गरेको निजी कम्पनी होप होल्डिङबारे सोधखोज सुरू भएको छ । कम्पनीको रजिस्ट्रार कार्यालयले प्रधानमन्त्री कार्यालयलमा बुझाएको होप होल्डिङको सेयर लगतमा गुरूङ एकल सेयरधनी रहेको र गत जेठमा मात्र १ करोड रूपैयाँ जम्मा गरेको पाइएको छ । स्रोतका अनुसार सो रकमको स्रोत खुलेको छैन भने होप होल्डिङको अडिट रिपोर्ट पनि फेला परेको छैन ।
गृहमन्त्री गुरुङ संस्थापक रहेको भनिएको ‘हामि नेपाल’ नामको गैरसरकारी संस्थाको प्रमुख दाता दिपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्स र सुलभ अग्रवालको कम्पनि शंकर ग्रुप रहेको बुझिएको छ । सुधनले कोरोना महामारीमा आंफ्नो संस्थालाई ठूलो आर्थिक सहयोग गरेको भन्दै इन्फिनिटी र शंकर ग्रुपलाई सम्मान समेत गरेका थिए ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानमा रहेका व्यवसायीद्वय भट्ट र अग्रवालको प्रभावमा लाइसेन्स पाएका दुई कम्पनीमा गृहमन्त्रीकै साझेदारी देखिएपछि प्रधानमन्त्री बालेनले ‘प्रश्न उठिसकेकाले हटाउँदा राम्रो म्यासेज नजाने’ भन्दै गुरुङलाई राजीनामा दिन भनेका थिए ।
तर, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले तत्काल राजीनाम नदिन भनेको बुझिएको छ । प्रधानमन्त्रीको सचिबालय र सल्लाहकारको टिमसनाग पनि गुरुंगले आँफुलाई गृहमन्त्रीबाट नहटाउने बाताबरण बनाईदिन आग्रह गरेको श्रोतले बताएको छ। गुरुंगको आग्रहलाई रास्वपा सभापति रबि लामिछानेले पनि ‘सम्पत्तिको स्रोत खोल्नुपर्ने र पार्टीले नै यसबारे आवश्यक निर्णय गर्ने’ भन्ने जवाफ दिएर फर्काएको बताइन्छ । लामिछानेलाई भेट्न गुरुङ पटक पटक लामिछानेको निवासमा पुगेको बुझिएको छ ।
यता, गृहमन्त्री गुरुङले भने सामाजिक सञ्जालमार्फत् आफू ‘सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म बुझेको’ व्यक्ति भएको र हल्लाको पछाडि नलाग्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । तर, संसदमा प्रतिनिधित्व गर्ने नेपाली, नेकपा एमाले, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जेनजी युवाको समूहहरूले गुरूङको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान हुनुपर्ने माग राखिरहेका छन। गृहमन्त्री गुरुङको बिबादास्पद भूमिका र कारोबारका कारण सरकारको र रास्वपाको समेत आलोचना बढ्दै गएको कारण यस सम्बन्धमा छिट्टै कुनै न कुनै निर्णय आउनसक्ने रास्वपा श्रोतले जनाएको छ ।














