पोखरा, कास्की जिल्ला टेनिस संघले पोखरामा आयोजना गरेको मनुश्री-भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता मंगलवार सम्पन्न भएको छ । प्रतियोगिताको यू १८ ब्वाइज सिंगल्स तर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जिते । यस्तै गल्र्स सिंगल्स तर्फ सारा पन्तले यू १२ र यू १४ दुवै विधामा स्वर्ण पदक हात पारिन् । यहि बैशाख ५ गतेबाट सञ्चालन भएको प्रतियोगिता ८ वर्ष देखि १८ वर्ष मुनीका ९० जना जुनियर खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको फाइनल खेलमा दर्शिलले शास्वत बज्रचार्यलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । यू १४ गल्र्सतर्फ साराले श्वरा थापालाई ६–४ र ६–१ को सेटमा हराउँदै स्वर्ण जितिन् । यसअघि यू १२ को फाइनलमा पनि साराले नाइरा घलेलाई ६–२ र ६–१ ले पाखा लगाएकी थिइन् ।
यू १६ ब्वाइजतर्फ सन्दिप विकले स्वर्ण पदक जिते । उनले फाइनलमा स्पन्दन उदासलाई ६–२, ३–६ र ६–१ को सेटमा हराए । यू १६ गर्ल्सतर्फ श्वरा थापाले स्वर्ण जित्दा ऐरा खत्री रजत पदकमै सीमित भइन् । श्वराले ऐरालाई ४–६, ६–२ र ६–१ को सेटमा पराजित गरेकी हुन् ।

यू १४ ब्वाइजतर्फ अरित मल्लले बेदान्त चालिसेलाई ६–४ र ६–१ ले पराजित गर्दै स्वर्ण पदक जिते । तर यू १२ तर्फ भने बेदान्तले अरितलाई हराउँदै बदला लिए । बेदान्तले अरितलाई ३–६, ७–६ र ६–२ ले पराजित गर्दै स्वर्ण पदक हात पारे । यस्तै यू १० ब्वाइजमा कायान चालिसेले सोनाम घलेलाई ६–२ र ६–४ को सेटमा हराएर स्वर्ण जिते ।
प्रतियोगिताका विजेता खेलाडीलाई मुख्य प्रायोजक मोहनबहादुर शाही र उनका नाति भिग्नजित शाहीले पुरस्कार दिए । पदक तथा प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल टेनिसका उपाध्यक्ष विनोद कायस्थ र केन्द्रीय सदस्य विष्णु बहादुर थापा पनि सहभागी थिए ।
त्यस्तै संयोजक लोक बहादुर गुरुङ, कास्की टेनिसका द्वितीय उपाध्यक्ष नवीन श्रेष्ठ, टेनिस खेलाडी प्रदीप खड्का र टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पनि पदक, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

समापन कार्यक्रम कास्की टेनिसका कार्यवाहक अध्यक्ष नवीन चालिसेको अध्यक्षतामा भएको थियो । उनले ५ वर्षदेखि निरन्तर प्रतियोगिता प्रायोजन गरेकोमा मोहनबहादुर शाहीप्रति आभार प्रकट गरे । शाहीले आफ्ना नाति भिग्नजित र नातिनी मनुश्रीको सम्मानमा देशकै ठुलो जुनियर प्रतियोगिताको लागि सहयोग गर्दै आएका छन् ।














