पोखरा, नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा पोखरामा रहेर पत्रकारितामा सक्रिय तिनजना पत्रकारहरु सहित पोखराको सहारा क्लबलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको एक समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुने पोखराका पत्रकारहरुमा राजबहादुर गुरुङ, एकराज गिरि र फणिन्द्र अधिकारी ‘अकिन्चन’ रहेका छन । नेपाल पत्रकार महासंघ कास्कीका पुर्व उपाध्यक्ष समेत रहेका गुरुङलाई ५० हजार ५५५ रुपैया राशि र सम्मानपत्र सहितको पोखरा पत्रकारिता सम्मान प्रदान गरिएको हो। उक्त पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीले स्थापना गरेको हो।
नेपाल पत्रकार महासंघ कास्की शाखाले संचालन गर्दै आएको स्वर्गीय जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ एकराज गिरीलाई सम्मान गरिएको हो। अधिकारी र गिरि दुबैले पोखरामा रहेर दुई दशक बढी समय पत्रकारितामा बिताएका छन। पोखराका पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा उनका परिवारले स्थापना गरेको उक्त पुरस्कारको राशि जनही २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्रसहित रहेको छ।
नेपाल पत्रकार महासंघ कास्कीले महासंघलाई सहयोग गर्ने संस्थालाई प्रत्येक दुई बर्षमा पोखरा पत्रकारिता सम्मान गर्दै आएकोमा यस पटक अर्थात २०८२ को सम्मान पोखराको सहारा क्लबलाई प्रदान गरिएको हो। क्लबका अध्यक्ष केशव थापालाई उक्त सम्मान हस्तान्तरण गरिएको थियो। सहारा क्लबको सहकार्यमा महासंघको भवन सहारा कक्ष समेत निर्माण गरिएको छ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महासंघका अध्यक्ष माधव बराल लगायतले पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए कार्यक्रममा महासंघका उपाध्यक्ष माधव रेग्मी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारी र मुख्यमन्त्री पाण्डे लगायतले पत्रकारिता र पुरस्कारको बारेमा आआफ्नो भनाई राखेका थिए ।















