पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा गण्डकी प्रदेशका पालिकास्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी करिब पुरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत ११ देखी १४ गतेसम्म हुने माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप प्रतियोगिताको तयारी पुरा भएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले खेलकुदको विकाससँगै गाउँपालिकाभित्रको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।उनले पुरुषतर्फ १६ र महिलातर्फ ८ गरी २४ समूहले प्रतियोगितामा सहभागिता जनाउन सम्पर्कमा आइसकेको मंगलबारसम्म थप टिम पनि आउन सक्ने जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई दुई लाख, द्धितिय हुनेलाई एक लाख रुपैया सहित ट्रफि र मेडल दिईनेछ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद २५/२५ हजार रुपैया र मेडल दिईने भएको छ ।
महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार एबम ट्रफि मेडल रहेको छ । सेमीफाइनलमा पुग्ने दुई टिमलाई नगद रु १५/१५ हजार रुपैया पुरस्कार रहेको छ । यसैगरी पुरुष छेलोतर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीय पुरस्कार नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार दिईने भएको छ ।
पत्रकार सम्मेलनमा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारीले यसवर्ष महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै पुरुष छेलो पनि समावेश गरिएकोले प्रतियोगितामा अझै बडी रोचक बन्ने बताइन । कार्यक्रममा “महिला तर्फको पुरस्कार राशि कम भएको हो कि ?” भनेर पत्रकारले सोधिएको प्रश्नमा अधिकारीले विगतका वर्षमा महिला भलिबल प्रतियोगितामा प्रतियोगी समूहको सहभागिता पर्याप्त नभएको हुँदा यसवर्ष पुरानो पुरस्कार राशिलाई केही घटाइएको बताइन ।
माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिकाभित्र आयोजना गरिने विभिन्न कार्यक्रमहरू मध्यकै ठुलो राशिको पुरस्कार राखिएको प्रतियोगिता रहेको बताए
माछापुच्छ्रे–४, लाहाचोकका वडाअध्यक्ष मधुसूदन अधिकारीले उक्त प्रतियोगिताले लाहाचोकसँगै गाउँपालिका क्षेत्रको पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक सहितको पुरस्कार प्रदान गरिने माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सामाजिक विकास समिति संयोजक एवं वडा न ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री ‘राजेन्द्र’ ले गरेका थिए ।
९ चैत्र २०८२, सोमबार १९:५८ मा प्रकाशित















