काठमाडौं, जेनजी आन्दोलन तथा त्यसयता सरकार निर्माणमा सुशासनका नारा लगाएकी प्रधानमन्त्री सुशीला कार्की निर्वाचन सम्पन्न भएपछि हेलिकोप्टरमा ताप्लेजुङ पाथीभरा (मुकुमलुङ) देखि जोमसोम र खलंगादेखि राराताल भ्रमणका कारण विवादमा परेकी छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले नियुक्त हुँदाको मूल कार्यभार निर्वाचन सम्पन्न गराएको नाममा ‘सुशासनविरोधी गतिविधिमा मौन बस्न नहुने’ भन्दै उनका गतिविधि सुशासनविरोधी भएको भन्दै आलोचना हुन थालेको हो ।
प्रधानमन्त्री कार्कीका गतिविधिको पूर्वसचिव भीम उपाध्यायलगायतले विरोध जनाउँदै आएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ भदौमा जेनजीले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै गर्दा काँधमा राष्ट्रिय झण्डा राखेर सुशासनका नारा लगाएकी थिइन् । २३ र २४ भदौको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्दासम्म पनि कार्की सुशासनको पयार्यजस्तै बनेकी थिइन् ।
पहिलो महिला प्रधानमन्त्रीको नयाँ इतिहास निर्माण गरेकी तथा पहिलो महिला प्रधान न्यायधीशको पृष्ठभूमिले हक्की स्वभावको परिचय बनाएकी कार्कीसँग सुशासनसँगै नयाँ परिवर्तन, जेनजी आन्दोलनका दमनकारीलाई कारबाही र निर्वाचन गराउने अपेक्षा थियो । निर्वाचन सम्पन्न गराउनेबाहेक शृंखलाबद्ध रूपमा पुरानैका शैलीमा सरकार चलाएपछि बिदा हुने बेला कार्की सरकारले बदनामीको दाग व्यहोर्नुपरेको छ ।
निर्वाचन सम्पन्न गराएकै ‘जस’ दिने नाममा प्रधानमन्त्री कार्कीको यस्तो भ्रमणलाई सुशासनको ठाडो अवज्ञा भएको सुशासन अभियन्ता औंल्याउँछन् । उनीहरू भन्छन्, ‘अरु प्रधानमन्त्रीले सरकारी रकममा कुनै कार्यक्रमको उद्घाटन गर्न जाँदा वा अनुगमन गर्दासमेत प्रश्न उठाउने समाज जेनजी आन्दोलनको बलमा भएकी प्रधानमन्त्रीको विषयमा बोल्नसमेत तयार छैन, उनले गरेका सबै गतिविधि अरुले गर्दा हुने सुशीला कार्कीले नहुने भनेर छु्ट दिइरहेको छ, यो गलत हो ।’
निर्वाचनअगाडि फागुन पहिलो साता कार्की ताप्लेजुङ मुकुमलुङ (पाथीभरा) पुगेकी थिइन् । हेलिकप्टरमा पाथीभरा पुगेकी कार्कीले ‘शान्तिपूर्ण रूपमा निर्वाचन सफल होस्’ भन्दै पूजाअर्चना गरेको बताएकी थिइन् । पाथीभराबाट फर्किएलगत्तै केही दिनमै कार्की हेलिकोप्टरमै जोमसोम पुगिन् । मुस्ताङको मुक्तिनाथ दर्शन र जोमसोम भ्रमण गरेकी कार्कीले यहाँ पनि दोहो¥याएकी थिइन्– शान्तिपूर्ण र सफल निर्वाचनका लागि निर्वाचन तयारी बुझ्ने भ्रमण ।
पाथीभरा र मुक्तिनाथमात्र नभइ कार्कीले निर्वाचन तयारी र त्यसपछिका ‘धन्यवाद ज्ञापन’का नाममा मन लागेका ठाउँ हेलिकोप्टरमा देशदर्शन गरेकी छन् । ‘सुशासनका लागि’ भन्दै सचिवालय कर्मचारीदेखि विभिन्न कर्मचारी कटौतीदेखि संसद्ले पास गरेका विकास योजनामा कटौती गरेकी प्रधानमन्त्री कार्कीको हेलिकोप्टर भ्रमण मोहले भने व्यंग्य गरेको देखिएको छ । निर्वाचनअघि तयारी र अवस्था अध्ययनका नाममा मन्दिर र पर्यटकीयस्थल घुमेकी प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गराएलगत्तै ‘धन्यवाद ज्ञापन’का नाममा तीर्थाटन तथा देशाटन सुरु गरेकी हुन् ।
राष्ट्रपतिबाट ६ महिने अवधि र निर्वाचन गराउने ‘म्यान्डेट’ पाएकी प्रधानमन्त्री कार्की निर्वाचन सकिएपछि ‘म्यान्डेट’विपरितका दीर्घकालीन नियुक्ति गर्नेदेखि सरकारी हेलिकोप्टर लिएर देशदर्शनमा निस्किएकी छन् । निर्वाचन सकिएको र नयाँ सरकार नआएको समय कार्की निर्वाचनमा सहयोग गर्नेलाई ‘धन्यवाद’ दिने नाममा हेलिकोप्टरमा देश देशाटन गरिरहेकी छन् । कार्की बिहीबारबाट हेलिकोप्टर लिएर कर्णाली भ्रमणमा निस्किएकी हुन् । उनको यो भ्रमण पूर्णरूपमा अनौपचारिक रहेको बुझिएको छ । उनी जुम्लास्थित नम्बर २४ बाहिनी अड्डामा बसेर यस क्षेत्रको भ्रमण गरिरहेकी छन् ।
भ्रमण व्यक्तिगत र अनौपचारिक भएकाले सुरक्षा निकायबाहेक अन्य सरोकारवाला पक्षसँग भेटघाटको कुनै पनि औपचारिक कार्यक्रम तय नभएको २४ बाहिनी अड्डाले प्रस्ट पारेको छ । प्रधानमन्त्री कार्की एकाएक जुम्ला पुग्ने जानकारी पाएपछि काठमाडौं आइपुगेका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल तत्कालै जिल्ला फर्किएका थिए । प्रधानमन्त्रीलाई मन लाग्नेबित्तिकै भ्रमण तय भएको प्रमुख जिल्ला अधिकारीलाई नै थाहा नभएको विषयले पनि प्रस्ट्याउँछ । प्रधानमन्त्री कार्कीले जुम्लाका केही पर्यटकीय तथा ऐतिहासिक स्थल अवलोकन गरेकी छन् ।
कार्कीले कर्णालीकै प्रसिद्ध प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिर दर्शन गरेकी छन भने त्यसअघि बिहीबार मुगुको राराताल भ्रमण गरेकी थिइन् । कार्कीले शुक्रबार जनकपुर पुगेर जानकी मन्दिरमा दर्शन तथा पूजाआजा गरेकी छन् भने जुम्ला खलंगा पुगेर शुक्रबारै सुर्खेत पुगेकी छन् । औपचारिक कार्यक्रमको तालिका बेगर नै घुम्न मन लागेका ठाउँ धमाधम घुमिरहेकी कार्कीको यो शैलीलाई सबैले चुपचाप रमाइलो मानेर हेरिरहेका छन् । कारण एउटै मात्र देखिन्छ– उनले सफलतापूर्वक निर्वाचन सम्पन्न गरिन् ।
सुशासनको हद पीए श्रेष्ठलाई मन्त्रीसरहको पद !
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको परिणाम घोषणा भएपछि सरकार हस्तान्तरण सँघारमा आफ्ना पीए आदर्श श्रेष्ठलाई मन्त्रीसरहको नियु क्ति दिलाएपछि विवादमा परेकी छन् । प्रधानमन्त्री कार्कीले आफू नियुक्त हुँदाको म्यान्डेट सकिएपछि पनि स्वकीय सचिव श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेकी थिइन् ।

सर्वोच्च अदालतमा करारको नायस सुब्बा रहेर तत्कालीन प्रधानन्यायधीश कार्कीको पिए बस्ने सौभाग्य पाएका श्रेष्ठ कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि प्रमुख स्वकीय सचिव भएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भएर महत्वपूर्ण राजनीतिक नियुक्तिहरूमा ‘आफ्नो हात जगन्नाथ’ बनाएका श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले जाँदाजाँदै प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेपछि चौतर्फी दबाब र विरोध सुरु भएको हो ।
जननिर्वाचित सरकार गठन तयारी भइरहँदा चुनावी सरकारकी प्रमुख कार्कीले आफ्नै पिए श्रेष्ठलाई पाँच वर्षका लागि मन्त्रीसरहको जिम्मेवारी हुनेगरी कोषको अध्यक्ष बनाएकी हुन् । प्रधानमन्त्री कोषको संरक्षक रहने व्यवस्था भएको राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को व्यवस्थाअनुसार सरकारका वनमन्त्री स्वतः कोषको अध्यक्ष रहने परम्परा भए पनि गत आइतबार कोषकी संरक्षक कार्कीले पिए श्रेष्ठलाई कोषको अध्यक्ष बनाएकी थिइन् । विवादित पिए श्रेष्ठले आफू प्रमुख स्वकीय सचिव भएलगत्तै श्रमिती साली र आफन्तलाई सचिवालयमा नियुक्त गरेपछि कार्की विवादमा तानिएकी थिइन् ।
- अमृतनाथ तिमिल्सिना / राजधानी















