पोखरा, पोखराको जनप्रिय माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट चयन हुने तीनजना प्रतिनिधिमा सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठीलाई सदस्यमा चयन गरेको छ ।
भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा केदार धमलालाई चुनेको छ । संघको सदस्यमा रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ, सपना पराजुली र कवितादेवी ढकाल रेग्मीलाई सर्वसम्मत चयन भएको छनौट समितिका संयोजक शिक्षा अधिकृत रामप्रसाद तिवारीले जानकारी दिए ।
शिक्षा नियमावली २०७४ को नियम २९ बमोजिम आयोजित भेलामा विद्यालय प्रअ देवीप्रसाद बस्ताकोटीले विद्यलयको विभिन्न गतिविधिका बारेमा जानकारी गराएका थिए ।

प्रअ वस्ताकोटीले कास्कीको मात्र नभई राष्ट्रलाई योगदान दिन सक्ने शैक्षिक एवं योग्य जनशक्ति उत्पादन गर्न विद्यालयले रचनात्मक शैक्षिक कार्यक्रम ल्याएको बताउंदै करिब १ हजार ७ सय विद्यार्थी अध्ययन गर्ने जनप्रिय माविलाई नमुना विद्यालयको रुपमा विकास गर्ने प्रयास भैरहेको जानकारी दिए ।
विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले सञ्चालन गरेको भेलामा पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको प्रगति र उन्नतिको लागि निरन्तर सहयोग गर्न वडा कार्यालय तयार रहेको बताए । उनले नमुना विद्यालय निर्माण गर्न विद्यार्थीलाई अनुशासित, मर्यादित र सीप युक्त शैक्षिक जनशक्ति उत्पादनमा जोड दिए ।















