पोखरा, यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गरी समाचार सामग्रीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एल्गोरिदमको प्रभावबारे पोखरामा सम्पादकहरुसँग अन्तरक्रिया गरिएको छ । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले पोखरामा बुधबार आयोजना गरेको कार्यक्रममा निर्वाचनका बेला सञ्चार माध्यमले अपनाउनुपर्ने सतर्कता र प्रविधिको भूमिकाबारे सरोकारवालाहरुको बीचमा छलफल गरिएको थियो ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन प्रविधिको सही प्रयोग हुनुपर्नेमा प्रमुख निर्वाचन अधिकृत हिमलाल बेलबासेले जोड दिए । ‘निर्वाचनको समयमा आउने विभिन्न खाले सूचनाको सत्यतथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्छ,’ बेलबासेले भने । उनले सञ्चार माध्यमले एआई र एल्गोरिदम जस्ता प्रविधिको सही सदुपयोग गरेमा निर्वाचन प्रक्रिया अझ बढी पारदर्शी हुने धारणा राखे ।
गण्डकी प्रदेश सरकारका सचिव कृष्णप्रसाद लम्सालले निर्वाचनमा प्रविधिको भूमिका अपरिहार्य रहेको बताए । उनले भने, ‘प्रविधिले सूचनालाई द्रुत गतिमा पुर्याए पनि यसको दुरुपयोगले समाजमा पार्ने नकारात्मक असरबारे सबै सचेत हुनुपर्छ ।’ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारहरुले नयाँ प्रविधिसँग अभ्यस्त हुनुपर्ने र निर्वाचनका समाचार संकलन गर्दा एल्गोरिदमका पाटाहरुलाई ध्यान दिनुपर्ने उल्लेख गरे ।
प्रेस रजिस्ट्रार बिमला भण्डारीले भण्डारीले निर्वाचनका समयमा समाचारको विश्वसनीयता कायम राख्न यस्ता अन्तरक्रियाले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । प्रेस रजिस्ट्रारको कार्यालयका उपसचिव निराजन शर्माले कार्यालयले पत्रकारको वृत्ति विकासका लागि मिहीनढंगले काम गर्दै आएको बताए ।
कार्यक्रममा पोखरास्थित विभिन्न सञ्चारमाध्यमका प्रधान सम्पादक, वरिष्ठ सम्पादक, ब्युरो प्रमुख तथा प्रेस स्वतन्त्रता सेनानी गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो। सहभागी सम्पादक एबम ब्युरो प्रमुखहरु बासुदेव मिश्र, दिनानाथ बराल, सरिता पंगेनी, रञ्जन अधिकारी, दीपक परियार लगायतले एआईको प्रयोग र यसको नियमनका विषयमा आ-आफ्ना जिज्ञासा र अनुभव राखेको बुझिएको छ ।

















