काठमाडौं, काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाको तर्फबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका डा. प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा रास्वपाको केन्द्रीय गुनासो विभाग प्रमुख पनि थिए । अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले काठमाडौँ ५ मा ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए । रास्वपामा टिकट वितरणको पद्दतीमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्दती मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए ।

उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले निरन्तर विरोध जनाउँदै आएका थिए । रास्वपाको स्थानीय संगठनमा बलियो पकड बनाएका राणाको रास्वपा परित्याग र कांग्रेस प्रवेशले काठमाडौं ५ को निर्वाचनमा कांग्रेसलाई लाभ हुने विश्वास गरिएको छ ।
यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य केसी विगतमा वडाध्यक्ष रहिसकेका छन् । वडामा प्रभावशाली केसीको कांग्रेस प्रवेशले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई जित्नक लागि सजिलो हुने ठानिएको छ । दुवैलाई राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराए ।
रसुवामा एमालेका पुर्व जिल्ला अध्यक्ष र संबिधानसभा सदस्य जनार्दन सहितको टोली कांग्रेसमा
यसैगरी, रसुवा जिल्लाका नेकपा (एमाले)का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित दर्जनौं नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता–कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको समूह रहेको छ।

रसुवाबाट कांग्रेसमा प्रवेश गर्ने यस समूहमा नेकपा एमालेका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र कमिटी सदस्यहरू, युवा संघ र अनेरास्ववियुका जिल्ला तथा पालिकास्तरीय पदाधिकारीहरू, साथै खेलकुद महासंघका जिल्ला र केन्द्रीय पूर्व सदस्यहरू पनि रहेका छन्। उनीहरू मध्ये धेरैले लामो समय एमालेमा सक्रिय भएर नेतृत्व र प्रशासनको अनुभव हासिल गरेका थिए।कांग्रेसका नेताहरूले रसुवाबाट भएको यो सामूहिक प्रवेशलाई संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।
पुर्वमन्त्री एबम नेकपा एमाले नेता रामबिर मानन्धर काँग्रेसमा

यसैगरी, पूर्वमन्त्री एबम नेकपा एमालेका नेता रामबिर मानन्धर पनि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। उनले २०७४ सालमा निर्वाचित सांसदको रूपमा राजनीतिक अनुभव हासिल गरेका छन् भने। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेश गरेका हुन्।
दोलखामा एमाले र नेकपाका जिल्लास्तरीय नेताहरु कांग्रेसमा
दोलखाको विगु गाउँपालिका–४, लादुकमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी दर्जनौँ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार निर्वाचन अभियानका क्रममा लादुकको गुम्बडाँडामा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरू कांग्रेसमा समाहित भएका हुन् । पार्टी प्रवेश गर्नेहरूमा नेकपाका प्रविन तामाङ, दिनेश नेपाली र दिपेन्द्र नेपाली रहेका छन्। त्यसैगरी, नेकपा एमाले परित्याग गरी राम तामाङ, सुशान्त गिरी, कृष नेपाली, विक्रम ओली र टेकबहादुर तामाङ लगायतका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा र माला लगाएर पार्टीमा स्वागत गरे। यसअघि बुधबार मात्रै विगु गाउँपालिकाका एमाले उपाध्यक्ष शेषनारायण श्रेष्ठसहितको ठूलो टोली नेपाली कांग्रेसमा प्रवेश गरेको थियो । अजयबाबु शिवाकोटी जस्तो स्वच्छ छवि र भ्रष्टाचार विरोधी युवा उम्मेदवार चुनावी मैदानमा आएपछि विगुमा एमाले र माओवादी परित्याग गरी कांग्रेस रोज्नेहरूको लहर चलेको छ।
रास्वपा मधेश प्रदेशका संस्थापक सभापति ममता शर्मा पनि कांग्रेसमा
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । जनकपुरधामको तिरुहुतिया गाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरे । पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । उनले प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्, ‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकोले मैले उक्त पार्टी परित्याग गरी जेन-जीको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ।’

उनले कांग्रेस ८० वर्षको विरासत बोकेको मात्रै नभइ मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेशी जनताले साथ दिनुपर्ने बताइन् । उनले हरेक पटकको चुनावमा मधेशले नेताहरूलाई भोट दिएको तर नेताहरूले मधेसलाई चोटैचोट दिएको हुनाले यसपटक बदलिएको कांग्रेसलाई भोट दिन पनि अपील गरिन् । मैथिली भाषामा बोल्दै उनले भनिन्,’सब दाइब मधेससक जनतासब भोट नेतासबके देने है। मगर सब दिनसे नेतासब मधेसक जनताके लुइट रहल है। यहाँ सब यी दाइब मधेसमे निक उम्मेदवार छानू,कांग्रेसके उम्मेदवारके पहचानू ।”
ममता शर्माले अहिलेको गगन नेतृत्वको कांग्रस नयाँ रास्वपा भएको तर वैकल्पिक भनिएका रास्वपा भने पुरानो कांग्रेसको शैलीमा गएको टिप्पणी गरिन् । उनले भनिन्, ‘अहिले कांग्रेस गगन दाइको नेतृत्वमा बदलिएर नयाँ रास्वपा जस्तो बनेको छ। तर आफूलाई वैकल्पिक भनिएका रास्वपाका नेताहरू दागैदाग भएका,आर्थिक चलखेलमा मुछिएका,मुद्दैमुद्दामा लागेका छन्। सब पुराना कांग्रेस जस्ता छन् ।’














