काठमाडौँ, नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सव कम्पनीको केन्द्रीय कार्यालय र विभिन्न प्रादेशिक निर्देशनालय तथा कार्यालयहरूमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न विशेष अफरहरू पनि सार्वजनिक गरेको छ।
जिएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइन केवाइसी अपडेटको सुविधा देशभरका कार्यालयबाट सुरु गरिएको छ। यस्तै, माघ २२ देखि २८ गतेसम्मका लागि २२२ रुपैयाँमा २२ जिबी डाटा (२२ दिनका लागि), २२ रुपैयाँमा २ जिबी डाटा (१ दिनका लागि) र २२२ रुपैयाँमा २२२ मिनेट भ्वाइस, ४ जिबी डाटा र २२२ एसएमएस सहितको सेलिब्रेसन कम्बो प्याक उपलब्ध गराइएको छ।
प्रिपेड सिमकार्ड साविकको ९० रुपैयाँको सट्टा माघ २२ देखि फागुन १४ गतेसम्म २२ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। एफटीटीएच सेवाअन्तर्गत नयाँ जडान गर्ने ग्राहकका लागि ५०० रुपैयाँ जडान शुल्क फागुन २२ गतेसम्म मिनाहा गरिएको छ। विद्यार्थी अफरको समयावधि पनि फागुन २२ गतेसम्म थप गरिएको छ।
वार्षिक वा बहुवर्षीय एफटीटीएच डाटा सेवा प्रयोग गरिरहेका ग्राहकलाई २२ जिबी मोबाइल डाटा बोनस दिइने र यो सुविधा माघ २८ सम्म नवीकरण वा नयाँ जडान गर्नेलाई पनि उपलब्ध हुने टेलिकमले बताएको छ। यस्तै, पुरानो बक्यौता बुझाउँदा लाग्ने जरिवाना छुटको म्याद २०८२ चैत मसान्तसम्म थप गरिएको छ।
बार्षिकोत्सबको अबसरमा केन्द्रीय कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल टेलिकमले डिजिटल डिभाइड न्यूनीकरण र ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारमा गरेको योगदान प्रशंसनीय रहेको बताए। उनले सुशासनमार्फत नागरिक र सरकारको सम्बन्ध प्रगाढ बनाउन कम्पनीको सेवा र पूर्वाधारको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। उनले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात् गरी सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमले महत्त्वपूर्ण कार्य गरिरहेको बताइन्। देशको प्रमुख सेवा प्रदायकको रूपमा कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसनजस्ता सेवाको विकासमा ध्यान दिनुपर्ने उनले उल्लेख गरिन्।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले नेटवर्क निर्माण र विस्तार गरी बजार र आम्दानी दुवै वृद्धि गर्न सक्ने सम्भावना रहेको औँल्याए। उनले प्राधिकरणमार्फत सञ्चालित विभिन्न आयोजना समयमै सम्पन्न गर्न कम्पनीलाई सुझाव दिए। यस्तै, सञ्चालक समितिका सदस्य एवं कर्मचारी प्रतिनिधि लोक बहादुर कटुवालले स्वच्छ प्रतिस्पर्धा भनिए पनि टेलिकम जस्ता संस्थाले लाइसेन्स र नवीकरणमा बढी रकम तिर्नुपरेको गुनासो गरे।
कम्पनीका नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले टेलिकमको समग्र अवस्थाबारे जानकारी दिँदै ७७ जिल्लाका ७४९ स्थानीय तहमा फोरजीएलटीई सेवा पुगेको बताए। राष्ट्रको सञ्चार भएकाले दुर्गम र विकट क्षेत्रमा समेत सेवा पुर्याइरहेको उल्लेख गर्दै उनले डाटा सेन्टर निर्माण, नयाँ बिलिङ सिस्टमको तयारी र एनटी क्लाउडको काम अघि बढिरहेको बताए।
कार्यक्रममा सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका विक्रेता, एमपोस विक्रेता, ठूला कर्पोरेट ग्राहक र एफटीटीएच तथा एक्सजीपीओएनतर्फ उत्कृष्ट कार्य गर्ने कार्यालयहरूलाई सम्मान गरियो। साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।















