काठमाडौँ, रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिंग नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) को बिचमा गत पुस १४ गते भएको सहमति भंग हुन पुगेको छ। सहमतिभन्दा पर गई विभिन्न पूरक सहमति र मूल सहमतिको परिमार्जनका लागि उज्यालो नेपाल पार्टीबाट निरन्तर प्रस्तावहरू आउने गरेको र शीर्ष नेतृत्व तहमा पटक–पटक बैठकहरू भएपनि एकता प्रक्रिया अगाडि बढ्न नसकेको ठहर गर्दै रास्वपाले उज्यालो नेपाल पार्टीसंगको सहमति भंग गरेको जनाएको छ ।
रास्वपा सचिबालयको शनिबार सम्पन्न आकस्मिक बैठकले यस अगाडी भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेसंगे दुई पार्टी बिचको सहमति भंग भएको र आगामी संयुक्त यात्रा समेत टुंगिएको छ । यस अगाडी रास्वपाले सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरू बिच बृहत् सहकार्यमार्फत मुलुकमा नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने भन्दै विभिन्न राजनीतिक समूह, दल तथा व्यक्तिहरू सँग संवाद र सहकार्यलाई अगाडि बढाउने क्रममा उज्यालो नेपाल पार्टीसंग पनि सहमति भएको थियो ।
रास्वपाले आफ्नो निर्णय सार्वजनिक गर्दै नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको ऐतिहासिक जिम्मेवारी सत्ताकेन्द्रित अंकगणित मिलाउनु वा शक्ति बाँडफाँडको व्यवस्थापन गर्नु नभएको बताएको छ । लोकतान्त्रिक सुशासन, सार्वजनिक उत्तरदायित्व, नीतिमा आधारित शासन, सामाजिक न्याय र समावेशी समुन्नतिका लागि साझा प्रतिबद्धता निर्माण गर्दै जनविश्वासलाई संस्थागत गर्न रास्वपा प्रयासरत रहेको पार्टीले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिँदै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग निरन्तर संवादमा रहने समेत सचिबालय बैठकले स्पष्ट पारेको छ । १२ दिनको सहकार्यको अभ्यास अनुमोदन नभए पनि रास्वपाले उनेपाको नेतृत्व तथा सम्पूर्ण संगठनलाई आगामी दिनमा सफल यात्राको लागि शुभकामना व्यक्त गरेको छ ।
चुनाब लड्ने उमेदवार खोज्दै उज्यालो नेपाल पार्टी
यसैबीच उज्यालो नेपाल पार्टी (उनेपा) र रास्वपाबिचको राजनीतिक यात्रा टुंगिएपछि उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि आफ्नो पार्टीको चुनाव चिह्न लिएर प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुकलाई उम्मेदवारीका लागि आह्वान गरेको छ । पार्टी प्रवक्ता डा राजु थापाका अनुसार शनिबार साँझ उनेपाले त्यसरी सहभागी हुन पुस ३० सम्मको समय दिएको हो । पक्रिया थालेको १२ दिनपछि आज शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता तोडिएपछि उनेपाले यस्तो आह्वान गरेको हो ।















