काठमाडौँ, मुलुकको पछिल्लो राजनीतिक सन्दर्भ अर्थात प्रस्तावित चुनाब, कांग्रेसको आसन्न महाधिबेशन र संसद पुनर्स्थापना लगायतका बिषयहरुमा चर्चा भैरहेको बेला नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबारदेखि आरम्भ भएको छ । कांग्रेसको १५ औँ महाधिवेशनको तयारी, प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची बुझाउने सहित समसामयिक सन्दर्भमा निर्णय गर्न बैठक बसेको बुझिएको छ ।
नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बैठकको औपचारिक शुरुवात भएको घोषणा गरेपछि महामन्त्री गगनकुमार थापाले प्रस्ताव पेस गर्दै पुस १६ गतेका लागि तय भएको वडाअधिवेशन पुस २१ गते र क्षेत्रीय अधिवेशन २३ गते सम्पन्न गर्न प्रस्ताव गरेका थिए । “कांग्रेस पार्टीको १५ औँ महाधिवेशन तोकिएकै मितिमा गर्ने प्रस्ताव गरेको छु । महाधिवेशनको मिति चलाउन पाइँदैन । अन्यको हकमा सामान्य फेरबदलको प्रस्ताव गरेको छु ।” थापाले बैठकमा भनेका थिए।
महामन्त्री थापाले प्रदेश निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, जिल्ला र सात वटै प्रदेशको अधिवेशन फागुन २१ गतेको निर्वाचनपछि गर्न सकिने बताए । उनले यसअघि १४ औँ महाधिवेशनपछि प्रदेश र जिल्ला अधिवेशन गरिएको प्रस्ट पार्दै अप्ठ्यारोकै बिच महाधिवेशन हुने र महाधिवेशन रोक्न खोजिए विशेष महाधिवेशनको प्रक्रिया सुरु हुने बबताएको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी दिए ।
तर, महामन्त्री थापको उक्त प्रस्ताब सार्बजनिक भए लगत्तै सामाजिक संजालमा उक्त प्रस्ताबको बारेमा कार्यकर्ताहरुबाट वडा र क्षेत्रको मात्र नभएर पालिका र जिल्लाको अधिबेशन समेत गर्नुपर्ने आवाज पार्टीको तल्लो तहबाट उठ्न थालेको छ। अन्यथा पुरानै जिल्ला समिति वा पालिका समिति कायम राखेर चुनाबमा गएमा पार्टीका कार्यकर्ता एबम समर्थक र शुभचिन्तकहरुमा नयाँ उर्जा थप्न कठिन हुने मात्र नभएर अवसर र जिम्मेवारी समेत पुरानाहरुमा नै रहने उनीहरुको भनाई छ।
बैठकमा महामन्त्री थापाले निर्वाचन आयोगले तोके अनुसार पुस १३ गतेभित्र समानुपातिकको सूची बुझाउने विषयमा पनि निर्णय हुने बताउंदै दबाबबिच काम गर्ने प्रयास भइरहेको र कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण कार्य केही स्थानमा नियत राखेरै रोकिएको दाबि गरेका थिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सहमहामन्त्री महेन्द्र यादव र बद्रीप्रसाद पाण्डे तथा सदस्यहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, सुजाता कोइराला, नारायणप्रकाश साउद र आनन्दप्रसाद ढुङ्गानाले समेत आआफ्नो भनाई राखेका थिए । बुधबारको बैठक बिहीबार पुनः बस्ने गरि सकिएको छ ।
यसैबिच, नेपाली काँग्रेसका महामन्त्री थापाले ‘क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण गर्न’ ७७ जिल्ला सभापतिलाई चारबुँदे निर्देशन जारी गरेका छन । उनले क्रमसङ्ख्या सहितका नयाँ क्रियाशील सदस्यता फाराम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई पठाइसकिएको जानकारी गराउंदै आबश्यक समन्वय र सहयोग गर्न जिल्ला कार्यसमितिलाई निर्देशन पठाएका छन ।
नयाँ क्रियाशील सदस्यता फाराम वितरण गर्दा जिल्ला कार्यसमितिको तर्फबाट प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका कार्यसमिति र वडा कार्यसमितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्न निर्देशन दिईएको छ ।
महामन्त्री थापाले नयाँ क्रियाशील सदस्यता १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोही अनुसार मापदण्ड पठाइसकेकाले मापदण्ड पुगेका व्यक्तिलाई सहज ढङ्गले नयाँ क्रियाशील सदस्यता वितरण गर्न समेत सम्बन्धित तहलाई निर्देशन दिएको नेपाली काँग्रेसले जनाएको छ ।















