Play

अमेरिकाका ३३ वटा च्याप्टरमा नेपाली जनसम्पर्क समितिको अधिबेशन: सबैमा उत्साह र उर्जा थपियो- बिष्ट

गुरुकुल खबर


अमेरिका, प्रवासमा रहेका नेपाली काँग्रेसमा आस्थावान नेपालीहरुको संगठन ‘नेपाली जनसम्पर्क समिति’को अमेरिकामा रहेका बिभिन्न ३३ वटा च्याप्टरहरुको अधिबेशन शनिबार एकै दिन सम्पन्न भएको छ।  अधिकांश च्याप्टरमा समितिको अधिबेशन उत्साहपूर्ण र निर्बिरोध रुपमा नयाँ कार्यसमितिको चयन भएको बताइएको छ।

तेस्रो अधिवेशन भएको ११ वर्ष पछि शनिबार अमेरिकाका सबै राज्यमा चौथो अधिवेशन भएको हो । सन् २०१४ मा जनसम्पर्क समितिको अधिवेशन भएयता अधिवेशन, सम्मेलन ठप्प भएका थिए । शनिबारको अधिवेशनले प्रवासका नेपाली कांग्रेसमा आवद्ध कार्यकर्ता र नेपाली काँग्रेसका समर्थक तथा शुभचिन्तकहरु उत्साहित बनेका छन ।

लामो समयदेखि अधिबेशन हुन् नसककेको कारण नेपाली जनसम्पर्क समिति भित्र आन्तरिक बिबाद समेत देखिएकोमा यस पटक नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार अधिबेशनको आह्वान गरेपछि अमेरिकाका ३३ वटै राज्यमा उत्साहपूर्ण ढंगले सदस्यता वितरण, नबिकरण र अधिबेशन सम्पन्न भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले गुरुकुल खबरलाई जानकारी दिए।

नेपाली काँग्रेस पार्टीले आगामी पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेसंगै प्रवासमा रहेका आफ्ना क्रियाशील सदस्यहरु आबद्ध भातृ संगठन नेपाली जनसम्पर्क समितिको अधिवेशन आगामी पौष १५, २०८२ भित्र सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही बमोजिम नेपाली जनसम्पर्क समिति, अमेरिकाले आफ्नो अधिवेशनको कार्यतालिका तय गरी च्याप्टरहरुको अधिवेशन शनिबार सम्पन्न गरेको हो।

अमेरिकाका ३० वटा राज्यहरुमा एकै साथ सम्पन्न भएको च्याप्टर अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमितिहरु चयन गरेको जानकारी दिंदै जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष बिष्टले वर्तमान अवस्थामा सहमति, सहकार्य र एकतालाई प्राथमिकताका साथ जोड दिएर अघि बढ्नु पर्ने सन्देश च्याप्टरहरुमा भएको अधिबेशनले दिएको बताए।

उनले च्याप्टरहरुको अधिवेशनले दिएको सन्देशलाई आत्मसात् गर्दै केन्द्रीय अधिवेशन पनि निर्धारित समय भित्रै सम्पन्न गरिने विश्वास दिलाए। उनले वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाली काँग्रेसले पनि सहकार्य, सहमति र एकतालाई मूल मन्त्र बनाएर महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए। आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित भएका सबै च्याप्टरहरुका कार्यसमितिहरुलाई बधाई ज्ञापन गर्दै उनले आगामी कार्यकाल सफल रहने बिश्वास समेत ब्यक्त गरेका छन।

यसैबीच नेपाली जनसम्पर्क समिति अमेरिकाका प्रबक्ता एबम प्रचार बिभाग प्रमुख गौतम दाहालले जनसम्पर्क समितका पुराना ३० वटा  च्याप्टरहरुलाई निरन्तरता दिदै थप तीन राज्यहरु नेभाडा, नेब्रास्का र कान्सास सिटीमा च्याप्टरको नयाँ कार्यसमिति गठन गरिएको जानकारी दिए। सिमित समय सिमा र असहज परिस्थितिका बाबजुद पनि च्याप्टरहरुको अधिवेशनका दौरानमा देखिएक उत्साहले सबैलाई उर्जा थपेको बताउंदै दाहालले भने, “३० वटा च्याप्टरहरुमा एकै दिन अधिवेशन सम्पन्न हुनु, ३ थप नयाँ च्याप्टर गठन गरिनु र सर्वसम्मत रुपमा नेतृत्व सहितको कार्यसमिति चयन हुनु महत्वपूर्ण उपलब्धिको रुपमा हामीले लिएका छौं।”

न्युयोर्क च्याप्टरको अध्यक्षमा दीनदयाल भण्डारी

न्युयोर्क च्याप्टरको अधिबेशनबाट सभापतिमा दीनदयाल भण्डारी, बरिष्ठ उपसभापति द्वयमा दावा फिन्जु शेर्पा र उमेश थापा, उपसभापतिमा भिमसेन श्रेष्ठ, सचिबमा सुभाष केसी, सहसचिबमा रमेश पाठक र बिबेक अधिकारी, कोषाध्यक्षमा ललिता चन्द निर्बिरोध निर्बाचित भएका छन् ।

शुरुमा अध्यक्ष पदका लागि सात जनाले इछ्या जाहेर गरेको भएपनि अन्तिममा सर्बसम्मत रुपमा कार्यसमिति चयन गरिएको थियो । कार्य समितिको सदस्यहरुमा अमन बागचन्द, लोकमणि न्यौपाने, महादत्त कंडेल,टासी शेर्पा, सनबहादुर पुन,रामकुमार गिरि, फुर्वा शेर्पा,र कृष्ण शर्मा रहेको न्युयोर्कबाट ध्रुव पौडेलले जानकारी दिए ।

न्युयोर्क च्याप्टरको अधिबेशनको उद्घाटन समारोहमा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समितिका नेताहरु श्यामकाजी गुरुङ, बेदप्रकाश खरेल र विश्वराज बाँस्तोला लगायतले जनसम्पर्क समितिलाई थप एकताबद्द र सक्रिय बनाउंदै नेपालको समग्र अबस्थामा सुधार ल्याउन समेत सहयोग गर्नुपर्ने बताएका थिए ।

जर्जिया च्याप्टरको अध्यक्षमा शिबकमल पौडेल

यसैगरी अमरिकाको जर्जिया च्याप्टरको अधिबेशन पनि सम्पन्न भएको छ। अधिबेशनले शिबकमल पौडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध रुपमा निर्बाचित गरेको छ समितिको उपाध्यक्षमा सबिता कुँवर केसी, महासचिबमा राजु खनाल, कोषाध्यक्षमा सुष्मा पहारी र सदस्यहरुमा दिपक केसी, जयलाल शर्मा, सरोज भण्डारी रहेको अमेरिकाबाट ध्रुब पौडेलले गुरुकुल खबरलाई जानकारी दिए।

कार्यसमितिको सल्लाहकारहरुमा केशव शर्मा, कुमार केसी, अनिल कोइराला, मदन घिमिरे, हरी भण्डारी, दिनेश राई र सन्तोष पहारी रहेको छन भने महाधिबेशन प्रतिनिधिहरुमा दिपक केसी, कपिल वाग्ले, दिनेश राई, विश्वमान आन्ग्दमबे, शिबकमल पौडेल, पारस थापा र सन्तोष पहारी रहेको बुझिएको छ।

जनसम्पर्क समिति जर्जिया च्याप्टरको निर्बाचन सम्पन्न गर्न कुमार केसी अध्यक्ष रहेको निर्बाचन समिति गठन गरिएको थियो । उक्त समितको  सदस्यहरूमा अनिल कोइराला र मदन घिमिरे रहेका थिए निर्बाचनको लागि नेपाली जनसम्पर्क समिति अमेरिकाले अनुप श्रीवास्तबलाई केन्द्रीय प्रतिनिधि चयन गरेर पठाएको थियो।

मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नेत्र केसी 

नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गत मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नेत्र केसी निर्बिरोध निर्बाचित भएका छन । नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम सिके, महासचिबमा राजन सुनार र कोषाध्यक्षमा निरन गुरुङ रहेका छन।

यसैगरी कार्यसमितिको सदस्यहरुमा सोनीका चुनारा, श्रीष्टी रामदाम, भिम सापकोटा, अंकित दर्जी, अर्जुन क्षत्री, केदार बिक्रम शाही, भरत जैसी, सचिता रायमाझी बस्नेत, महेश भट्टराई र शिब छन्त्याल रहेको नेपाली जनसम्पर्क समिति मेरिल्याण्डका नेता केशब शर्माले गुरुकुल खबरलाई जानकारी दिए ।

समितिका सल्लाहकारहरु र केन्द्रीय महाधिबेशन प्रतिनिधि सहित बाँकी पदाधिकारीहरुको चयन पछि गरिने बताइएको छ ।

ड्यालस फोर्टवर्थ च्याप्टरको अध्यक्षमा उज्वल खत्री 

नेपाली जनसम्पर्क समिति अमेरिका अन्तरगतको ड्यालस फोर्टवर्थ च्याप्टरको अध्यक्षमा उज्जल खत्री निर्बिरोध निर्बाचित भएका छन ।  नेपाली जनसम्पर्क समिति डिएफडब्लु च्याप्टरको चौथो अधिवेशनले खत्री अध्यक्ष रहेको १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । स्थानीय युवापुस्तामाझ परिचित र सकृय खत्रीको नेतृत्वले प्रवासमा जनसम्पर्कको सकृयता बढ्ने अपेक्षा जनसम्पर्क समितिका सदस्यहरुले गरेका छन ।

निर्विरोध निर्बाचित कार्यसमितिको उपाध्यक्षमा मधुर खरेल, सचिवमा आकाश अधिकारी र कोषाध्यक्षमा राजु कोइराला चयन भएका छन् ।यसैगरी कार्यसमितिको सदस्यहरुमा विष्णुकुमार गिरी, रमेश न्यौपाने, दीपक थपलिया, कृष्ण प्रसाई, कविराज कार्की, सगुन अधिकारी, विष्णुप्रसाद ढकाल, होमप्रसाद थपलिया र विनय खतिवडा निर्विरोध चयन भएका छन् ।

त्यसअघि भएको चौथो अधिवेशन उदघाटन कार्यक्रममा वक्ताहरुले जनसम्पर्क समितिलाई राजनीतिक भातृसंस्थाको रुपमा मात्र हेरिनु अन्यायपूर्ण हुने उल्लेख गर्दै सामाजीक क्षेत्रमा समेत संस्थाले प्रवासको नेपाली समुदायलाई ठूलो सहयोग गरिरहेको चर्चा गरे । अधिवेशनको उदघाटन नेपाली कांग्रेसका अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत रहेको सिद्धान्त आदर्श कार्यान्वयन समितिका संयोजक  समेत रहेका पत्रकार महासंघका पुर्व अध्यक्ष हरिहर विरहीले गरेका थिए ।

प्रमुख अतिथीको रुपमा विरहीले नेपालको प्रजातान्त्रिक पद्धती नै के हुने ? कसो हुने भन्ने बारेमा चिन्ता बढिरहेको समयमा कांग्रेस र प्रजातन्त्र प्रति जागरुक बनाउन यस्ता अधिवेशनहरु आवधिक रुपमा हुनुपर्नेमा जोड दिए । नयाँ नेतृत्वले सुस्ताएको पार्टी नेतृत्वलाई ऊर्जा थप्ने चर्चा गर्दै विरहीले देशमा लोकतन्त्र, बहुदलीय प्रजातन्त्रको रक्षाको लागि फेरि एकजुट हुनुपर्ने देखिएको समेत बताए ।

जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टर अध्यक्ष ज्ञानेन्द्र कार्कीले समाज जोड्न र समुदायलाई एकीकृत गर्न जनसम्पर्क समितिले भूमिका खेलिरहेको स्मरण गरे । कार्यक्रममा पूर्ब अध्यक्ष विष्णु सुवेदी, एनआरएनका वरिष्ठ उपाध्यक्ष सुुनिल शाह, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएन अमेरिकाका अध्यक्ष विकास उप्रेती, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनालीले जनसम्पर्क समितिमा देखिएको उत्साहले नेपाली काँग्रेसको लागि उर्जा थप्ने बताएका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका संस्थापक सुन्दर कर्माचार्य, युलेस सिटीका मेयर प्रोटेम टीका पौडेल, सुभेन्द्र रानाभाट, अर्जुन बम लगायतका वक्ताहरुले विपी कोइरालाले प्रवासमा रहेका नेपालीलाई प्रजातान्त्रिक आन्दोेदनमा जागरुक बनाउनका लागि गठन गर्नुभएको जनसम्पर्क समितिहरुको महत्व अझै सान्दर्भिक भएको उल्लेख गरे । निर्विरोध रुपमा चयन भएका पदाधिकारीहरुलाई शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम शनिबार नै सम्पन्न भएको छ।

वेष्ट टेक्ससको अध्यक्षमा हरिप्रसाद ढकाल

नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गत वेष्ट टेक्ससको अध्यक्षमा हरिप्रसाद ढकाल निर्बिरोध निर्बाचित भएका भएका छन् । शनिबार सम्पन्न अधिबेशनले अध्यक्षमा ढकाल सहित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहित केन्द्रीय प्रतिनिधिहरु समेत चयन गरेको छ ।

नवनिर्बाचित समितिको उपाध्यक्षमा ज्ञानेन्द्र घलान तामांग, सचिवमा हरि खनाल र कोषाध्यक्षमा शिला घिमिरे चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा हरि ढकाल, प्रविण घिमिरे, रामराज पोखरेल, प्रेम पाठक लगायत १२ जना छानिएको बताइएको छ ।

नर्दन क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा हरि भट्ट

नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गत नर्दन क्यालिफोर्निया च्याप्टरको अधिबेशनबाट नयाँ कार्यसमितिको अध्यक्षमा हरि भट्ट निर्बिरोध निर्बाचित भएका छन। समितिको बरिष्ठ उपाध्यक्षमा बिनोद पुन, उपाध्यक्षहरुमा पदम तामांग र परमेश्वर नेउपाने, महासचिबमा ध्रुवराज दाहाल, कोषाध्यक्षमा सावित्री नेउपाने पनि निर्बिरोध निर्बाचित भएका छन ।

कार्यसमितिको सदस्यहरुमा बबिता खनाल, निशान्त तामांग, सोम भट्ट, ध्रुबराज बिके, चित्रबहादुर बिष्ट, जनक केसी, प्रवेश गिरि, सुरेश पुलामी र टेकबहादुर सिंह नसमेट निर्बिरोध निर्बाचित भएको निर्बाचन समितिका सदस्य दिपक दाहालले गुरुकुल खबरलाई जानकारी दिए।

अन्य च्याप्टरमा को को ? 

नेपाली जनसम्पर्क समिति सेन्ट्रल टेक्ससको अध्यक्षमा विनोद श्रेष्ठ निर्बाचित भएका छन भने कान्सस च्याप्टरमा फिलिपी केसी, , अस्टिन च्याप्टरमा कोशल यादव अध्यक्षमा चयन भएको बुझिएको छ। अधिवेशन सम्पन्न भएका अन्य च्याप्टरहरुको नेतृत्वको नामावली प्राप्त भएपछि गुरुकुल खबरले अपडेट गर्दै जानेछ ।

नेपाली जनसम्पर्क समिति अमेरिकामा हाल नेपाली नागरिकता कायम रहेका (अमेरिकाको नागरिकता नलिएका) र अमेरिकाको नागरिकता लिएका गरी दुइ प्रकृतिका सदस्यहरु रहेका छन्। नेपाली नागरिकता कायम रहेका सदस्यहरुले मात्र नेपाली काँग्रेसको महाधिवेशन प्रक्रियामा भाग लिन पाउने छन्। तर, नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनमा भने दुबै प्रकृतिका सदस्यहरुले सहभागिता जनाउन पाउने व्यवस्था छ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाले बताए अनुसार हाल संस्थामा ४ हजार पाँच सय बढी सदस्यहरु रहेका छन्। सन् २०१४ मा अमेरिकाको टेक्सास राज्यमा एकताको अधिवेशन भएको थियो। त्यस पछि आन्तरिक बिबादको कारण अधिवेशन हुनसकेको थिएन। लामो समयसम्म अधिवेशन हुन नसक्दा संस्थाको नेतृत्वमा रहेकाहरुले धेरै आलोचना समेत खेप्नु परेको थियो । यस पटक अधिबेशन सम्पन्न भएसंगै पुरानो बिबाद अन्त्य हुने र नेपाली जनसम्पर्क समिति थप सक्रिय र गतिशील बन्ने बिश्वासमा समितिका सदस्यहरु रहेका छन ।

६ पुष २०८२, आईतवार ०७:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा