पोखरा, हरेक दुई बर्षको अन्तरालमा हुँदै आएको मन्टेश्वरी बाल प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत चौथौं संस्करणको ‘मन्टेश्वरी बाल प्रतिभा प्रस्फुटन कार्यक्रम- २०८२’ यहि मङ्सिर २७ गते पोखरामा हुने भएको छ।
मन्टेश्वरी एशोसिएसन कास्कीका सह–सचिव थिरबहादुर थापाले दिएको जानकारी अनुसार बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास र सृजनशीलता बढाउने लक्षसहित कार्यक्रमको आयोजना गरिएको हो । कास्की जिल्ला भित्र संचालित विभिन्न मन्टेश्वरी विद्यालयका बालबालिका हरुको आत्मबिश्वास बढाउंदै प्रतिभा उजागर गर्नको लागि कार्यक्रम उपयोगी हुने बिश्वास गरिएको छ।
मन्टेश्वरी एशोसिएसन कास्कीका अध्यक्ष भवानी अधिकारीले कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको बताउंदै कार्यक्रम सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च लाग्ने बताइन। खर्चको ब्यबस्थापन बिभिन्न व्यक्ति र संस्थाबाट प्राप्त हुने सहयोग र दर्ता शुल्कबाट गरिने आयोजकले जनाएको छ।
गत भाद्र २८ गतेका लागि तय गरिएको कार्यक्रम जेन्जी पुस्ताको नाममा भएको आन्दोलनका कारण स्थगित हुन पुगेको थियो । त्यसपछि मंसिर २७ गतेको लागि कार्यक्रम तय गरिएकोमा कार्यक्रमको तयारी स्वरूप बिभिन्न उप–समितिहरू गठन गरि तयारी अगाडी बढाइएको छ।
मन्टेश्वरी एशोसिएसन कास्कीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ऋतु पौडेलले प्रतिभा प्रस्फुटन कार्यक्रममा पोखरा र कास्की जिल्लाको बिभिन्न स्थानमा संचालित ४० भन्दा बढी मन्टेस्वरी विद्यालयका ७ सय भन्दा बढी विद्यार्थीहरू सहभागी बन्ने अपेक्षा गरिएको बताइन सहभागी बिधार्थीहरुले नृत्य, गायन, अभिनय, कविता वाचनलगायत विविध सिर्जनात्मक तथा सांस्कृतिक प्रस्तुति दिने उनको भनाई छ।
उक्त कार्यक्रम पोखराको बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा गरिने भएको छ। कार्यक्रममा अभिभावक, शिक्षक–शिक्षिका तथा आमन्त्रित पाहुना समेत दर्शकहरुको ठुलो संख्या उपस्थित हुने अपेक्षा आयोजकको रहेको छ। यस कार्यक्रममा प्रस्तुति दिने सबै बिधार्थी र उनीहरु अध्ययन गर्ने विद्यालयलाई सहभागिताको प्रमाण-पत्र र मायाको चिनो प्रदान गरिने एशोसिएसनले जनाएको छ।















