काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टीको लागि स्वयम्सेवकको भूमिका निर्बाह गर्ने र विभिन्न सामाजिक सुरक्षाका लागि काम गर्ने प्रयोजनको लागि भन्दै राष्ट्रिय स्वयंसेवक फोर्स ‘नेसनल भोलिन्टियर्स फोर्सको केन्द्रीय ‘कमाण्ड’ घोषणा गरेको छ । नेकपा एमालेको जनसङ्गठन समन्वय संयन्त्रद्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । एघार सदस्यीय केन्द्रीय कमाण्ड टोलीको संयोजकमा सिन्धुलीका पुष्पराज श्रेष्ठलाई राखिएको छ ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले कार्यक्रममा फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरे । टोलीमा केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले छन् । टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाई दिँदै सपथ गराएका थिए । फोर्समा पार्टीका विभिन्न जनसङ्गठनबाट प्रतिनिधित्व हुने र ती सङ्गठनबाट जिम्मेवारी लिइसकेका व्यक्तिलाई पनि समावेश गरिने ढकालले बताए । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सुरक्षाका लागि फोर्सले काम गर्ने बताए ।
उक्त समारोहमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताए । ओलीले नवगठित फोर्स राष्ट्रहित र नेकपा एमालेका लागि गठन गरिएको बताउंदै यो स्वयंसेवक दस्ता राष्ट्र हितका लागि गठन भएकोले यसको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिन र डराउन नपर्ने स्पष्ट पारे । अध्यक्ष ओलीले फोर्सले अनुशासित ढङ्गले काम गर्ने भन्दै हिंसा, आतङ्क, तोडफोड र लुटपाटका विरुद्ध फोर्स परिचालित हुने बताए।
यसैबीच, एमालेले निकै तामझामका साथ घोषणा गरेको नेसनल भोलेन्टियर्स फोर्स’को कमान्डर पुष्पराज श्रेष्ठ सातवटा फौजदारी मुद्दा लागेका व्यक्ति रहेको सार्बजनिक भएको छ। सिन्धुलीका श्रेष्ठ यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध रहेका थिए। उनलाई नै नेसनल भोलेन्टियर्स फोर्सको जिम्मेवारी दिईएको छ
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ । श्रेष्ठविरुद्ध ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठ २०६३ देखि अपराध कर्ममा संलग्न भएका हुन् । २०७५ मा सार्वजनिक अपराध, २०७३ मा ज्यानमार्ने उद्योग,२०६३ मा ज्यान मार्ने उद्योग, २०६४ मा पनि ज्यान मार्ने उद्योग, २०६७ मा सार्वजनिक अपराध र २०७० मा अपराध तथा शरीर बन्धक मुद्दा लागेको थियो । त्यसबाहेक २०६५ मा श्रेष्ठमाथि ज्यानमार्ने उद्योग अन्तर्गत प्रहरीले मुद्दा चलाएको बिभिन्न संचार माध्यमले सार्बजनिक गरिसकेका छन ।















