काठमाडौँ, नेकपा एमालेले आज शुक्रबार र भोलि शनिबार काठमाडौंमा बिशेष भेला सहितको कार्यक्रम आयोजना गरेको छ। शुक्रबार बिहान कार्की ब्यांक्वेटमा हुने कार्यक्रममा एमालेको नेसनल भोलिन्टियर फोर्स घोषणा गरिने भएको छ।
एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेसनल भोलिन्टियर फोर्सको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रमको लागि एमालेले प्रशासनलाई जानकारी गराइसकेको छ। हलभित्र गरिने कार्यक्रम भएकाले अनुमति भने लिइराख्नु नपर्ने सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाललाई उद्दृत गर्दै एमालेले जानकारी दिएको छ।
‘कार्यक्रम इन्डोर गर्ने भनिएको छ। त्यसकारण अनुमति लिइराख्नु परेन,’ सहायक प्रजिअ रिजालले भनेका छन । तर शनिबारै एमालेको बागमती प्रदेश कमिटीले गर्ने जनसभा सार्बजनिक स्थानमा हुने भएकोले त्यसको अनुमतिका लागि एमालेले निवेदन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलले बिहीबार बताएका थिए।
उक्त कार्यक्रमका लागि प्रशासनले सहजीकरण गर्ने सहायक प्रमुख जिल्ला अधिकारी रिजालले संचारकर्मीहरुलाई जानकारी दिए। एमालेले गर्ने जनसभाको कार्यक्रम शान्तिपूर्ण प्रदर्शनको रुपमा हुने जनाएको छ । शनिबारको कार्यक्रम भृकुटीमण्डपभित्र गर्नेगरी सहजीकरण भएको काठमाडौँका सहायक प्रजिअ रिजालले बताएका छन।















