काठमाडौँ, प्रचण्ड नेतृत्वको नेकपा माओबादी केन्द्र र माधब नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादी सहितका आठवटा पार्टीहरुको बिचमा आज बुधबार राष्ट्रिय एकता सम्मेलन हुने भएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पाटी, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) बीचमा हुने पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन राष्ट्रिय एकता सम्मेलन गरिन लागेको बुझिएको छ।
आउँदो फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक मसान्तसम्म दल दर्ताको समय दिइएको छ । निर्बाचन आयोगमा छिट्टै नयाँ दल दर्ता गर्नुपर्ने बाध्यताको कारण पनि उनीहरुले पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रक्रिया अगाडी बढाएको बताइएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसाे १ बजे एकता सम्मेलनबाट पार्टी एकता घोषणा हुने भएको हो । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पनि पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरिसकेको छ ।
एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र तयारी,न्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्यहरू गरिने उल्लेख छ । आगामी ६ महिनाभित्र नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने जनाइएको छ ।
माओबादी केन्द्रमा प्रचण्ड नेतृत्वको बिरोधमा देखिएका माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले भने यो एकताको बिरोध गर्दै छुट्टै अभियान घोषणा गरिसकेका छन् । माओबादी नेता शर्मा संगै नेता राम कार्की पनि जोडिएका छन।
यसैगरी नेकपा एकीकृत समाजवादीमा पनि माधव नेपाल नेतृत्वमा एकता प्रक्रिया अगाडी बढेपछि पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्री सहितका नेताहरुले पनि एकता प्रक्रियामा सामेल नहुने जनाएका छन् ।
उनीहरुमध्ये नेता खनालले एमाले अध्यक्ष केपी ओलीसंग भेटघाट गरेर एमालेमा फर्किने बाताबरण तयार गर्न लागेको र झाँक्री सहितका नेताहरु बुधबार नै पत्रकार सम्मेलन गरेर एमालेमा फर्किने तयारी गरेको बताइएको छ खनाल र पार्टीका महासचिब घनश्याम भुषालले एकीकृत समाजबादीलाई नै पुनर्गठन गर्ने बताउंदै आएका थिए ।
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेका पूर्वउपाध्यक्ष डा भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको दाबी गर्दै आएका छन् ।
तर, एकीकरण भएको खण्डमा सोही पार्टी नाम र चुनाव चिह्न एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १० (७)मा एकीकरण वा गाभिनुअघि प्रयोग गरिएको दलको नाम र चुनाव चिह्न एक वर्षसम्म कसैले नपाउने उल्लेख छ ।















