पोखरा, नेकपा माओवादी केन्द्रका नेता एबम पुर्व मन्त्री जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी पार्टी छोडेर प्रगतिशील अभियान नेपाल नामको नयाँ अभियानको घोषणा गरेका हुन्। उनले मंगलवार पत्रकार सम्मेलन गरेर घोषणा गरेको प्रगतिशील अभियान नेपालमा माओबादीका नेता एबम पुर्व मन्त्री राम कार्की, अञ्जना विसंखे लगायतका केहि नेता सहभागी थिए।
माओबादी नेता एबम पुर्व उपमहासचिब शर्मा, पुर्व सचिब कार्की र पूर्वस्थायी समिति सदस्य विशुंखे समेतले प्रगतिशील अभियान शुरु गर्ने घोषणा गरेसंगै नेकपा एकीकृत समाजवादी र माओबादी केन्द्र लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित हुन पुगेको छ।
पार्टीको मूल नेतृत्व अर्थात प्रचण्डसंग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दशवर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावना विपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए। उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्न अभियान थालेको दाबी गरे।
नेता शर्मा सहित त्यहाँ उपस्थित नेताहरुले माओवादी आन्दोलनका बाँकी रहेका कार्यभार पूरा गर्दै वाम आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने बताएका छन्। शर्माका अनुसार एकीकृत समाजवादीमा माधब नेपालको कार्यशैलीबाट असन्तुष्ट बनेका नेताहरु झलनाथ खनाल, घनश्याम भूसाल लगायतका नेताहरु पनि माओबादी नेता शर्मा, कार्कीसहितका नेतासँग संवादमा रहेको बुझिएको छ।
नेता जनार्दन शर्माले पत्रकार सम्मेलनमा बोल्दै पार्टीका पुर्व अध्यक्ष तथा हालका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा शर्माले आफूसहित केही नेताले त्यसलाई अस्वीकार गर्दै पार्टीको पुनर्गठन सहितको प्रगतिशील अभियान सञ्चालन गर्ने बताए।
‘माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ, त्यस्तो गर्ने अधिकार पनि छैन र त्यसो गर्न आयोजक समितिले पाउँदै पाउँदैन। महाधिवेशन आयोजक समितिले महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर महाधिवेशन टार्ने प्रयास भैरहेको छ’- शर्माले भने ।
एकीकृत पार्टीमा आजैदेखि भद्रगोल सुरू भएको बताउंदै हजारौंका केन्द्रीय कमिटीहरू बन्ने, सयौंको सचिवालय बन्ने र त्यसले सांगठनिक अराजकता, विधिहीनतालाई स्थापित गर्ने उनको भनाई थियो।















