काठमाडौँ, जेनजी पुस्ताको नाममा भएको आन्दोलनपछि विघटित प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट पर्ने क्रम जारी छ। प्रतिनिधिसभा बिघटन असंबैधानिक कदम रहेको र सुशिला कार्की नेतृत्वको सरकार पनि असंबैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा मंगलवार बिहानबाट नै रिट पर्ने क्रम जारी रहेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर र प्रतिनिधि सभा विघटन विरूद्धमा रिट परेको छन।
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने क्रम जारी रहंदा बिहान ११.३० सम्ममा पाँच वटा रिट पुगेको बुझिएको छ । अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मिया गरि पाँचजनाले छुट्टाछुट्टै रिट सर्वोच्चमा पुर्याएको हुन् ।
रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ । असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।
सर्वोच्च अदालतले आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्न सुरु गरेसँगै प्रतिनिधि सभा विघटनविरुद्ध रिट पुगेको हो । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो । ‘रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ प्रवक्ता कोइरालाले भने। भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेको छ। त्यसकारण त्यसयता सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन।















