पोखरा, नेकपा एमालेको बिधार्थी संगठन अनेरास्ववियुले जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङमाथि कारबाहीको माग सहित नेपाल प्रहरीमा जाहेरी दिएको छ। अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर दिएको जाहेरीबारेमा नेपाल प्रहरीले २४ घण्टापछि जवाफ दिने जनाएको छ। प्रहरीले २४ घण्टाभित्र जाहेरी दर्ता नगरे त्यसपछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र कानुनी उपचारको खोजीमा लाग्ने अखिलका नेताहरुले बताएका छन ।

यसैगरी, मंगलबार नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङ समूहको जेनजीले प्रहरीमा जाहेरी दिएको थियो । प्रहरीले उनीहरूको निवेदन लिएर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको जनाईएको छ ।जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउको माग गर्दै उनीहरूले दबाब बढाइरहेका छन् । यसबारेमा तीनवटा सुरक्षा निकायसँग अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले छलफल समेत गरेको बताइएको छ । दुवैपक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमनेसामने भएसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था दिनभर जसो कडा बनाइएको छ ।

अनेरास्ववियुका पुर्ब अध्यक्ष समिक बडाल र महासचिब दिपक धामीसमेतको नेतृत्वमा बालेन शाह र सुदन गुरुङलाई कारबाहीको माग सहित प्रहरीलाई दिईएको जाहेरी फोटोकपी मात्रै गरेर राखिएको छ । ‘२४ घण्टाभित्र अध्ययन गरेर दर्ता गर्ने वा नगर्ने, नगर्ने भए किन नगर्ने भन्ने जवाफ दिन्छौं भनेर प्रहरी अधिकारीले भन्नुभएको छ,’ परिसर पुगेका अनेरास्ववियुका पूर्वअध्यक्ष बडालले केहि संचारकर्मीसंग भने । प्रहरीले सरकारी वकिलसँगको सल्लाह पछि दर्ता गर्ने कि नगर्ने निर्णय गर्ने जवाफ दिएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले राष्ट्रिय धरोहरमा आगजनी गर्ने र दण्डहीनतालाई प्रश्रय दिने काठमाडौँ महानगरका प्रमुख बालेन र हामी नेपालका संस्थापक सुदन गुरुङ लगायतबाट भइरहेको बताउँदै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको हो । “अराजकता मच्चाउने काम भएको छ । धरोहर जलाउने काम भएको छ । हाम्रो देशको शान्तिको प्रतीकलाई विध्वंश गर्ने काम भएको छ, त्यसैले उनीहरुलाई कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ ।” महासचिब धामीले भने

धामीले भने, “सुरुका दिनदेखि संविधानमाथि जसरी धाबा बोल्न खोजियो, हाम्रो पुस्ताको साथीहरुमाथि गोली हानियो, त्यसको पनि कानुनी उपचार खोजेर दोषीलाई कारबाही गरिनुपर्छ यसका साथै सम्पदामाथि आगजनी गर्ने, दिनदहाडै ज्यान लिने, सिंहदरबार छिरेर अनधिकृत व्यक्तिले हुकुमी शासन चलाउन खोज्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउनैपर्छ ।”

















