Play

जेनजीको सडक प्रदर्शन भए लुटेका हतियार र प्रहरीको पोशाकसहित घुसपैठ भई अप्रिय घटना हुनसक्ने प्रहरी अधिकारीको भनाई

मुलुकको शान्ति सुरक्षामा चुनौती बढ्दो, द्वन्द बढ्ने खतरा


गुरुकुल खबर


काठमाडौँ, जेनजी पुस्ताको नाममा फेरी पनि सडक प्रदर्शन हुनसक्ने र त्यस्तो प्रदर्शनमा घुसपैठ भएमा अप्रिय घटना हुनसक्ने भन्दै प्रहरीका उच्च अधिकारीहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई जेनजीको नाममा हुने सडक प्रदर्शन रोक्नको लागि अग्रसरता देखाउनुपर्ने सुझाब दिएका छन । जेनजीको नाममा एउटा समुहले सोमबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रहरी कार्यालयमा दबाब बढाएपछि सोमबार साँझ नै प्रहरी प्रमुखसहितका वरिष्ठ अधिकारीहरु गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका थिए ।

गृहमन्त्रीसंगको भेटमा प्रहरी अधिकारीहरुले अहिलेको तरल अवस्थामा सडक प्रदर्शन हुँदा हुनसक्ने सम्भावित जोखिमको बारेमा ब्रिफिङ गरेको बुझिएको छ । ‘गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ‘प्रहरीका बर्दी पनि लुटिए, हतियार पनि लुटिए, ती हतियार चलाउन जान्ने जेलबाट भागेका पेशेबर अपराधी पनि जेलबाट छुटाइए, यस्तो अबस्थामा तिनै बर्दी लगाएर, प्रहरीका हतियार बोकेर प्रदर्शनमा छिरेर गोली चलाए भने सक्कली प्रहरीले गोलि चलाएको हो किन नक्कलीले भनेर कसरि छुट्टाउने ?’भन्ने प्रश्न गर्दै प्रहरी अधिकारीले सडक प्रदर्शन नगर्न गृहमन्त्रीले नै जेनजीका नेताहरुलाई भनिदिनुपर्ने कुरामा जोड दिएका थिए ।

गृहमन्त्री अर्यालले भने २३ गतेको आन्दोलन दमन गर्ने अधिकारीहरुविरुद्ध जाहेरी नलिएसम्म जेनजीको आक्रोशलाई मथ्थर पार्न नसकिने र आफूले भन्दैमा जेनजीको प्रदर्शन रोकिन नसक्ने बताएको बुझिएको छ । प्रहरी अधिकारीहरुले भने विधि र प्रकृयाअनुसार जाहेरी प्रकृया हुनुपर्ने भन्दै त्यस्तो विधि गृहमन्त्रीले बनाइदिनुपर्ने बताएका थिए । साथै उनीहरुले गृह मन्त्रालयले सूचना निकालेरै शान्ति सुरक्षा कायम गर्ने प्रयोजनकालागि प्रदर्शन नगर्न आग्रह गर्नुपर्ने माग समेत गृहमन्त्री समक्ष राखेका थिए ।

लुटिएका हतियार र बर्दी फिर्ता गराउने रणनीति के हुन्छ भन्ने विषयमा पनि प्रहरी अधिकारीहरुको चासो थियो । ‘मन्त्रालयको आग्रह अनुसार हामीले चाडबाडसम्मका लागि हतियार फिर्ता गर्ने समय थप्यौं तर एउटा पनि हतियार फिर्ता हुन सकेन, वास्तविक जेनजीले लगेको भए यी हतियार आइसक्ने थिए,’ प्रहरी अधिकारीहरुको भनाइ थियो, ‘ती हतियार हाम्रै लागि चुनौती बन्ने अवस्था भयो, अब फिर्ता नगर्नेमाथि कारबाही गर्ने गरी मुभ गरौं ।’

छलफलमा सहभागी गृहमन्त्रीले लुटिएका हतियार सुरक्षाका लागि चुनौती बनेको स्वीकारे पनि कडाइ गर्नेबारेमा भने कुनै स्पष्ट निर्देशन नदिएको बताईन्छ । छलफलमा प्रहरी अधिकारीहरुले कर्तव्यपालनका सिलसिलामा प्रहरी अधिकारीहरुमाथि भएको आक्रमण र लुटपाटलाई कारबाहीको दायरामा ल्याउन नसक्दा प्रहरीको मनोबल खस्किएको बताएका थिए । आगामी दिनमा हुने प्रदर्शनमा प्रहरीले कसरी सुरक्षा दिने, कसरी काम गर्ने भन्ने अन्यौल संगठनमा परेको छ, त्यसैले शान्ति सुरक्षा कायम गर्न प्रहरीको मनोबल खस्किन नदिउँ भन्ने प्रहरी अधिकारीहरुको भनाइ थियो ।

प्रहरीका उच्च अधिकारीहरुसंगको छलफल पछि गृहमन्त्री अर्याल प्रधानमन्त्री सुशिला कार्कीलाई भेट्न राति नै बालुवाटार पुगेको श्रोतले बताएको छ ।उक्त भेटमा पनि पूर्व प्रधानमन्त्री ओली र पुर्ब गृहमन्त्री लेखकसहित अन्यलाई पक्राउ गर्ने बिधिको बारेमा कुराकानी भएको बताइएको छ । प्रहरीलाई पक्राउ गर्न मौखिक रुपमा भनिएपनि त्यसको लागि सरकारले निर्णय गर्नुपर्ने कुरामा प्रहरी अधिकारीहरुले सुझाब दिएपछि अझैसम्म पनि के गर्ने भन्ने अन्योल कायम छ । यसकिसिमको अबस्थाका कारण मुलुकमा द्वन्द बढ्न सक्ने मात्र नभएर सुरक्षा चुनौती समेत थपिंदै गएको कतिपयको भनाई छ ।

सोमबार दिउँसो जेनजीको नाममा सुदन गुरुङ सहितको टोलिले प्रहरीका उच्च अधिकारीहरुलाई भेटेर तत्काल ओली र लेखक समेतलाई पक्राउ नगरे सडकमा प्रदर्शन गर्ने धम्कि दिएको थियो । त्यसलगत्तै सोमबार साँझ उपत्यकाका सबैजसो बिटमा रहेका प्रहरीहरुलाई फिर्ता बोलाएर वृत्तमा हाइअलर्टका साथ राखिएको थियो ।

मंगलवार पनि जेनजीको नाममा एउटा समूह अख्तियार दुरुपयोग निवारण आयोगमा पुगेर प्रमुख आयुक्त प्रेमकुमार राई सहित सबै आयुक्तलाई स्वतस्फुर्त राजिनामा गर्न भन्दै दवाब सहितको मागपत्र बुझाएको थियो । उक्त समुहले सर्वोच्च अदालतका प्रधान न्यायधिसको समेत राजिनामा माग गरिरहेको कुरा सार्वजनिक भएको छ ।

भ्रष्टचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवाको मुख्य माग राखेर जेनजी युवाहरुले गत भदौ २३ र २४ गते काठमाडौंमा गरेको प्रदर्शनको क्रममा प्रहरी कार्यालयहरुमा आगजनी हुनुका साथै हतियार पनि लुटिएको थियो । गृह मन्त्रालयका स्रोतका अनुसार करिब १ हजार २ सय हतियार फेला परेका छैनन् । नेपाली सेनाको सहयोगमा तीन सय जति हतियारमात्र फिर्ता भएको र अन्य हतियारको अवस्था अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

२१ आश्विन २०८२, मंगलवार १४:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा