पोखरा, नेपाल तेक्वान्दो संघको पाँचौँ केन्द्रीय अधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ। अधिबेशनले दिपराज गुरूङलाई संघको केन्द्रीय अध्यक्षमा निर्बिरोध निर्बाचित गरेको छ। गुरुङले यस अगाडी संघको केन्द्रीय महासचिवको जिम्मेवारी सम्हालेका थिए । अधिबेशनमा सातवटा प्रदेश तेक्वान्दो संघ, ५८ वटा जिल्ला तेक्वान्दो संघ र २३ जना केन्द्रीय प्रतिनिधिहरु सहभागी थिए ।


उक्त केन्द्रीय अधिवेशनले गुरुङ अध्यक्ष रहेको १९ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्बिरोध निर्बाचित गरेको अधिबेशनमा सहभागी मदन केसीले गुरुकुल खबरलाई जानकारी दिए । केसी पोखराका अग्रज खेलाडी मात्र नभएर खेलकुदसंग सम्बन्धित र अन्य बिभिन्न संघसंस्थामा समेत आबद्द छन उनि संघको केन्द्रीय सदस्यमा पनि निर्बिरोध निर्बाचित भएका छन ।

नवनिर्बाचित केन्द्रीय समितिको तिन जना उपाध्यक्षहरूमा भानबहादुर चन्द, नन्दकुमार राई र दिलबहादुर ओली तथा कोषाध्यक्ष कासिम मिया निर्वाचित भए । कार्यसमितिको निर्बाचन सकिए लगत्तै संस्थाको बिधान अनुसार कार्यसमितिको पहिलो बैठकले हेमन्त डाँगीलाई महासचिवमा मनोनयन गर्ने निर्णय गरे अनुरुप डाँगी संघको केन्द्रीय महासचिब बनेको छन ।
केन्द्रीय कार्यसमितिको सदस्यहरूमा पोखराका मदन केसी सहित टिका प्रसाद लिम्बु, रवि थापा, कोशिश खड्का, श्रीमान थापामगर, नन्दा बस्याल, गुरु प्रसाद गौतम, सुमन पराजुली, रामचन्द्र श्रेष्ठ, कुमार लामा घिसिङ, विजय कुमार न्यौपाने, बब्लु शिवाकोटी र प्रेम बहादुर भण्डारी निर्बिरोध निर्बाचित भएका छन् ।

यसअघि २०७८ साल असोजमा भैरहवामा सम्पन्न अधिवेशनबाट प्रकाश शम्शेर राणा तेक्वान्दो संघको अध्यक्ष बनेका थिए उनको नेतृत्वको समितिको कार्यकाल पुरा भएपछि यसपटकको अधिबेशन चितवनमा सम्पन्न भएको हो ।
अधिबेशन सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट खेलकुद विकास विभागका प्रमुख सरोज पोखरेल संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिले केन्द्रीय समितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको शपथ समेत गराइसकेको छ ।
निर्बाचन पूर्व आयोजित एक समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत बहादुर धामीले अधिबेशनको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा निवर्तमान पदाधिकारीसँगै तेक्वान्दो खेलमा सहयोग पुर्याउने विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
















