पोखरा, आन्तरिक एबम बाह्य पर्यटकहरुको लागि पोखरालाई सुरक्षित गन्तब्यको रुपमा मानेर पोखरा क्षेत्रको भ्रमण गर्न होटल संघ पोखराले सार्बजनिक अपिल गरेको छ । जेन–जी आन्दोलनका वाबजूद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायीहरु तयार रहेको सन्देश सार्बजनिक गरिरहेको जनाएको छ । राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा महत्वपूर्ण पर्यटकीय नगरको रुपमा परिचित पोखराको पर्यटन क्षेत्रमा आठ खर्ब बढीको लगानी भएको र पोखरामा संचालित विभिन्न पर्यटकीय प्रतिष्ठानमा करिब १५ हजारले रोजगारी पाएको बताइन्छ ।
नेपालीको घरआँगनमा भित्रिएको दशैं पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित एक कार्यक्रममा पोखरा होटल संघका पदाधिकारी एबम सदस्यहरुले आन्तरिक र बाह्य पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न पोखरेली संचारकर्मीसंग पनि आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेन–जी आन्दोलनका क्रममा पोखराका ६ वटा होटलमा क्षति पुगे पनि अरु सबै पर्यटकीय संरचना यथावत र सेवा दिने अवस्थामा रहेको जानकारी गराए । ‘हामीसँग एक हजार दुई सय होटलमा ४० हजार जनालाई सुताउन सकिने बेड छन्’, उनले भने– सयौं रेष्टुराँ पनि सेवाका लागि तत्पर छन्, पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन ।

संघका अध्यक्ष सुबेदीले काठमाडौ, चितवन र वुटवल लगायतका शहरबाट पोखरा जोडिने सडकहरु राम्रो र सुरक्षित अबस्थामा रहेको स्मरण गराउँदै काठमाडौंबाट पाँच घण्टाको समयमा नै सडकमार्गबाट पोखरा आउन सकिने बताए । राति अवेर हवाई सेवा मार्फत् पोखरा पुग्ने चाहना राख्ने पर्यटकले समेत त्यस्तो सुविधा पाउने अवस्था रहेको कारण पनि पोखरा घुम्न आउन अन्य शहर भन्दा सहज रहेको उनको भनाई छ।
अध्यक्ष सुवेदीका अनुसार यो सिजनमा ७० देखि ८० प्रतिशतसम्म हुने होटलको अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको छ। सेप्टेम्बर महिनाको लागि गरिएको होटलको बुकिंग ४० प्रतिशत रद्द भए पनि अक्टोबरको बुकिंगमा भने समस्या नदेखिएको उनले बताए ।
सुवेदीका अनुसार अहिलेसम्मको प्रारम्भिक अनुमानले पोखराका ठुला ६ वटा होटलसहित मध्यम र सानास्तरका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी तथा पर्यटनसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जोडिएका व्यवसायमा पनि आन्दोलनको कारण असर परेको छ । आन्दोलनमा पोखराका होटल सहित पर्यटकीय प्रतिष्ठानमा तोडफोड, लुटपाट र आगजनीबाट साढे दुई अर्बको हाराहारीमा क्षति पुगेको छ ।
पर्यटकीय मौसमको मुखैमा आएर जेन–जी आन्दोलन हुँदा पर्यटन उद्योग नकारात्मक रुपमा प्रभावित भए पनि यो विस्तारै पुरानै लयमा फर्कने आसामा व्यवसायीहरु रहेका छन् । होटल संघका पुर्व अध्यक्ष हरि शर्मा गैरेले पोखरामा संचालित होटलसहित अन्य पर्यटकीय प्रतिष्ठान र सेवाहरुमा समेत व्यवसायीहरुले छुट दिएर पाहुनालाई स्वागत गर्न तयार रहेको बताए ।

अहिले चाडवाडको मौसम सुरु भएको र यो मौसममा नेपालका विभिन्न ठाउँबाट पाहुनाहरु पोखरा घुम्न आउनेमा आफूहरु आसावादी रहेको होटल संघका पुर्ब अध्यक्ष विप्लब पौडेलको भनाई छ। जेनजी पुस्ताको नाममा भएको आन्दोलनसंगै उत्पन्न विषम परिस्थितिको कारण तत्काल पोखराको पर्यटन शुन्यमा झरेको भएपनि पोखराको पर्यटन ब्यबसाय पुनः उठ्नेमा पौडेलले बिश्वास ब्यक्त गरे।
पोखरा महानगरपालिकाले आह्वान गरेको पोखरा भ्रमण वर्ष- २०२५ का संयोजक गोपीबहादुर भट्टराईले अहिलेको घटनाले अन्तरराष्ट्रियस्तरमा नै नकारात्मक सन्देश पुगेको भएपनि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए। बिदेशी राजदुताबास र कुटनीतिक नियोगले जारी गर्ने ट्राभल एडभाइजरीमा नेपाल सुरक्षित गन्तब्यको रुपमा उल्लेख गरिनुपर्ने उनको भनाई छ ।
‘केहि दिनयता पोखराबाट माछापुच्छ्रे हिमाल सहित अन्नपुर्ण हिमशृंखला पनि सेताम्मे हिउँले ढाकिएको र मुस्कुराइरहेको देखिएको छ। सुन्दर अनि शान्त फेवातालमा देखिने हिमालको छाँया र स्वच्छ पानीले पोखराको सुन्दरतामा स्वदेशी र बिदेशी पर्यटक रमाउन सक्ने अबस्था कायम छ।’ तर, पनि आन्दोलनपछिको केहि दिन पोखरा जस्तो पर्यटकीय सहर समेत सुनसान बन्न पुगेको भन्दै होटल संघ पोखराका पुर्ब अध्यक्ष एबम हालका केन्द्रीय सदस्य भरतराज पराजुलीले चिन्ता ब्यक्त गरे ।
तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो। तर यसपटक पोखराका पर्यटन ब्यबसायीले पर्यटकको प्रतीक्षामा समय बिताउनुपरेको छ । यसैबीच आन्तरिक र बाह्य पर्यटकहरुको लागि पोखरा सुरक्षित र आकर्षक गन्तब्य रहेको भन्दै होटल संघका अध्यक्ष सुबेदीले जारी गरेको भिडियो सन्देशमा अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको जानकारी दिइएको छ ।
“अहिले पोखराका हिमालहरु पनि खुल्न थालेको, पर्यटकहरु पदयात्रामा जानेआउने क्रम नरोकिएको र शान्तिसुरक्षा पनि पूर्ववत् अवस्थामा रहेकाले पोखरा भ्रमणका लागि संघले पाहुनालाई आग्रह गरेको हो । पोखरा जिवित र चलायमान शहर भएको बताउँदै होटल, रेष्टुराँ र अन्य पर्यटकीय प्रतिष्ठानहरु सेवाका लागि आतुर रहेको सन्देश जारी गरेका छन् । पोखरा निकै सुन्दर शहर रहेको ब्यबसायीहरुले जारी गरेका भिडियो अपिलमा उल्लेख छ उनीहरुले आंफ्नो अपिलमा पोखराको प्राकृतिक सुन्दरता, हरियाली र खुलेका हिमाल मुनी घुम्न र रमाउन आउनका लागि पाहुनालाई आग्रह गरेका छन ।














