पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा गरिएको आगजनीको कारण काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ । आन्दोलनकारीहरुले मुलुकको बिभिन्न शहरहरुमा संचालित भाटभटेनीका ३२ वटा स्टोरहरु मध्ये २२ वटामा लुटपाट र आगजनी गरेका थिए।
बौद्धमा भेटिएका ६ वटा शब् र यस अगाडी धरानको भाटभटेनीमा पनि आगोले जलेको अबस्थामा चार जनाको शब् भेटिएको थियो जसका कारण भाटभटेनीमा मात्र जलेर मृत्यु हुनेको संख्या १० पुगिसकेको छ। यो संख्या अन्य स्टोरहरुमा समेत खोज्दै जाँदा थप हुन सक्ने अनुमान गरिएको छ ।
बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बिभिन्न संचारमाध्यमलाई जानकारी दिएका छन । भेटिएका शवहरु पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
यस अगाडी धरानस्थित भाटभटेनी सुपर मार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चारजनाको जलेर मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार उनीहरू आगजनी र चोरीका लागि भित्र पसेका थिए।
प्रहरीका अनुसार मृतकहरूको शव खरानीजस्तै अवस्थामा फेला परेको थियो उनिहरुको शरीरका केही अङ्गमात्र भेटिएको प्रहरीले जनाएको थियो। आन्दोलनका क्रममा केही व्यक्तिहरूले बन्द रहेको भाटभटेनीको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेका थिए।















