Play

घरमा आगजनीपछि ब्यबसायी थापाको प्रतिक्रिया- पैंतीस बर्ष देखिको मेहनत र पसिना खरानी बनाइदिए

गुरुकुल खबर


पोखरा, पोखरामा रहेर अटोमोबाइल, रियलस्टेट लगायतका ब्यबसायमा संलग्न युवा ब्यबसायी ध्रुब थापाले आंफुले अहिलेसम्म कुनै गलत कार्य गरेको अनुभूति नभएको बताउंदै आफ्नो घर जल्दा मन पनि जल्नेरहेछ भन्दै पिडायुक्त प्रतिक्रिया दिएका छन जेनजी पुस्ताको नाममा भएको आन्दोलनको क्रममा ब्यबसयी थापाको पोखराको नयाँबजारस्थित आधुनिक भवन पनि आन्दोलनकारीहरुले तोडफोड, लुटपाट र आगजनीको निशाना बनाए

घरमा मानिस रहेको जानकारी हुँदाहुँदै आगो लगाइएको कारण एक जना महिलाको त्यहीं जलेर मृत्यु हुनपुग्यो  थापा र उनकी श्रीमती मिलन थापा सहित उनको परिवारले उद्यमशीलता, सामाजिक सेवा र मानवतावादी योगदानको क्षेत्रमा राम्रो पहिचान बनाएको भएपनि उनीहरुको निजि सम्पति माथि गरिएको आगजनीलाई लिएर धेरैले दुख ब्यक्त गरेका छन

यो घटनालाई केहीले दाजु बिन्दु थापासँग जोडेर राजनीतिक रंग दिन खोजेकोमा उनि असन्तुष्ट देखिन्छन्। ‘दाजु व्यवसायमै सफल भएर राजनीतिमा लाग्नुभयो। उहाँलाई फेक आइडीमार्फत बदनाम गर्न खोजिएको छ, तर त्यो कपोलकल्पित प्रचार मात्र हो,’उनले भने। उनका अनुसार परिवारको इतिहास नै सामाजिक योगदान र स्वच्छ छविसँग जोडिएको छ। ‘दाजुले सांसद र मन्त्री हुँदा समेत सम्पूर्ण तलब–भत्ता सामाजिक कार्यमै डोनेसन गर्दै आउनुभएको छ,’उनले भनेका छन। ध्रुब थापा र उनकी श्रीमती मिलन थापा लामो समयदेखि लायन्समा क्रियाशील रहेर मल्टिपल काउन्सिल चेयरपर्सन समेत बनिसकेको छन

ब्यबसायी थापाले आफ्नो सामाजिक संजालमा व्यक्त गरेको भनाई ..

म कुनै राजनीतिक मान्छे थिइन। न कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ। कति आरोह अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो। आफूले मात्रै उद्यम व्यवसाय गरिन् अरु धेरैलाई पनि सिकाएं।नेपालमै उद्यम गर्नुपर्छ। नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु। आफूले उद्धम व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु। युवा उमेर देखि नै सामाजिक र मानवीय सेवामा लागिरहेको छु। म मात्र होइन हामी हामी दम्पति नै लागिरहेका छौं।

२०७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरु आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निशुल्क प्रदान गर्यौ। जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्याइरहेका छन्। हामी दम्पतिले विभिन्न सामाजिक संघसंस्थाहरू मार्फत पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौं।

आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाईदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन। जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए।

सम्पत्ति घर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडा भन्दा पनि धेरै पीडा हाम्रो परिवार कै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ। घटना हुनु केही क्षण अघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विवत्स घटना व्यहोर्नु परेको छ। घरमा मान्छे छन भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम GenZ ले गरेका हुन् वा त्यहाँ भित्र अरु नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ति क्रुर अपराधीहरु भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन।

अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ। दाई राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो। के राजनीति गर्नु नै अपराध हो? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रुपमा चिनिनुहुन्थ्यो। अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरुले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ। उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो। हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा।

एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ। यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ। उनीहरूकै सन्तान हौं हामी। यसैले हामीलाई यो देशको अझ बढी माया छ। मेरो दाजुले पनि विगत देखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ। उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये मध्ये एक हुनुहुन्छ। जसले आफूसँग भएको सम्पूर्ण चल अचल सम्पत्ति पारदर्शिताका साथ सबै जनताका सामु राखिदिनुभएको छ। भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गर्थ्यो होला र?

यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरु प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ।

२९ भाद्र २०८२, आईतवार १०:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा