Play

जेनजीको पोखरा आन्दोलन: काठमाडौँको प्रदर्शनमा गोलि चलेपछि पोखरामा जेनजी टोलि उत्तेजित

पोखरामा मुख्यमन्त्री कार्यालयमा तोडफोड र अगाडिको सडकमा रहेको सरकारी गाडीमा तोडफोड


गुरुकुल खबर


पोखरा, सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार दिउँसो पोखरामा शान्तिपूर्ण तरिकाले प्रदर्शन भैरहेकोमा एकाएक पोखराको प्रदर्शनले पनि उग्र रुप लिन पुग्यो । काठमाडौंमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गएको खबर आइपुगेपछि एकाएक भीडमा आक्रोश मिसियो । जेनजीले प्रहरीतिर ढुंगा हान्न थाले । प्रहरीले अश्रुग्याँस र गोली बर्साउन थाल्यो । जसका कारण पोखरामा पनि प्रहरीको गोलि लागेर केहि घाइते हुन पुगे ।

प्रहरीसंगको झडप पछि भाग्दैगरेका १८ बर्षिय समिप शर्मासँगै रहेका १८ वर्षीय दिवस घर्तीमगरलाई प्रहरीको गोली लाग्यो र सडकमै ढले । रगताम्य भइ ढलेका दिवसलाई उपचारका लागि अस्पताल पुर्‍याइयो तर समीपलाई भने आफैं ढलेझैं लागिरहेको छ । दिवसको स्वास्थ्य अवस्था के हुन्छ अहिले नै यसै भन्न सकिने स्थिति नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्वतस्फूर्त पहिलो पटक सडक आन्दोलनमा निस्किएका जेनजी पुस्ताका युवालाई काठमाडौंमा प्रहरीको गोलीले धमाधम ज्यान लिन थालेपछि पोखरामा प्रदर्शनमा उत्रिएकाहरुमा पनि एकसाथ पीडा र आक्रोस थपिएको थियो । ‘सँगैको साथी प्रहरीको गोलीले ढल्यो । जेनजीले गरेको पहिलो आन्दोलनको पहिलो दिनमै १८ जनाभन्दा धेरैले ज्यान गुमाइसके । ‘यो पुस्ताका लागि सरकारले दिएको योभन्दा ठूलो पीडा र जवाफ अर्को हुन सक्दैन,’ समीपले भने, ‘सरकारको गोलीले साथीहरूलाई मार्‍यो, हाम्रो भविष्यको आशा र सपना पनि मार्‍यो ।’

पोखराको सभागृह, चिप्लेढुंगा, रत्नचोक, शहीदचोकसम्म सडकमा विरोध प्रदर्शन चलिरहेको थियो । जब काठमाडौंमा जेनजीको आन्दोलनमा प्रहरीले अत्यधिक दमन गर्न थाल्यो, त्यसपछि पोखरामा पनि विरोध प्रदर्शन उग्र हुन पुग्यो । प्रहरीले अश्रुग्याँस र गोली वर्षाउँदै प्रदर्शनकारीलाई लखेट्न खोज्यो । जेनजीले गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चारैतिरबाट घेराउ समेत गरे । मुख्यमन्त्री कार्यालयका सीसाहरू फुटे । सरकारी गाडीमाथि तोडफोड भयो । प्रहरीले अश्रुग्याँस र गोली हान्न थाल्यो । मुख्यमन्त्री कार्यालय नजिकै २८ वर्षीय विनेश गुरुङ गोली लाग्यो र उपचारका लागि उपस्ताल लगियो ।

पछिल्लो पुस्ता (जेनजी)को आवाजलाई सरकारले सुन्ने छ र भन्ने छ, ‘हाम्रो देश र हाम्रा भावी सन्ततीको मागप्रति सरकार जिम्मेवार छ, त्यो पूरा गर्न हामि प्रतिबद्ध छौ ।’ तर, सोमबार एकाएक नसोचेको घटना हुन पुग्यो । प्रहरी र जेनजी पुस्ताका युवाहरु आमने–सामने भए ।

प्रहरीले पोखरामा मात्रै २ सय सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको र ५ जनाभन्दा बढीलाई त गोली नै लागेको छ । प्रहरीको गोली लागेर जिल्ला प्रशासन कार्यालय कास्कीमा राष्ट्रिय परिचय पत्र बनाउन जाँदै गरेका रेशम शर्मा समेत घाइते भए । मासबारतिरबाट मुख्यमन्त्री कार्यालय रहेको सडक हुँदै जिल्ला प्रशासन कार्यालय पुग्ने सडक छिर्नै लाग्दा उनीमाथि गोली लाग्यो र सडकमा ढले । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अप्रेसन गरेर गोली निकालिएको अस्पतालले जनाएको छ । जापान जाने तयारीसहित श्रीमतीसँगै राष्ट्रिय परिचय पत्र बनाउन हिँडेका शर्मा मृत्युको मुखबाट बँच्दै अहिले अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

१८ वर्षीय सन्देश विक पोखरामा १२ कक्षामा पढ्दै छन् । अहिलेको राजनीतिक, राजनीतिक दलका नेता, कसैले रातदिन दु:ख गर्दा पनि खान नपुग्ने तर नेताका छोराछोरी भने देशविदेशमा मोजमस्ती गर्न कसरी पुग्छ ? भन्ने प्रश्न उनको मनमा उब्जिरहन्थ्यो । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि यसको विरोधसँगै भ्रस्टाचारको विरुद्ध पनि आफ्नो पुस्ताले आन्दोलन गर्ने भएपछि उनी उत्साही हुँदै सडकमा निस्किएका थिए ।

‘हामी देखाउन र सुनाउन चाहन्थ्यौं, हाम्रो पुस्ताले कसरी आफ्नो कुरा राख्छ, के चाहिरहेको छ भन्ने । त्यसैले बिहान झरीको प्रवाह पनि नगरी आन्दोलनमा आयौं तर बिस्तारै नसोचेको घटना घट्यो, सरकार त हाम्रौ गला निमोठ्न लागि पर्‍यो,’ भावुक हुँदै सन्देशले भने, ‘यो कस्तो देश हो, जहाँ आफ्नो कुरा राख्दा गोली खाएर नाती पुस्ताले ज्यान गुमाउनुपर्छ ? सरकारले नाती पुस्तालाई उपहारमा गोली दिएको छ, यो हाम्रो पुस्ताका लागि गहिरो चोट बनेर रहिरहने छ ।’

पोखरामा बिहानैदेखि घरी सिमसिमे त घरी बाक्लै पानी परिरहेको थियो । बिहान १० बजे पोखरामा सभागृहबाट जेनजीले विरोध गर्ने भन्दै स्वतस्फूर्त सामाजिक सञ्जालबाट आह्वान भएका थिए । १० बजेदेखि नै नेपालको झण्डा, विभिन्न प्लेकार्डसहित नयाँ पुस्ता उपस्थित भइसकेका थिए । सुरुमा सानो संख्याबाट सुरु भएको प्रदर्शनमा बिस्तारै विशाल बन्न पुगेको थियो ।

उनीहरूले अहिलेको राजनीति र नेताप्रति चर्को असन्तुष्टि व्यक्त गरिरहेका थिए भने सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारासमेत लगाएका थिए । जनआन्दोलनपछि स्वतस्फूर्त यति ठूलो संख्यामा सडकमा उत्रिएर प्रदर्शन भएको यो पहिलो पटक हो ।

यसअघि विभिन्न राजनीतिक दल, समूह, व्यापारिक प्रतिष्ठानहरूले आह्वान गर्ने गरेका थिए । यसपटक भने स्वतस्फूर्त रुपमा पोखरका विभिन्न स्कुल, कलेजबाट समेत पोशाकमै विद्यार्थीहरूको विरोधमा सहभागी भएका देखिन्थे । जेनजीको आन्दोलनबाट राजनीतिक लाभ नलिन आग्रह गर्दागर्दै पनि विभिन्न पार्टीका नेताहरू ऐक्यवद्धता जनाउँदै सहभागी भएका थिए र युवाहरूले उनीहरूलाई सचेत भने गराइरहेका थिए ।

शितल मौसमबाट सुरु भएको विरोध प्रदर्शनले पोखरा पनि दिनभर तात्यो । प्रशासनले चार किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा जारी गर्‍यो। प्रशासनले जेनजी प्रदर्शनका कारण महानगर क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको हो ।

पोखराको शहीदचोक आसपासका क्षेत्रमा पूर्वतर्फ वाईचोक, (उत्तरतर्फ मिलनचोक) पश्चिमतर्फ फिस्टेल गेट (वैदाम) उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्रबैंक चोक (दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालय अगाडि ड्यामसाइड) चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाका बीच पनि जेनजीले प्रदर्शन जारी राखे । काठमाडौंमा जेनजीको ज्यान जान थालेपछि प्रदर्शनकारीले सरकार र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरे । उनीहरूले ‘हाम्रो मुख थुन्न पाइँदैन, मान्छे मार्न पाइँदैन’ नारा लगाउँदै प्रहरी–प्रदर्शनकारीबीच घम्साघम्सी चलिरह्यो। ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ जस्ता नाराहरू उनीहरूले दिनभर घन्काइरहे ।

झरीसँगै पोखराको मौसम सेलाएको भए पनि जेनजी पुस्ताको मन भतभती पोलेको निकेश गिरी बताउँछन् । हिजोको पुस्ताले परिवर्तनका लागि गोली खाएकोहरूबाटै नाती पुस्तालाई गोली हानेकोमा उनमा आक्रोशमात्रै छैन, मनै मरेको छ । ‘गोली हिजोका दिनहरूमा पनि चले, आज पनि चले । गोली थाप्ने सधैं झोला बोक्नेहरू मात्रै भए । फरक यत्ति रह्यो कि हिजो झोला भित्र एम्बुस थिए, कम्युनिस्ट मेनिफेस्टो थिए, आज झोला भित्र सोसल, नेपालीका किताबहरू छन्,’ निकेशले भने, ‘विद्यालय पोशाकमा ठहरै पर्ने सानो बच्चो यो देशमा जन्मिएकै कारण मर्नु परेको हो ? यस्तो शासन के शासन, जसमा टिक्नकै लागी खुन चुस्नुपर्छ ?’

छातीमा देश प्रेम, झोलामा किताब बोकेर सिंहदरबार पुगेका लालाबालाहरूलाई यो सरकारले ठहरै पारेको उनको निष्कर्ष छ । ‘रातो मन पराउनेहरूले देश रगताम्य बनाउनुभयो,’ निकेशको आक्रोश छ, ‘सरकारलाई भन्नुपर्ने धेरै थोक छन्, तर निन्दाका शब्द बाहेक अरुभन्दा मलाई मेरो स्वाभिमानले धिक्कार्नेछ ।’ यसैबीच जेनजी आन्दोलनका संयोजक अमित खनालले रास्वपा र दुर्गा प्रसाईं समर्थकहरुको राजनीतिक प्रवेशले आन्दोलन हिन्साय्मक बनेको बताएका छन।

तस्बिर – अनलाइन खबर 

२३ भाद्र २०८२, सोमबार २२:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा