पोखरा, कोभिडले थला परेको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेसँगै व्यवसायलाई थप चलायमान बनाउन पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरु अन्तर प्रदेशस्तरीय पर्यटन प्रबर्द्दनमा जुटेका छन् । नेपाल पर्यटन बोर्ड गण्डकीको सहयोग एबम नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेशको भैरहवामा अन्तर प्रदेशस्तरीय पर्यटन प्रबर्द्दन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर दाहालको नेतृत्वको टोलि पर्यटन प्रबर्द्दनात्मक सम्बन्धि चारदिने कार्यक्रम लिएर नेपालगन्ज हुँदै लुम्बिनीको भैरहवा पुगेको थियो ।
नाट्टा गण्डकीद्धारा शनिबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश पर्यटन परिषद्का प्रमुख कार्यकारी अधिकृत रामु जोशीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी र पर्यटकीय क्षेत्र पोखराका पर्यटन व्यवसायीबीचको समन्वयमा स्वदेशी तथा विदेशी पर्यटक धेरैभन्दा धेरै भित्र्याउन सकिने बताए ।
भैरहवा नाकाबाट मात्र वार्षिक एक लाखको संख्यामा भारतीय धार्मिक पर्यटक नेपाल आउने गरेका र ती अधिकाशंको गन्तब्य पोखरा हुँदै मुक्तिनाथ रहेको तथ्याङले देखाएको जानकारी दिँदै पोखरेली पर्यटन व्यवसायीले भारतमा समेत पुगेर पोखराको पर्यटन प्रबर्द्दन गर्न आवश्यक देखिएको उनले बताए ।
पोखराका पर्यटन व्यवसायीले पोखरामा आउने पर्यटकलाई लुम्बिनीका पर्यटकीय गन्तन्यका बारेमा प्रचार र लुम्बिनीका व्यवसायीले पोखराका पर्यटकीय गन्तव्यको प्रचार गर्न सक्यौ भने पर्यटकको वसाई लम्बिने र सख्या पनि बढ्ने विश्वास व्यक्त गरे । उनले पर्यटकलाई स्वतन्त्ररुपमा आफ्ना गतिविधि गर्न दिने वातावरण सरकारले बनाउनुपर्नेमा समेत जोड दिए।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले भारतीय पर्यटकलाई सीमा नाकाबाट आउन सजिलो बनाउन केन्द्र सरकारले ध्यान दिनुपर्ने कुरा बताए। सरकार र पर्यटन व्यवसायीबीचको समन्वयमा पर्यटन प्रबर्द्दनात्मक कार्यक्रम लिएर अगाडि वढ्नुपर्ने उनको भनाई थियो ।
भैरहवा विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबुु तिवारीले पर्यटन प्रबर्द्दनमा टुर्स एण्ड ट्राभल कम्पनीको महत्व धेरै हुने भएकाले भारतसँगको कनेक्टिभिटी र पर्यटकिय गन्तव्यको प्रचारप्रसार गर्ने कार्यमा यी कम्पनी जागरुक हुनपर्ने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले दुई पर्यटकीय प्रदेशको पर्यटन प्रबर्द्दनमा व्यवसायी र सम्वद्ध संस्थाले पहल गरेमा देशको अर्थतन्त्र र पर्यटन विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । साथै उनले धार्मिक पर्यटकलाई लुम्बिनी र मुक्तिनाथसँग जोडन् पर्ने समेत बताए।
नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरिराम अधिकारीले देशको अर्थतन्त्र वृद्धि गर्ने मुख्य श्रोत पर्यटन, कृषि र ऊर्जा भएकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको बताए । लुम्बिनी र गण्डकी प्रदेश पर्यटकीय क्षेत्र भएकाले प्रदेश सरकारले यी क्षेत्रको बिकासमा बिशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
उक्त अबसरमा नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रवहादुर थापाले लुम्बिनी र गण्डकी प्रदेशको पर्यटन विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा भैरवहवाका पर्यटन व्यवसायी राजीव शाह, सागर अधिकारी, गणेशप्रसाद वेलवासी, नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष संगिता पौडेल, महासचिव चेतन कार्की लगायले पर्यटन विकासका बारेमा आआफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रमको अध्यक्षता नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले गरेका थिए
नाट्टा गण्डकीका द्धितीय उपाध्यक्ष राजेश पहारीको संयोजकत्वमा पोखराबाट त्यस तर्फ गएको २० सदस्यीय टोली चार दिने प्रबर्द्दनात्मक कार्यक्रम सकेर आइतबार पोखरा फर्किएको भ्रमण टोलीमा सहभागी पत्रकार ऋषिराम बरालले गुरुकुल खबरलाई जानकारी दिए ।















