पोखरा, पोखरामा चल्ने सार्बजनिक सवारी (बस) संचालकहरुको संस्था पोखरा यातायात प्रालिले हरेक बर्ष प्रदान गर्दै आएको सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार २०८२ बाट पोखराका पत्रकार एकराज गिरी सम्मानित भएका छन् । पोखरा यातायात प्रालिको सातौ वार्षिक साधारण सभामा गिरीलाई २५ हजार रुपैया र सम्मानपत्र सहित सम्मान गरिएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद गुरुङ, नेपाल पत्रकार पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल लगायतले गिरीलाई सम्मान गरेका हुन् ।
पोखरा यातायात प्रालिको सातौं वार्षिक साधारणसभाको अबसरमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक पौडेलले यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भए पनि सेवा दिइरहेको बताए । उनले पोखरा यातायात प्रालिले दूरदराजमा समेत यातायातको सुविधा दिइरहेको उल्लेख गरे ।
पोखरा- १६ का वडाध्यक्ष तथा पोखरा यातायात प्रालिका सल्लाहहार अमृत शर्मा तिमिल्सिनाले पोखरामा दुई सय पचास भन्दा बढी बस नचाहिने भएपनि हाल ८ सयभन्दा बढी बस संचालनमा रहेको भन्दै केही निकायको सहकार्यमा पोखराको यातायात व्यवस्थापनलाई ब्यबस्थित गर्ने तयारी भैरहेको उल्लेख गरे ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा नपार्दा व्यवसायीहरु समस्यामा परेको बताए । उनले यातायात व्यवसायीको पेशागत सुरक्षामा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा संस्थाका सल्लाहकार वसन्त प्रधान र बमबहादुर गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका संयोजक कृष्ण पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पत्रकार कमल पौडेल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष देवीराज थिङ लगायतले आआफ्नो भनाई राखेका थिए ।
सडक यातायात पत्रकारिता पुरस्कार पाउने गिरि पोखरा महानगरपालिका- २४ कास्कीकोटमा जन्मिएको र २०६० देखि पोखरामा रहेर पत्रकारिता गरिरहेका छन। गिरी हाल सफल न्युज डटकमको कार्यकारी सम्पादक छन् । प्रेस क्लब गण्डकी अध्यक्षसमेत रहेका गिरी खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष, प्रेस चौतारी कास्कीको पूर्वकोषाध्यक्ष, नेपाल पत्रकार महासंघ कास्की पूर्वसदस्य हुन् ।
गिरीलाई पुरस्कार प्रदान गर्न पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल संयोजक, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ र प्रबन्ध सञ्चालक देवीप्रसाद कुँइकेल सदस्य रहेको प्रतिभा छनोट समितिले सिफारिस गरेको बुझिएको छ । पत्रकार गिरीले पुरस्कारले आफूलाई उलर्जा र हौसला थप्नुका साथै पेशाप्रति थप जिम्मेवार बनाएको बताए ।
त्यस अबसरमा चालक जुनबहादुर गुरुङ, सहचालक रोशनकुमार गुरुङ, निरन्तर बस सञ्चालक सूर्यबहादुर गुरुङ, उत्कृष्ट कर्मचारी अर्चना थापा, उत्कृष्ट अंक ल्याउने बस सञ्चालकका छोराछोरीमध्ये सुमना थापामगर र क्रिसल पौडेललाई पनि सम्मान गरिएको थियो । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक देवीप्रसाद कुइकेल र कार्यक्रमको सञ्चालन कम्पनी सचिव जीवन पौडेलले गरेका थिए ।















