Play

बैदेशिक अध्ययनमा जान चाहने बिधार्थीलाई उपयोगी इक्यानको बृहत शैक्षिक मेला पोखरामा शुरु

बिधार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति


गुरुकुल खबर


पोखरा, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पोखरामा आयोजना गरेको आठौं बृहत् शैक्षिक मेला अर्थात आठौं इक्यान एजुकेसन फेयर’ शुक्रबारदेखि पोखरामा सुरु भएको छ।  इक्यानले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर मेला आयोजना गरेको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला भएको आयोजकको भनाइ छ । शनिबारसम्म चल्ने मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था र ब्रिटिस काउन्सिल सहित करिब ७० वटा स्टल राखिएका छन ।

इक्यान कास्कीले विद्यार्थीलाई आफ्नो बैदेशिक अध्ययनको लक्ष्य पूरा गर्न मेलाको कारण महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। दुई दिनसम्म सञ्चालन हुने मेलाले विद्यार्थी र अभिभावकलाई विदेश अध्ययनसम्बन्धी प्रत्यक्ष जानकारीका साथै भविष्यको योजना बनाउन सहयोग गर्ने बिश्वास ब्यक्त गरिएको छ। मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ ।

मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री बिन्दुकुमार थापाले यस किसिमका कार्यक्रमहरूले विद्यार्थीलाई भविष्य निर्माणमा के कस्तो निर्णय गर्ने भन्ने बिषयमा सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले शिक्षालाई समावेशी, व्यवसायमुखी र युवामैत्री बनाउन सरकारले निरन्तर पहल गरिरहेको भन्दै बिद्यार्थीहरुले बिदेशमा अध्ययन गरेपनि स्वदेशमा ज्ञान दिनुपर्नेमा जोड दिए ।

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले कोभिड महामारीका कारण केही वर्षदेखि स्थगित भएको मेलालाई निरन्तरता दिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले इक्यानका सदस्य संस्था र केन्द्रको सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘हाम्रो चाहना नेपाली विद्यार्थीले स्वदेशमै उच्च शिक्षा अध्ययन गरुन भन्ने नै हो । तर, धेरै विद्यार्थीहरू विदेशमा गएर आफ्नो भविष्य सुरक्षित गर्ने सोचमा छन् ।’ उनले विदेश जाने विद्यार्थीलाई सत्य, तथ्य परामर्श र अभिभावकीय भूमिका आवश्यक रहेको र विदेश जानुअघि त्यहाँको नीति नियम, भिसा प्रक्रिया र कलेजबारे पूर्ण जानकारी लिनुपर्ने भएकोले सोहि जानकारी दिन आँफुहरु लागिपरेका बताए ।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले यस अघि काठमाडौँमा मात्र सुरु भएका यस्ता गतिविधिहरू अहिले विभिन्न प्रदेश र जिल्लाहरूमा पनि भइरहेको बताए । गण्डकी प्रदेश सरकारले बनाएको निर्देशिकाका सम्बन्धमा बोल्दै उनले नीतिनियम बनाउने क्रममा सरोकारवालालाई राखेर छलफल गराए मात्रै कानुन बलियो हुने धारणा राखे ।

इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले काठमाडौंमा २९औं स्थापना दिवस मनाइरहँदा इक्यानले विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभई, उनीहरूलाई नेपालको विकासक्रममा फर्काउने प्रयास पनि गरेको बताए । उनले शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन बनाउनुपर्ने र नीति निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव दिए । उनले पोखरालाई शिक्षाको ‘हब’ बनाउन निजी क्षेत्र र परामर्श केन्द्रले सहयोग गर्न सक्ने पनि बताए ।

इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा पोखराको इक्यान मेला स्थापित भएको उल्लेख गरे । उनले भने, ‘फरक–फरक परामर्श केन्द्रमा धाउनुपर्ने परिस्थितिलाई दुई दिनको मेलाले सहयोग पुर्याउँछ ।’ व्यवसायीलाई प्रोत्साहन र गल्ती गर्नेलाई कारबाहीको व्यवस्था निर्देशिकामा समेटिनुपर्ने उनको भनाइ थियो ।

इक्यानका पूर्व केन्द्रीय अध्यक्ष दीपक गुरुङले इक्यानका सदस्य रहेका परामर्श केन्द्रबाट मात्र आवेदन दिन विद्यार्थीलाई आग्रह गर्दै कुनै समस्या परे इक्यान सहयोगी बन्ने बताए ।

इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती संस्थाबाट विश्वसनीय सेवा लिन सकिने बताए । ‘इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई अध्ययनपछि नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो, यद्यपि इक्यानले नेपाल फर्काउने अभियान पनि चलाइरहेको छ ।’

टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई भव्य बनाउन सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले उत्कृष्ट परामर्शदाताको उपस्थितिमा हुन लागेको मेलाबाट लाभ लिन विद्यार्थी, अभिभावक एवं अन्य सरोकारवालालाई आग्रह गरे ।
उद्घाटन समारोहमा मेला कार्यक्रमका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले स्वागत गर्दै मेलामा सहभागी हुने विद्यार्थीलाई ल्यापटप, ट्याब, मोबाइल, चलचित्र टिकट लगायत आकर्षक उपहार प्रदान गरिने जानकारी दिए। । कार्यक्रमको सञ्चालन इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले गरेका थिए ।

टाइम्स एजुकेशनल प्रस्तुतकर्ताको रूपमा रहेको यो मेलामा ब्रिटिस काउन्सिलले सहकार्य गरेको छ भने ग्रेस इन्टरनेशनल, चर्चिल इन्स्टिच्युट, मोनारो हायर एजुकेशन, द लायन इन्स्टिच्युट, सिड्नी स्कूल अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएसबिटी) लगायत संस्थाको सहभागिता छ। यसको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् ।

२० भाद्र २०८२, शुक्रबार १८:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा