पोखरा, पोखराको छोरेपाटन माविले २०३४ सालदेखि सञ्चालन गर्दै आएको पाताले छाँगो (डेभिज फल) लाई पोखरा महानगरपालिकाले ४० बर्षको लागि ठेक्कामा लगाउने भन्ने निर्णयपछि उत्पन्न बिबाद बढ्दै गएको छ । यस अगाडी २०८१ माघमा पनि स्थानीय सर्बसाधारणको चर्को बिरोधपछि महानगरमा बसेको सर्वपक्षीय बैठकले पाताले छाँगोको स्वामित्व महानगर आँफैले लिने निर्णय गरेको थियो । लामो समयलाई ठेक्का दिने महानगरको निर्णय विरुद्ध सरोकारवालाहरू बिरोधमा उत्रिंदै आएका थिए।
पोखरा महानगरपालिकाले २०७८ साउन १४ गतेको निर्णयबाट ४० वर्षका लागि उक्त छाँगो निजी क्षेत्रलाई जिम्मा दिने गरी सम्झौता गरेको छ । सेती क्यानोइंग प्रालिले उक्त स्थानमा सिसाको पुल निर्माण गर्ने र अन्य पर्यटकीय पूर्वाधार थप्ने गरी सम्झौता भएको हो । तर सम्झौताको समयावधि र परियोजना बाट प्राप्त हुने रोयल्टी निकै कम भएको भन्दै सरोकारवालाले बिरोध गर्दै आएका छन ।
तत्कालिन समयमा छोरेपाटन माविले पातले छाँगो स्कुलले नै चलाउनुपर्ने माग गर्दै आएको भएपनि महानगरपालिकाले माघ १ गते ताला लगाइदिएको थियो । उक्त तालामाथि स्कुलले पनि अर्को ताला लगाएका कारण पाताले छाँगो हेर्न गएका पर्यटक गेटबाटै फर्किन बाध्य भएका थिए ।
तत्कालिन समयमा आलोचना भएका क्षेत्रमा परियोजना सञ्चालनका लागि जिम्मेवार कम्पनी समेतको उपस्थितिमा व्यापक छलफल गरि अगाडि बढ्ने निर्णय भएको मेयर धनराज आचार्यले जानकारी दिएको भएपनि पाताले छाँगोको सम्बन्धमा भने सरोकारवालाहरुसंग कुनै छलफल नभएको र एकाएक सार्बजनिक सुनुवाईको कार्यक्रम आयोजना गरेको बताइएको छ ।
त्यसपछि बसेको सर्बपक्षिय बैठकले उक्त ताला समेत खोल्ने र महानगरले आफ्नै कर्मचारी राखेर प्रवेश शुल्क लिने निर्णय गरेको थियो। तर, केहि दिन अगाडी फेरी नगरपालिकाले आंफ्नो पुरानो निर्णय कार्यान्वयन गर्न भन्दै पाताले छाँगो ठेक्कामा लिएको सेती क्यानोईंग प्रालिलाई सार्बजनिक सुनुवाई गरेर काम अगाडी बढाउन निर्देशन दिएको थियो । सोहि अनुरुप सार्बजनिक सुनुवाईको लागि पुगेका महानगरर्पालिकाका प्रबक्ता मोती तिमिल्सिना सहित अन्य कर्मचारीहरुलाई स्थानीय सर्बसाधारणले फिर्ता पठाईदिएका थिए । उनीहरुले कार्यक्रमको ब्यानर समेत झिकेर कार्यक्रम अबरुद्ध पारेका थिए ।
स्थानीय बासिन्दा र सरोकारवालाहरुको विरोधका कारण हुन नसकेको सार्बजनिक सुनुवाई कार्यक्रम भदौ १९ गते बिहिबार पुन गर्ने कार्यक्रम तय गरिएकोमा यसपटक पनि झनै बिबाद बढ्ने देखिएको छ। विगतदेखि ‘निजि क्षेत्रलाई ४० बर्षको लागि कम मुल्यमा ठेक्कामा दिने निर्णय गलत भयो’ भन्दै बिरोधमा उत्रिएका स्थानीयलाई बिहिबार हुने सार्बजनिक सुनुवाई कार्यक्रममा पोखरा महानगरपालिका -४ का वडाध्यक्ष देबकृष्ण पराजुलीले समेत साथ दिने भएका छन ।
वडाध्यक्ष पराजुलीले चालिस/ चालिस बर्षको लागि निजि संस्थालाई पाताले छाँगो दिने भन्ने कुरा नै गलत रहेकोले आँफु सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागी भएर गलत कुराको बिरोध गर्ने र स्थानीयको पक्षमा उभिने बताएका छन। उनले गलत कुराको प्रतिबाद गर्न अन्य जनप्रतिनिधिहरुलाई समेत आग्रह गरेका छन ।
पराजुलीले गुरुकुल खबरलाई समेत प्रेषित गरेको र सामाजिक संजालमा लेखेको कुरा यस प्रकार छ, “पोखरा -१७ स्थित पातालेछाँगो चालिस / चालिस बर्षको लागि एउटा प्राईभेट संस्थालाई दिने कुरा नै गलत छ। तर पनि पोखरा महानगरपालिका किन एउटा ब्यक्तिको पछाडी हात धोएर लागेको छ ? सार्बजनिक सुनुवाइको नाममा गरिएको निमन्त्रणामा म उपस्थित हुनेछु । तर, स्थानीयको पक्षमा रहेर जनप्रतिनिधिले गलत कुराको प्रतिबाद गर्नैपर्छ र यो गलत कार्यको विरुद्धमा हामी उभिनैपर्छ। ”
पोखरा महानगरपालिका कार्यालयले कार्यपालिकाका सबै सदस्यहरु र बिभिन्न महाशाखाका सबै प्रमुखहरुलाई पोखरा महानगरपालिका वडा नं. १७ स्थित पातले छाँगोमा स्काईवाक तथा अन्य पूर्वाधार विकास सम्बन्धमा बिहिबार हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिको लागि भन्दै निर्देशानुसार अनुरोध गरेको छ।















