काठमाडौँ, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्बाचित भएकी छन् । समितिका सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त हुन पुगेको उक्त पदमा मंगलवार उम्मेदवारी दर्ता गर्नुपर्ने समय दिउँसो १ बजेदेखि ४ बजेसम्मको लागि तय भएकोमा न्यौपानेको मात्र उमेद्वारी दर्त भएकोले उनि निर्बिरोध निर्बाचित बनेकी हुन ।
उक्त समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर न्यौपानेले मात्रै उम्मेदवारी दर्ता गरेकी संघीय संसद् सचिवालयले जनाएको छ । न्यौपानेको उम्मेद्वारीमा प्रस्तावक बनेका खतिवडा यो भन्दा अघि समिति सभापति थिए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि खतिवडाले सभापति पदबाट गत साउन २८ गते राजीनामा दिएका थिए ।

उमेदवारी दर्ता गर्ने निर्धारित समयमा नेपाली काँग्रेसकी सांसद न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राइले जानकारी दिएका छन्। राज्य व्यवस्था समितिको बुधबार दिउँसो बस्ने बैठकमा न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा गरिने भएको छ ।
यस अगाडी नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक मंगलवार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो उक्त बैठकले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार न्यौपानेलाई बनाउने निर्णय गरेपछि न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)बाट राजीनामा दिएकी थिइन् ।
न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद् हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा पनि उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग उपसभामुखमा पराजित भएकी थिइन् । न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । २०७० सालको कार्यकालमा न्यौपाने कांग्रेसको सचेतक भएर पनि काम गरेकी थिइन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी न्यौपानेले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थिइन् ।















