काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । शनिबार रुपन्देही कारागारबाट भैरहवा विमानस्थल लगेपछि बुद्ध एयरको बिमानबाट उनलाई काठमाडौँ लागिएको थियो ।
काठमाडौँ विमानस्थलमा बाक्लो सुरक्षा घेराकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नक्खु कारागार लगिएको छ । विमानस्थल परिसरमा लामिछानेका समर्थक र संचारकर्मीहरु जम्मा भएको भएपनि उनलाई भने गोप्य मार्ग हुँदै विमानस्थलबाट बाहिर निकालिएको थियो ।

लामिछानेलाई विमानस्थलबाट आन्तरिक टर्मिनल हुँदै बाहिर निकाल्नुपर्नेमा अर्को गोप्य मार्ग अर्थात नेपाल आयल निगमको बाटो हुँदै बाहिर निकालिएको कारण विमानस्थलमा उपस्थित उनका समर्थकले देख्न समेत पाएनन। लामिछानेलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न प्रशासनले अरुलाई छक्याएर प्रहरीले गोप्य मार्ग अपनाएको बुझिएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा सहकारी ठगी प्रकरणमा गत चैत्र २५ गतेबाट रूपन्देही कारागार कार्यालयमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई शनिबार ललितपुरस्थित नख्खु कारागार सारिएको हो ।
लामिछानेलाई शनिबार दिउँसो ३ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने भनिए भएपनि मौसमका कारण केहि समय ढिलाइ भएको थियो । लामिछानेले गत जेठमा नै आँफुलाई काठमाडौँ उपत्यका भित्र सरुवा गरिदिन माग गरेको भएपनि उनले सरुवा मागेको करिब ४० दिन पछि मात्र रुपन्देहीबाट काठमाडौँ लागिएको हो ।
रास्वपाले रुपन्देहीमा केहि समय पछि हुने उपनिर्बाचनको बिषयलाई ध्यानमा राखेर नेकपा एमाले र नेपाली काँग्रेसका जिल्लास्तरिय नेताहरुको आग्रहमा रुपन्देहीबाट सरुवा गरिएको जनाएको छ।



















