सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलामा नेपाली सेनाबाट केहि समय अगाडी अबकास लिएका एक व्यक्तिले दाउराले प्रहार गरि श्रीमतीको हत्या गरेको छन। श्रीमतीको हत्या गरेपछि उनि आँफैले प्रहरीलाई फोन गरी आफूले हत्या गरेको जानकारी दिएका छन्।
शनिवार मध्यराति करिब १ बजे ४१ वर्षीया रविना ठाडाको हत्या भएको र हत्यामा संलग्न ४२ वर्षीय दानसिंह ठाडालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दानसिंहले प्रहरीलाई फोन गर्दै भने, ‘सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्।’ उनले आफैँले आफ्नो घरको ठेगाना समेत दिएको र तत्कालै प्रहरी चौकी करेखोलाबाट टोली पुगेर उनलाई आइतबार बिहान २ बजे पक्राउ गरेको थियो।
वीरेन्द्रनगर–१३ का वडाध्यक्ष दीपेन्द्रराज कोइरालाका अनुसार दानसिंहले प्रहरीलाई खबर गर्नु अघि आफूलाई समेत फोन गरेर प्रहरीको नम्बर मागेका थिए।
उनले भने, ‘राति मसँग पनि उसले नम्बर मागेको थियो। घर–परिवार सबैलाई फोन गरेको रहेछ। मान्छे चाहिँ इमान्दार हो। नेपाली सेनाबाट केही वर्षअघि मात्र रिटायर्ड भएको थियो।’
वडाध्यक्ष कोइरालाका अनुसार रविनालाई सुतेकै अवस्थामा दाउराले हानेर हत्या गरिएको देखिन्छ। दानसिंहले मादक पदार्थ सेवन छाडेको एक साता मात्र भएको जानकारी पनि उनले दिए।
हत्या घटनाका बेला घरमा श्रीमान्–श्रीमती मात्र थिए। उनीहरूका तीन छोरीमध्ये एक जापानमा छन्, दुई छोरीको बिहे भइसकेको छ भने छोरा दुबईमा रहेको प्रहरीले जनाएको छ।
रविनाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

















