पोखरा, पर्वतारोही मौरिस हर्जोगको सम्झनामा फ्रान्सेली कलाकार टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरमा सांगीतिक प्रस्तुती दिने भएका छन् । सोही सफलताको सम्झनामा फ्रान्सेली सांगीतिक टोली नेपाल आएको छ । उक्त टोली शुक्रबार पोखरा आइपुगेको छ ।
मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पोखरा आएको छ ।
टोलीलाई पोखरा विमानस्थलमा स्वागत गरिएको थियो । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि राज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य लगायतले उनिहरुलाई स्वागत गरेका थिए ।
अन्नपूर्ण हिमाल आरोहण दिवसको हिरक जयन्तीमा फ्रान्सेली कलाकार समूहले शुक्रबार पोखराको फेवाताल वाराहिघाट र आधार शिविरमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने टानका अध्यक्ष आचार्यले जानकारी दिए ।
मौरिस हर्जोग विश्वमै ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो फ्रान्सेली आरोही हुन् । सन् १९५० जुन ३ तारिखमा हर्जोग र लुइस लचेनले अन्नपूर्ण आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले पाएको सोही सफलताको सम्झनामा फ्रान्सेली कलाकार टोली अन्नपूर्ण अधार शिविर तर्फ जान लागेको बुझिएको छ ।