Play

पोखरेली महिला कलाकारले सुनाए ‘अरुणा लामा र तारादेबीका कालजयी गीत’

गुरुकुल खबर


पोखरा, नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीप्रति ट्रिब्यूट दिदै कालजयी गीतहरु गुञ्जाएका हुन् ।

कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु सुनाएर कार्यक्रम शुरु भएको थियो । त्यसपछि पोखरेली कलाकारहरुको साझा संस्था हार्मोनीमा आबद्ध कलाकारहरुले सामुहिक रुपमा देवी बन्दना गाएर सांगीतिक कार्यक्रम शुभारम्भ भएको थियो ।

लगत्तै देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदै सांगीतिक माहोल तताए । रजनी ऋदम राईले माया गर्नेहरुका लागि समर्पित ‘फूलै फूलको मौसम तिमीलाई’ गाउँदा होस् वा कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ गाउँदा दर्शक पुराना दिनहरु सम्झिएर नोस्टाल्जिक बने ।

पोखरामा रहेरपनि राष्ट्रिय स्तरमा चर्चित ईतु जोजिजूले उकाली ओरालीहरुमा’ गाउँदा होस् वा ईतुले आफ्‌ना श्रीमान रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाईरह्यो । अर्की पोखरेली गायीका सितल थापाले ‘सागुरी बारी नि है’ र सितलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मितु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा सांगीतिक महोल नै छुट्टै बनेको थियो ।

त्यसमा काठमाण्डौमा क्रियाशिल महिला गायिकाहरुको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष बरिष्ठ गायिका संगीता राना प्रधानले ‘फूललाई सोधें’ गीत गुञ्जाउँदा सांगीतक माहोल सुनमा सुगन्ध थपेझैं भएको थियो । सो अवसरमा बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिईन् । त्यस्तै पोखरेली कलाकारहरुले समूहगानतर्फ “यो मायालाई भरोसा छैन”, “हाम्रो साहेब” (माया प्रीति चलचित्रबाट), र “सुङावा जस्तो जीवन” (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाए ।

एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मा तमुको अध्यक्षतामा भएको कार्यक्रममा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले हरेक वर्ष स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको बताए ।

३० चैत्र २०८१, शनिबार २२:५१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा