Play

चिनको भ्रमण सकेर प्रम ओली स्वदेश फिर्ता, बीआरआई अन्तर्गतका परियोजना ऋणमा नभएको स्पष्टोक्ति

गुरुकुल खबर


काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी बिहिबार बिहान स्वदेश फर्किएका छन। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट नेपाल फर्किएको हो। प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका थिए । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री, ली छ्याङ, चिनियाँ राष्ट्रिय जनकाँग्रेस (संसद्का) अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणको तेस्रो दिन दुई देशबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपतिसँगको भेटका क्रममा राष्ट्रपति सीले नेपाललाई ५ सय मिलियन आरएमबी (करिब नौ अर्ब) अनुदान सहयोग घोषणा गरेका थिए ।

नेपाल फर्किएपछि चीन भ्रमणमा भएका विषयहरूको जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन समेत गरिएको थियो। पत्रकारहरु माझ  प्रधामन्त्री केपी शर्मा ओलीले  चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको प्रस्ट पारे ।

विआरआई अन्तर्गतका परियोजना ऋणका रूपमा लिने गरी हस्ताक्षर गरिएको छैन भन्दै प्रम ओलीले भने, ‘अस्ति मैले आमसभादेखि नै ऋण लिन जाने होइन भनेको थिएँ । ऋणबारे कुरा पनि चलेन । बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा छुट्टै छलफल गर्छौँ । हामीले प्राप्त गरेको कुरा ऋण होइन। कुरा चलेको पनि छैन’, ‘सधैँ किन ऋण, ऋण, यो सारङ्गी किन बजेका छ ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे

आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताए ।  त्यसक्रममा प्रधानमन्त्रीले पोखरा विमानस्थलका बारेमा कुनै कुरा नउठेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली गत साेमबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए।

२० मंसिर २०८१, बिहीबार १९:०४ मा प्रकाशित
Nabintech