पोखरा, सङ्गठित रूपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरण गरेको अभियोगसम्बन्धी मुद्दामा पक्राउ परेका रबि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ कास्की जिल्ला अदालतका न्यायाधिस भीमलाल बेलबासेको इजलासले लामिछाने सहित चारजनालाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
न्यायाधीश बेल्बासेले रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाइलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आइतबार अनुमति दिएको हो । अदालतले कास्की प्रहरीको मागअनुसार पक्राउ परेका केही प्रतिवादीहरूको हकमा बयान कार्य बाँकी रहेको, बयान गरेका प्रतिवादीको हकमा थप प्रमाण खुली आएको तथ्यमा पूरक बयान बाँकी रहेको, हस्ताक्षर परीक्षण गर्न पठाएकोमा प्रतिवेदन प्राप्त हुन बाँकी रहेको र प्रतिवादीहरूको कारोबार रहेको घरजग्गा खरिद बिक्रीको लिखत प्रमाण प्राप्त हुन बाँकी रहेकाले म्याद थपिएको जनाएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ ।