Play

जागरणसभाको नाममा एमालेको शक्ति प्रदर्शन, बिआरआई सम्बन्धमा कांग्रेसकै बाटोमा प्रम ओली

रास्वपा, दुर्गा प्रसाईं र कुलमान प्रति आक्रोश, कांग्रेस र देउबालाई विश्वासमा लिईरहने प्रयासमा ओली


गुरुकुल खबर


काठमाडौँ, सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टी बिरुद्द विभिन्न व्यक्ति वा दलले भ्रम फैलाएको भन्दै त्यसबारेमा स्पष्ट पार्न काठमाडौँमा जागरण सभा सम्पन्न गरेको छ। बिशेष गरि रास्वपा र दुर्गा प्रसाईं लगाएतले एमालेमाथि र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीमाथि विभिन्न आरोपहरु सार्बजनिक रुपमा लगाएपछि त्यसको प्रतिबाद गर्ने उद्धेश्यले एमालेले जागरण सभाको नाममा शक्ति प्रदर्शन गरेको हो । शुक्रबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडी जागरण सभाका नाममा गरिएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित विभिन्न जिल्लाबाट एमाले नेता कार्यकर्ताहरु सहभागी बनेका थिए । मुलुकका विभिन्न जिल्ला बाट एमालेका विभिन्न जनबर्गीय संगठनको नाममा कार्यकर्ताहरु काठमाडौँमा उतारिएको थियो ।

दरबारमार्गको सडक अबरुद्द गरेर आयोजना गरिएको उक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो नेतृत्वको सरकारमाथि लागेको विभिन्न आरोपहरूको खण्डन मात्रै गरेनन् समाजमा अराजकता मच्चाउने, सामाजिक सद्भाव र विद्वेष फैलाउने तथा जनतालाई भ्रममा पार्ने प्रयास भैरहेपनि जनता भ्रममा नरहने दाबि गरे ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियाको टेलीकममा ३२ अर्ब बढी लगानी गरेको भनेर लगाएको आरोपलाई फाल्तु कुराको संज्ञा दिंदै ओलीले भने, ‘२१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरू गरेर केही हुनेछैन’, उनले देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरू प्रचार गरिएको दाबि गरे। आक्रोशित ओलीले सम्बोधन गर्दै भने, “त्योमात्रै किन अमेरिकाका बैंकको आधा सम्पत्ति मेरो हो । भन्नलाई भनेर मात्रै हुन्छ र ?”

‘हामी सुन्छौ कहिले बैङ्कको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ । बैङ्कको ऋण लिएपछि तिर्नुपर्दैन ?’, प्रसाईं र उनको अभियानप्रति लक्षित गर्दै ओलीले भने, ‘तिर्नुपर्दैन भनेर कराएर हिँड्छ किनभने देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालब्याल, अस्तव्यस्त र ध्वस्त बनाउन ।’ जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ भन्ने जनतालाई थाहा भएको तर्क पेस गरे । ‘कम्बोडिया भन्ने देश त्यहीँ छ चार घण्टाभित्र फ्लाइटमा पुगिन्छ यहाँबाट बैंकक, त्यहाँबाट ४५–५५ मिनेटमा पुगिन्छ, त्यहीँ छ’, ओलीले आरोपको खण्डन गर्दै भने, ‘त्यहाँको टेलिकममा क–कसको लगानी छ भन्ने नयाँ कुरा, थाहा पाउन नसकिने अनौठो कुरा हो र ?’

आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान र रास्वपालक्षित टिप्पणी पनि गरे ।  ‘केही उद्योग चलिरहेका छन् भने ती उद्योगको पनि लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ–विद्युत् महसुल आयोगले जे भनेको छ टिओडीअनुसार बक्यौता उठाऊ’, ओलीले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्णयको प्रतिवाद गरे ।

कुलमानपछि ओलीले रास्वपाको गतिविधिप्रति पनि असन्तुष्टि जनाए । भने, ‘पोल्टिक्स नगर्ने, नीति अघि सार्न नसक्ने तर गाली गर्ने, मुख छाड्ने अनि अपशब्द बोल्ने कुरा सरकारलाई सैह्य हुँदैन ।’ ‘आफैँ सहकारी ठगी गर्ने अरूलाई मुख छाड्ने? गाली गर्ने ? कुनै पनि प्रकारको भ्रष्टाचार, ठगी र मानव तस्करी सैह्य हुनेछैन । अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन कारबाही गर्छ’, ओलीको चेतावनी छ ।

प्रधानमन्त्री ओलीले बर्तमान सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी समेत गरे । ‘अहिलेको सरकारलाई कसैले हल्लाउन सक्ने छैन, किनभने अहिले हामी कुनै कमिसनखोरी गर्न, भ्रष्टाचार गर्न, आफ्ना मानिस भर्ती गर्नका लागि सरकारमा गएका होइनौ’, ओलीले प्रश्न गर्दै भने, ‘म विभिन्न पार्टीका नेता साथीहरूलाई भन्न चाहन्छु । तपाईंहरु नेकपा एमालेतिर औँलो ठड्याएर बोलिरहनुभएका छ ? के तपाईंहरु साँच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँग ? तथ्यसहित बहस गर्न सक्नुहुन्छ ?’

यसअघि सरकार दसैँ, तिहार, मङ्सिर टिक्दैन भनेर हल्ला फैलाएको र अहिले फागुन नकट्ने भनेर भइरहेका प्रचारमा कुनै सत्यता नभएको भन्दै वर्तमान गठबन्धन २०८४ को निर्वाचनसम्म रहने ठोकुवा गरे । उनले अब आफू १८ महिना र त्यसपछि शेरबहादुर देउवा १८ महिना प्रधानमन्त्री भएर सरकार चलाउने दोहोर्‍याए । ओलीले चतुर्‍याइँपूर्वक कांग्रेस र देउवालाई विश्वासमा लिने प्रयास निरन्तर जारी राखे। “कान खोलेर सुने हुन्छ, सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”

आगामी मङ्सिर १७ गतेबाट हुने आफ्नो चिन भ्रमणको बारेमा चर्चा गर्दै प्रधानमन्त्री ओलीले आफू चीन त्यसै घुम्न जान नलागेको भन्दै भ्रमण सफल हुने बताए । ओलीको चीन भ्रमणको चर्चासँगै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे भइरहेका चर्चालाई चिर्दै ओलीले उक्त परियोजना अनुदान अन्तर्गत कार्यान्वयन गर्न सकिने तर ऋण लिने नसकिने प्रस्ट पारे ।  सत्तारुढ कांग्रेसले बीआरआईअन्तर्गतका परियोजना निम्ति चीनसँग अनुदान भए लिने तर ऋणमा नलिने अडान लिइरहेका बेला ओलीले सार्वजनिक मञ्चबाट भने– ऋण लिएर थुपार्ने अवस्था छैन ।

चीनको भ्रमण सफल हुने बताउँदै कार्यकर्तालाई थम्थम्याउँदै उनले भने– १७ गतेबाट चीन जाँदैछु । भ्रमण सफल हुँदैछ । फर्किएपछि थाहा पाउनुहुनेछ कसरी सफल भयो ? यसो घुमेर आउँ भनेर जान लागेको होइन ।”  उनले भने, ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौ । अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन । तर हामीले उत्पादन बढाउनुपर्छ । आफैँले उन्नति गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भारतले नपत्याएर चीन जान लागेको भनेर गरिएका टिप्पणीलाई ‘वाहियात र कायर’को संज्ञा दिए ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले करिब ३० मिनेट सम्बोधन गरे । पोखरेलले आफ्नो सम्बोधनको अधिकांश समय एमाले नेतृत्वका सरकारले गर्न खोजेका कामको चर्चा र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको बचाउमा खर्चिए । यती, ओम्नी, गिरीबन्धुलगायतका प्रकरणमा एमाले चोखो रहेको तर्क गरेका पोखरेलले रेल, पानी जहाज र नेपाललाई सुरुङ युगमा प्रवेश गराउने एमाले र एमाले नेतृत्वमाथि चौतर्फी प्रहार गर्ने षड्यन्त्रलाई परास्त पार्नुपर्ने आवश्यकतामा जोड दिए ।

काठमाडौँमा एमालेले शुक्रबार आयोजना गरेको जागरण सभालाई कतिपयले एमालेले सडकमा देखाएको रमिताको संज्ञा पनि दिएका छन ! सरकारको नेतृत्व गर्ने पार्टीले सडकमा शक्ति प्रदर्शन गर्नुको उद्देश्य के हो ? त्यो शक्ति कसलाई देखाउन खोजेको हो ? गतिलो जवाफ नेतृत्ववृत्तले आमसभामा दिन नसकेको कारण पनि एमालेको यो कार्यक्रमलाई कतिपयले रमिताको संज्ञा दिएको हुन।

प्रतिपक्षमा रहँदा सडकदेखि सदनसम्म चर्का नारा लगाउने एमालेले सरकारको नेतृत्व गर्दा समेत सडकमा शक्ति प्रदर्शन गर्नु, काठमाडौंको मुख्य चोकमा चारैतिर सडक थुनेर नागरिकलाई दिनभर सास्ती दिनु राम्रो नभएको आम सर्बसाधारणको भनाई छ।

शक्ति प्रदर्शनको मूलभूत उद्देश्य सरकारले पक्राउ गरेका व्यक्तिका ‘कर्तुत’को खण्डन गर्नू रहेको देखियो । सभामा एमालेका दुई शीर्ष नेता महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे । सम्बोधनको क्रममा ओलीले बर्तमान सरकारले आमनागरिकलाई आशा र उत्साह भर्ने अभिव्यक्ति दिनुपर्नेमा त्यस्तो नभएको टिप्पणी सर्बसाधारणको रहेको छ अर्थात् गठबन्धन सरकारले ०८४ सम्म मुलुकको आर्थिक अवस्था, सामाजिक अवस्थामा यसरी सुधार गर्नेछ भन्ने अपेक्षा राखेका समर्थक पनि निराश भए । नागरिकलाई आशा जगाउने सवालमा न त पार्टीका महासचिवले धारणा राखे न त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले।

एमालेले सभाको आयोजना दुईवटा सन्देश मात्र दिएको अनुमान धेरैको रह्यो । एउटा हो– एमाले कमजोर छैन । कुनै पनि पार्टीले जति सडकमा आफ्ना कार्यकर्ता उतार्न सक्छ भन्ने र अर्को सन्देश एमालेको विरोध गर्नेलाई कुनै पनि स्थान रहने छैन ।

केही दिनअघि माओवादी केन्द्रले सडकमा यसैगरी नागरिक उतारेर सरकारलाई खबरदारी गरेको थियो भने आफ्ना सभापति पक्राउको विरोधमा रास्वपाले पनि करिब एक महिना सडक प्रदर्शन गर्‍यो । तर रास्वपाले जनतालाई सडकमा उतार्न सकेन, कार्यकर्ता मात्रै आएपछि थाक्यो ।

७ मंसिर २०८१, शुक्रबार २३:१३ मा प्रकाशित
Nabintech