Play

डेंगु संक्रमणले पोखरामा महामारीको रुप लिंदै, कम्तिमा तिन जनाको मृत्यु

स्थानीय र प्रदेश सरकारको काम प्रति आमसर्बसाधारणको प्रश्न- सरकारमा बस्नेहरुको समय कसरि बित्छ ?


गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशको राजधानी पोखरामा डेंगुको संक्रमण अप्रत्याशित रुपमा बढेको छ। एक महिना अगाडी करिब सात सय जनामा डेंगु संक्रमण देखिएकोमा असोजको पहिलो साता त्यो संख्या बढेर करिब चार हजार पांच सय पुगेको छ भने कम्तिमा तिन जनाको मृत्यु समेत भैसकेको छ।

वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता बढ्ने खतरा हुन्छ। डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा जमेको पानीमा फुल पार्ने र लार्भा जन्माउने काम उक्त प्रजातीको लामखुट्टेले गर्ने गर्दछ।

बिशेष गरि चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको बताईन्छ । यस किसिमको लामखुट्टेले दिनमा मात्र मानिसलाई तोक्ने र डेंगु संक्रमण हुने जानकारहरु बताउछन्।  डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउनुपर्ने तर जथाभावी औषधि सेवन गर्न भने नहुने स्वास्थ्यकर्मीको  सुझाव छ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार डेंगु रोगको संक्रमण एक महिनाको अबधिमा ६ गुणा भन्दा बढी देखिएको छ।  कात्तिक महिनासम्म पनि डेंगु सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने सम्भावना रहेको पोखरा महानगरका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए ।

उनका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएकोमा पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला,  वडा न. १२ का ४० वर्षीय पुरुष र वडा न. १० का ८० वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको पुष्टि भएको छ । यसका साथै अन्य केहीको डेंगुको कारण मृत्यु भएको अनुमान गरिएपनि पुष्टि हुन नसकेको कतिपयको भनाई छ।

पोखरा महानगरपालिका क्षेत्र भित्र बिशेष गरि वडा न. ५, वडा न. ८ र ७ बढी प्रभावित रहेको मानिएपनि केहि दिन यता  महानगरका अन्य वडा पनि त्यत्तिकै प्रभावित बनेका छन ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीले असारदेखि कात्तिक महिनासम्म डेङ्गीको सङ्क्रमण बढी फैलने बताए । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रुप लिनसक्ने देखिएको बताउंदै उनले  डेंगुलाई सामान्य रुपले नलिन समेत आग्रह गरे। यसका अप्रिय उदाहरण हामीसँग छन । उनले भने, “डेंगु भइसकेपछि धेरै पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्यु समेत हुनसक्छ ।”

डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने भएपनि राज्यका निकाय अझ बढी जिम्मेवार बन्नुपर्नेमा अझैसम्म राज्यका निकाय डेंगु नियन्त्रण अभियानमा प्रभावकारी बन्न सकेका छैनन। डेंगुबाट आमसर्बसाधारण मृत्युको मुखमा पुग्दा समेत तिन तहका सरकार अझै सम्बेदनशील बन्न नसकेको गुनासो सर्बसाधारणले गरेका छन।

डेंगुको संक्रमणका कारण आमा छोरा नै बिरामी भएर स्थानीय मेट्रोसिटि अस्पतालमा उपचारको लागि पुगेकी बिष्णु तामांगले दुई दिनको अबधिमा नै ३५ हजार रुपैया भन्दा बढी उपचारमा खर्च गर्नुपरेको भन्दै पिडा पोखिन । सामान्य काम गरेर जीविकोपार्जन गर्दै आएकी तामांगको अनुसार अस्पतालले विभिन्न जांच र औषधीको नाममा धेरै पैसा अशुल गरेको महशुस गरिन।

पोखरा -७ का बिष्णु प्रसाद पौडेल र पुष्पराज पौडेल डेंगुको संक्रमणका कारण अस्पतालमा उपचारार्थ भर्ना भएका छन पुष्प भन्छन- डेंगुको महामारीले बिकराल रुप लिएपनि यसको रोकथाम वा नियन्त्रणको बारेमा सरकारको कुनै तहले पनि प्रभावकारी ढंगले काम गरेको अनुभूति हुन सकेन। बिष्णु भने स्वास्थ्यमा असहज स्थिति उत्पन्न भएपछि मणिपालमा भर्ना भएर उपचार गराइरहेका छन।

डेंगुको संक्रमणका कारण सृजनाचोक स्थित मेट्रोसिटि अस्पतालमा भर्ना भएकी जमुना तिमिल्सिनाका अनुसार अस्पतालमा डेंगुका बिरामीको चाप निकै बढेको छ। डेंगुको खास उपचार नहुने भनिएपनि उच्च ज्वरो, शरीर दुखाई, पखाला, बान्ता, नाकबाट रगत आउने र थकाई ज्यादा लाग्ने जस्ता लक्षण देखिएपछि मानिसहरु उपचारको लागि जाने भएकोले अस्पतालमा समेत डेगुका बिरामीको चाप बढ्दै गएको हो।

उच्च ज्वरोको कारण सोहि अस्पतालमा उपचारार्थ भर्ना भएका भेषराज पराजुलीले अस्पतालमा डेंगुका बिरामीको चाप धेरै रहेको र बिरामीको लागि राम्रो कोठा र बेड पाउन समेत मुस्किल पर्ने गरेको अनुभव सुनाए ।

मणिपाल अस्पतालमा कार्यरत डा. अनमोल पौडेलका अनुसार डेंगु संक्रमण भएको बिरामीले अन्य समयमा नियमित रुपमा लिनेगरेको औषधि सेवन गर्दा डाक्टरसंग सल्लाह लिनुपर्ने हुन्छ। बिरामीले नियमित रुपमा सेवन गर्ने एन्टीबायोटिक औषधिका कारण डेंगु भएको बेला स्वस्थ्यमा प्रतिकुल असर समेत पर्न सक्ने भएकोले डाक्टर संग परामर्श गरेर औषधि सेवन गर्नु उपयुक्त हुने डा. पौडेल बताउछन् ।

महाशाखाका जनस्वास्थ्य निरीक्षक रेग्मीले सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय भन्दा बढी हुन नदिने गरि डेंगु रोकथाम गर्ने लक्ष्य लिइएको भएपनि उक्त लक्ष्य पूरा गर्न महानगर असफल रहेको जानकारी दिए ।

“पछिल्लो एक महिनामा डेङ्गी सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ”, उनले भने, “प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।”

जनघनत्व बढी भएका ठाउँमा डेंगु छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो । सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख  नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगु रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताए ।

कास्कीमा हालसम्म चार हजार पाँच सय ५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकामा पोखरा महानगरपालिका बाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा नौ/नौजना र माछापुछ्रे गाउँपापलिकामा ३८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेंगुको संक्रमणले महामारीको जस्तो रुप लिएपनि स्थानीय र प्रदेश सरकारले गम्भीरता नदेखाएको भन्दै जनस्तरबाट समेत टिप्पणी शुरु हुन लागेको छ।

नेपाली काँग्रेसका नेता एबम महासमिति सदस्य देबराज चालिसेले सामाजिक संजाल फेसबुकमा काँग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार र काँग्रेसले नै जिताएको स्थानीय सरकार अर्थात पोखरा महानगरपालिका प्रति आक्रोश ब्यक्त गर्दै लेखेका छन। ” पोखरामा भदौको पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेछ । यो असक्षमताको लागि गण्डकि प्रदेश सरकार, पोखरा महानगरपालीकालाई वधाई दिनु पर्ने हो कि ?”

नेता चालिसेले वैशाख यता डेंगुको संभावित सक्रमण रोक्न प्रदेशको सम्वन्धित मन्त्रालय र महानगरले के कस्तो पूर्व तयारी गरेका थिए भन्ने कुरा सुन्न आतुर रहेको भन्दै सरकारको जिम्मेवारीमा रहेकाहरुको समय कसरी वित्छ हो ? भन्दै प्रश्न समेत गरेका छन

चालिसेको लेखाइमा केहिले प्रतिक्रिया दिंदै सरकारको काम कारबाहीको आलोचना गरेका छन्। पोखराको लेकसाइडका खबु पहारीले आफ्नो कमेन्टमा भनेका छन्, “प्रदेशमा मस्ति छ, महानगरमा लुटान छ, जनता छटपटिमा छन, उनिहरु र उनकालाई डेंगु लागेको छैन हाेला,  बाल मतलब।”

यसैगरि कानुन ब्पबसायी दामोदर अधिकारीले सरकारमा बस्नेहरु प्रति ब्यङ्ग गर्दै लेखेका छन।, “पद भजाएर खानु बाहेक सिन्को पनि भांचेको देखिएन ! तर एउटा काम चांही पक्कै गरेका छन्, त्यो हो पालै पालो बिदेश भ्रमण – त्यो पनि जनताले तिरेको करको मजाले सदुपयोग गरिदिएका छन् !”

पोखराका पुराना र प्रतिष्ठित ब्यापारी शिवलाल मल्लले पनि चालिसेको स्टेटसमा प्रतिक्रिया लेखेका छन्। उनले भनेका छन्- “डेंगु नियन्त्रण, प्रदेश सरकार को काम हो र ? ऊहॉहरुको काम त उद्घाटन, भाषण र मुख्य अतिथी पो हो, यस्तो कामको लागी ऊहॉहरु लाई कहॉ फुर्सद छ र ?”

“प्रदेशमा हाम्रो नै सरकार छ, कुनै बेलाको हाम्रै गठबन्दनको मेयर साब छन्, अब भन्नुस, के गर्ने ? तपाई त हामी भन्दा सयौ गुणा माथी हुनुहुन्छ, तपाईले नै पहल गर्नु आफु त भुईमान्छे | रिसानी माफ” बिष्णु सुबेदीले चालिसेलाई नै प्रतिप्रश्न गर्दै फेसबुकमा लेखेका छन। यसैगरी मिना ज्ञवालीले पनि सरकारमा बस्नेहरुले त भाषण आशन र शासन मात्र गर्न जानेको छन् भन्दै पिडा पोखेकी छन।

डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गरेर सजगता अपनाउन अनि डेंगुको शंका लागेमा स्वास्थ्यकर्मीको परामर्श अनुसार औषधी सेवन गर्न आबश्यक छ।

५ आश्विन २०८१, शनिबार २१:१२ मा प्रकाशित
Nabintech