पोखरा, नेपालको सार्बजनिक यातायातको क्षेत्रमा लामो समय देखि संलग्न यातायात ब्यबसायीहरुले सार्बजनिक यातायातको क्षेत्रमा निजि क्षेत्रले गरेको खरबौं रुपैयाँको लगानी सुरक्षित गर्न फेरी एकपटक आन्दोलन गर्नुपर्ने कुरामा जोड दिएका छन । नेपाली काँग्रेस निकट यातायात ब्यबसायीहरु आबद्द संस्था नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघ गण्डकी प्रदेशको प्रथम अधिबेशनको पोखरामा आयोजित उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन।
अधिबेशनको उद्घाटन नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गरेका थिए । त्यस अबसरमा बोल्दै काँग्रेसका गण्डकी प्रदेश सभापति शर्माले पनि यातायात ब्यबसायीको माग प्रति समर्थन जनाए। उनले भने ,” तपाईंहरुले उठाएका मागहरु लिएर गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री वा मन्त्रीहरुसंग बार्तामा बसौं। तपाईंहरुका जायज मागलाई प्रदेश सरकारले सम्बोधन गरे राम्रो भयो नत्र नेपाली काँग्रेस पनि तपाईंहरु संगै आन्दोलनमा रहनेछ। ”
कांग्रेस नेता शर्माले प्रजातन्त्रमा मात्र सबै नागरिकको हक अधिकार सुरक्षित हुन सक्ने भन्दै लोकतन्त्रको नामबाट आम नागरिकको अधिकार सुरक्षित हुन नसक्ने बताए । उनले सार्बजनिक यातायातको क्षेत्रमा निजि क्षेत्रको योगदान उल्लेखनीय रहेको कारण यातायात ब्यबसायीको जायज मागको सम्बोधन गर्न र आमसर्बसाधारणलाई सहज, सुलभ र ब्यबस्थित ढंगको यातायात सेवा उपलब्ध गराउने बाताबरण राज्यले नै तयार गर्नुपर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै लोकतान्त्रिक यातायात ब्यबसायी संघका सल्लाहकार एबम राष्ट्रिय यातायात ब्यबसायी महासंघका पूर्व अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जुनसुकै पार्टीको सरकार भएपनि यातायात ब्यबसायीको सरकार नहुने भएकोले आन्दोलन गरेर नै ब्यबसायीको अधिकार सुरक्षित गर्नुपर्ने खाँचो औंल्याए।
यस अगाडी २०६८ र २०७४ मा यातायात व्यवसायीले गरेको आन्दोलनका कारण यातायात व्यवसायीको केहि हक अधिकारको सुरक्षा गर्न सकिएको भन्दै कर्माचार्यले भने “अहिले फेरी सरकारले यातायात ब्यबसायीलाई धराशायी बनाउने किसिमका गतिबिधि गर्न लागेको कारण राष्ट्रिय यातायात ब्यबसायी महासंघको नेतृत्वमा लोकतान्त्रिक यातायात ब्यबसायी संघ सहित अन्य संस्थापनि आन्दोलनमा उत्रनुपर्ने भएको छ”।
कांग्रेस निकटका ब्यबसायीहरु आफैं संगठित भएर लोकतान्त्रिक यातायात ब्यबसायी संघ गठन गरेको स्मरण गर्दै कर्माचार्यले भने।, “हामी आफैंले बनाएको यो संस्थालाई कांग्रेससंग आबद्दता माग्न जाँदा समेत कांग्रेसले बेवास्ता गर्यो र आबद्दताको निर्णय गर्न पनि सात वर्ष लगायो। तसर्थ हामीले कांग्रेस वा अरु पार्टीले यातायात ब्यबसायीको हितमा निर्णय गर्छन भनेर पर्खिनुभन्दा आन्दोलनको विकल्प छैन भन्ने बुझेर अगाडी बढ्नु जरुरी छ। ”
नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठले २०४९ सालको सवारी ऐन संशोधन गर्नको लागि यातायात व्यवसायीले गरेको आन्दोलनको स्मरण गर्दै दुई दिनको सशक्त आन्दोलनका कारण सरकार ब्यबसायीसंग झुक्न बाध्य भएको र ऐनमा संशोधन गरेको बताए।
तत्कालिन अबस्थामा आँफु नेपाल यातायात ब्यबसायी महासंघको नेतृत्वमा रहेको र तत्कालिन प्रधानमन्त्री र मन्त्रीहरुसंग समन्वय र संघर्ष गरेर सफलता प्राप्त गरेको जानकारी दिंदै श्रेष्ठले पछिल्लो समय यातायात ब्यबसायी बीच एकताको अभाव र संघर्ष गर्ने साहस घट्दै गएको अनुभूति आँफुलाई भएको जनाए । यसै सन्दर्भमा व्यवसायीको अधिकारको रक्षाको लागि सबै ब्यबसायीबीच एकताको आबश्यकता औंल्याए।
नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले यातायात ब्यबसायीको लगानीको सुरक्षाको लागि फेरी एकपटक संघर्ष गर्नुपर्ने कुरामा जोड दिए ।
राष्ट्रिय यातायात ब्यबसायी महासंघका अध्यक्ष एब लोकतान्त्रिक यातायात ब्यबसायी संघका उपाध्यक्ष बिजयबहादुर स्वाँरले नेपाली काँग्रेस पार्टीको सरकार हुँदा पनि यातायात ब्यबसायीले न्याय पाउन नसकेको भन्दै गण्डकी प्रदेशबाट शुरु हुने आन्दोलन देशब्यापी हुने बताए । उनले अरु बेला यातायात ब्यबसायीसंग सहयोग लिने हरु पनि सत्ताको कुर्सीमा पुगेपछि परिबर्तन हुने गरेको भन्दै अब कुर्सीकै बारेमा अनुसन्धान हुनुपर्ने आबश्यकता औंल्याए ।
सर्बसाधारण तथा यात्रुहरुलाई पनि सरकारले विभेद गर्ने गरेको भन्दै महासंघका अध्यक्ष स्वाँरले जहाज दुर्घटना हुँदा राज्यको सबै श्रोत साधन खर्च गर्ने सरकारले बस दुर्घटनामा ६०/६५ जना बेपत्ता र मृत्यु हुँदा पिडित र परिवारको नाममा सामान्य सम्बोधन समेत गर्न नसक्नु दुखद रहेको बताए। सिमलतालमा पहिरोले बगाएको कारण दुईवटा बसका यात्रुहरु बेपत्ता या मृत्यु भएको भनि सरकारको औपचारिक निर्णय आएपछि यातायात ब्यबसायीले नै देश भर एकदिन राष्ट्रिय शोक मनाउन आव्हान गर्ने र सम्पूर्ण यातायात सेवा बन्द गरि शोक मनाउन आबश्यक रहेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका सदस्य बाबुराम गिरीले सार्बजनिक यातायातको क्षेत्रमा राज्यले गरेको लगानी फेलर भएको र निजि क्षेत्रले नै देशको सार्बजनिक यातायातको क्षेत्रमा ठुलो लगानी गरेर सेवा दिईरहेको कारण यातायात व्यवसायीको समस्या बार्ताबाट समाधान गर्न सरकार समक्ष आग्रह गरे ।
कार्यक्रममा नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका गण्डकी प्रदेश संयोजक केदार पौडेलले नेपालीहरुले आफ्नो पुंजी लगानी गरेर संचालित यातायात ब्यबसाय मार्फत भबिष्यमा कस्तो सेवा दिने भनेर सरकारले सोच्नुपर्नेमा ब्यबसायीलाई निमोठ्ने प्रयास हुनु दुखद रहेको बताए ।
पृथ्बीराजमार्ग यातायात कम्पनीका अध्यक्ष समेत रहेका महासंघका प्रदेश सचिब योगेन्द्र केसीले रातो प्लेटका सवारी साधनलाई बिभिन्न बहानामा यात्रु बोक्न दिने नीति सरकारले ल्याउने हो भने आँफुहरुका कालो प्लेटका सवारी साधन पनि रातो प्लेटमा राख्ने बताए ।उनले रुट परमिट र जांचपास जस्ता झमेलाबाट मुक्ति पाउने भएकोले कालो प्लेटको सट्टा रातो प्लेट बनाएर सवारीसाधन चलाउनु पर्ने अबस्था सरकारले सिर्जना गर्न नहुनेमा जोड दिए।
नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघका केन्द्रीय महासचिब केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका भात्री संस्थाहरुको तर्फबाट नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ गण्डकी प्रदेशका अध्यक्ष जीतबहादुर गुरुङ, लोकतान्त्रिक यातायात ब्यबसायी संघका केन्द्रीय सदस्य गोकर्ण कार्की, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेसका अध्यक्ष मुरारी शर्मा, गणतान्त्रिक यातायात ब्यबसायी संगठनका गण्डकी प्रदेश अध्यक्ष प्रकाशमणि तिवारी, लोकतान्त्रिक यातायात ब्यबसायी संगठनका प्रदेश अध्यक्ष् बलराम सापकोटा र नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघका आमन्त्रित केन्द्रीय सदस्य भानुभक्त बराल लगाएतले यातायात व्यवसायीका विभिन्न मागको बारेमा चर्चा गर्दै ब्यबसायिक हितको लागि सबै एकजुट भएर आन्दोलनमा जानुको विकल्प नरहेको बताएका थिए ।
लोकतान्त्रिक यातायात ब्यबसायी संघ गण्डकीको अध्यक्षमा महेश, सबै सर्बसम्मत
नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघ गण्डकी प्रदेशको प्रथम अधिबेशन शुक्रबार पोखरामा सम्पन्न भयो। अधिबेशनले संघको गण्डकी प्रदेशको अध्यक्षमा महेश बहादुर थापालाई सर्बसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ। अध्यक्ष सहित कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु सर्बसम्मत रुपमा चयन गरिएको निर्बाचन समितिका सदस्य भानुभक्त बरालले गुरुकुल खबरलाई जानकारी दिए।
(यातायात ब्यबसायी संग सम्बन्धित संस्थाका अगुवाहरुसंगे नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरु )
निर्बाचन समितिका सदस्य बरालका अनुसार समितिको उपाध्यक्षमा बिक्रम थापा, सचिबमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा बाबुराम घिमिरे र सह सचिबमा गणेश बहादुर श्रेष्ठ चयन भएको छन् भने कार्यसमितिको सदस्यहरुमा चन्द्रबहादुर क्षेत्री, बिनायक बराल, दिनेश बोहोरा, नारायण दानी, राजन जोशी र सन्तोष आचार्य चयन भएका छन।
लोकतान्त्रिक यातायात ब्यबसायी संघ नेपाली काँग्रेस निकट यातायात ब्यबसायीहरु संलग्न संस्थाको रुपमा मानिन्छ। संस्थाको अधिबेशन सम्पन्न गर्न लोकतान्त्रिक यातायात ब्यबसायी संघका आमन्त्रित केन्द्रीय सदस्य भानुभक्त बराल संयोजक तथा गोकर्ण कार्की र कृष्णबहादुर अधिकारी सदस्य रहेको निर्बाचन समिति गठन गरिएको थियो।