Play

बागमती प्रदेशमा पहिलो पटक कांग्रेसले पायो मुख्य मन्त्री, कांग्रेसका लामा मुख्यमन्त्री नियुक्त

गुरुकुल खबर


हेटौँडा, बागमती प्रदेशमा पहिलो पटक नेपाली काँग्रेसले मुख्य मन्त्री पाएको छ।मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ उनको सपथ भने बुधबार मात्र हुने भएको छ

सङ्घीयता कार्यान्वयनको ७ वर्षे अवधिमा अधिकांश समय प्रतिपक्ष रहेको कांग्रेस करिब ३ वर्ष भने सत्ता साझेदार बनेको थियो । २०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै कांग्रेस सरकारमा गएपनि नेतृत्व भने प्राप्त गर्न सकेको थिएन । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका आधारमा २०७८ मा कांग्रेससहितको समीकरणबाट एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व पाए । १४ महिने सो सरकारमा मुख्यमन्त्री त्याग गरेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन ।

एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार २ महिनामा ढलेपछि २०७९ चैतमा कांग्रेस सरकारमा सहभागी भएको थियो । सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दाबी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको थियो । एक वर्षपछि २०८० फागुनमा फेरि त्यो समीकरण भत्कियो । सो लगत्तै सरकारबाट कांग्रेस बाहिरियो र केन्द्रको भन्दा फरक समीकरणबाट सरकार गठनको कसरतमा जुट्यो । तर, कांग्रेसको सो प्रयास असफल बन्यो । अन्ततः पुनः माओवादी केन्द्र कै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच सत्ता साझेदारी हुँदा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा पुग्यो । यस्तै कांग्रेस विगत ४ महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा रहँदै आएको थियो । ०७८ अघि पनि कांग्रेस प्रतिपक्षमै थियो ।

को हुन् नवनियुक्त मुख्यमन्त्री लामा ?

कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीति गर्दै पार्टी राजनीतिमा होमिएका बहादुर सिंह लामा हाल कांग्रेस केन्द्रीय समिति सदस्यको भूमिकामा छन् । स्व. दीप बहादुर लामा तामाङ र आमा स्व. पूर्णिमाया लामा तामाङको पुत्र लामा २०२७ कात्तिक ८ गते नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा जन्मेका हुन् ।

सामान्य परिवारमा जन्मिएका लामा सानै उमेरदेखि अब्बल र हक्की स्वभावका थिए । लामाले गाउँकै स्कुलबाट आधारभूत तहको शिक्षा हासिल गरे भने माध्यमिक तह अध्ययन नुवाकोटको सदरमुकाम विदुरबाट पूरा गरे । यस्तै उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकसम्मको उच्चशिक्षाको अध्ययन पूरा गरेका छन् ।

उनले २०४३ मा नेविसंघको सदस्यता लिएका थिए भने शंकरदेव क्याम्पस इकाई सदस्य पनि भए । २०४५ सालमा नेविसंघ नुवाकोटको क्षेत्रीय सभापति भएका उनी पछि कांग्रेस नुवाकोटको जिल्ला उपसभापति भए । २०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गा.वि.स अध्यक्षमा निर्वाचित भएका लामा पार्टीको १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य भएका थिए । यस्तै १४ औँ महाधिवेशनमा पनि उनले केन्द्रीय सदस्यमा निरन्तरता पाए ।

२०६४ सालमा नुवाकोट क्षेत्र नम्बर–३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा पराजित भएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । सो निर्वाचनमा उनले नेकपा माओवादी केन्द्रका तत्कालीन महासचिव पोस्टबहादुर बोगटीलाई भारी मतले हराएका थिए । ०६४ सालमा भने उनी बोगटीसँग नै पराजित भएका थिए ।

२०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामा २०७९ मा भने बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बागमतीको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका उनी अहिले मुख्यमन्त्री बन्न सफल बनेका हुन् । लामा देशकै पहिलो तामाङ समुदायका मुख्यमन्त्री हुन् । उनी निर्माण व्यवसायीका रूपमा समेत चिनिन्छन् ।

८ श्रावण २०८१, मंगलवार २२:१३ मा प्रकाशित
Nabintech