Play

रातारातको राजनीतिक सहमतिपछि कांग्रेस, एमाले, माओबादी र रास्वपाको बैठक बस्दै, रास्वपा सरकार नछाड्ने मुडमा, जसपा नयाँ गठबन्धनमा सामेल हुने

गुरुकुल खबर


काठमाडौँ, रातारात भएको राजनीतिक सहमति पछि आज बिहानैबाट विभिन्न राजनीतिक दलहरुको आन्तरिक बैठक र भेटघाट तिब्र बन्न थालेको छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि मुलुकको राजनीतिमा नया तरङ्ग सिर्जना भएको हो।

सोहि अनुरुप सत्तारुढ वा सत्ता बाहिर रहेका दलहरु आगामी रणनीति बनाउन आन्तरिक तयारीमा जुट्न लागेका हुन् सत्ता गठबन्धनमध्ये माओवादी अहिले एक्लै देखिएको छ। एमाले र कांग्रेसले गठबन्धन बनाएका छन् । त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन । यद्यपि जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।

नेपाली काँग्रेसले केन्द्रीय समितिका पदाधिकारीहरुको बैठक बिहान ९ बजेको लागि देउबा निवासमा राखिएको छ  भने नेकपा एमाले र माओबादी केन्द्र र रास्वपाले पनि आफ्नो बैठक तय गरेका छन ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पनि  बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसै गरि नेकपा एमालेले आज दिउँसो ३ बजेको लागि सचिबालयको बैठक राखेको छ ।

माओबादी केन्द्रको बैठकमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्न भएको सहमतिका विषयमा छलफल हुने बुझिएको छ ।  कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बताएको छ ।

यसैगरी नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ ।  नेपाली कांग्रेससँग नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै पार्टीले बैठक बोलाएको हो  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन अध्यक्ष ओलीले बैठक बोलाएको गौतमको भनाई छ ।

नेपाली कांग्रेससँग मिलेर आफ्नो पार्टीको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरू भने प्रचण्ड सरकारबाट राजीनामा दिने तयारीमा छन तर रास्वपाका मन्त्रीहरु भने अन्तिम सम्म सरकार नछाड्ने मनस्थितिमा छन ।

सत्तारुढ रास्वपाको पनि सचिबालय बैठक अहिले जारी छ  उपसभापति डोलप्रसाद अर्यालका अनुसार विकसित राजनीति घटनाक्रमबारे रणनीति बनाउन रास्वपा सचिवालय बैठक जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाएको छ । सत्ताकाे प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् ।

रास्वपा उच्च स्रोतका अनुसार रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने छ ।  ‘प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म हाम्रा मन्त्रीहरूले सरकार छोड्नु हुन्न । नयाँ सरकार बनाउने कुरामा हामी सामेल छैनौँ,” रास्वापाका एक नेताले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले भने लाज नमानी पार्टीलाई सुधार गर्नुपर्ने मौका आएको बताएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा टिप्पणी गर्दै उनले रास्वपा सुध्रनुपर्ने बताए ।

“लाज नमानी आफू (पार्टी)लाई सुधार गर्नुपर्ने मौका आयो,” उनले भने । “यो मेरो व्यक्तिगत विचार भए पनि यो पार्टीलाई अवसर हो । पार्टी सुध्रनुपर्ने, पार्टीलाई रिफर्म गर्नुपर्ने ठूलो अवसर आएको छ,” उनले भने, “यसलाई अवसरको रूपमा लिएर पार्टी अघि बढ्नुपर्नेछ ।” सचिवालय बैठकपछि पार्टीले आधिकारिक निर्णय गर्ने उनले बताए ।

यता जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने जनाएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताए । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’

माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए । जसपा नेपालका अध्यक्ष यादवले पनि आफ्नो पार्टी सत्ता गठबन्धनले विभाजन गरेको आरोप लगाउँदै आएका छन् ।

कांग्रेस–एमाले गठबन्धनले ६ वटा प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरेका छन जसअनुसार कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व एमालेले, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको छ तर मधेस प्रदेश भने मधेसवादी दलका लागि छाडेका छन् । अहिले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरेको छ ।

नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमतलाई निरन्तरता दिने हो वा परिवर्तन गर्ने भन्ने टुङ्गो लागेको छैन ।

१८ असार २०८१, मंगलवार १०:१६ मा प्रकाशित
Nabintech