Play

बिचारले प्रजातन्त्रबादी, कामले क्रान्तिकारी व्यक्तित्व ‘गणेशमान पलिखे’

गुरुकुल खबर


पोखरा । जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले गणेशमान पालिखे विचारमा प्रजातन्त्रवादी र कामले क्रान्तिकारी भएको बताए । मानीत विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १९ औं स्मृति दिवस सन्दर्भमा आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन्

पालिखेलाई स्मरण गर्दै बिजुक्छेले भने, ‘२०३९ सालमा पृथ्वीनारायण क्याम्पसमा म उहाँको चेला थिएँ, २०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ । पारिवारिक रूपमा नातेदार र आफ्ना राजनीतिक गुरु भए पनि उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्दा खेपेका छौं ।’ क्याम्पसकै लागि ज्यानको आहूति दिएका पालिखे शिक्षामै सहादत पाएका क्रान्तिकारी व्यक्तित्व भएको उनको भनाइ थियो ।

सिर्जना विकास केन्द्र अध्यक्ष एवं सञ्चालक समिति सदस्य विष्णुप्रसाद बरालले क्याम्पस स्थापना गर्दा अमेरिकाबाट उच्चशिक्षा लिएका प्रेमनारायण बराल संस्थापक अध्यक्ष र जर्मनीबाट व्यवस्थापन विषयमा उच्चशिक्षा लिएका गणेशमान पालिखे संस्थापक क्याम्पस प्रमुख पाउँदा नै क्याम्पसले गति लिएको स्मरण गरे ।

पूर्व क्याम्पस प्रमुख माधवप्रसाद घिमिरेले गणेशमान पालिखेको जीवनी व्यक्तित्वमाथि प्रकाश पार्दै पालिखेले नेपालभरकै शिक्षा क्षेत्रमा व्यवस्थापन संकायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस संघका संस्थापक अध्यक्ष भएर मुलुकभरिका सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए ।

सल्लाहकार डा.वीरबहादुर कार्की, निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्का, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, प्रशासक एकनारायण अर्याल, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाइ अध्यक्ष विकास थापामगर, कर्मचारी संघ जनप्रिय एकाइ अध्यक्ष देवी पनेरु लगायतले क्याम्पसलाई मानीत विश्वविद्यालय बनाउन संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यसम्पादन गर्दा गन्तव्यमा पुगिने विचार राखे ।

पालिखेको सम्झनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामकरण गरिएको छ । उनकी धर्मपत्नी गंगादेवी पालिखेले पति गणेशमानको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्देश्यले कोष स्थापना भएको सहायक प्रशासक महादेवकुमार पालिखेले बताए ।

२०६२ जेठ २९ मा तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुंगा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्कीबाट २०२२ सालमा एमकम पास गर्ने उनी पहिलो व्यक्ति हुन् ।

२०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।

विश्वविद्यालय अनुदान आयोगबाट २ पटकसम्म गुणमापन तथा प्रत्ययान प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट २ पटक मुलुकभरिका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्नलायक छ ।

३० जेष्ठ २०८१, बुधबार ०७:१७ मा प्रकाशित
Nabintech