Play

संसदीय समिति गठनमा सहमति, कार्यादेश बन्न बाँकि, संसदको बैठकले निरन्तरता पाउने सम्भावना

गुरुकुल खबर


काठमाडौँ, प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धन र बिपक्षी नेपाली काँग्रेसको बिचमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएसंगै अब प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने र त्यसको लागि सम्भावित कार्यसूची समेत तयार भयेको छा

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सहकारी ठगि सम्बन्धि संसदीय छानबीन समिति गठन गर्ने सहमति भएको हो ।

बैठकमा संसदीय समितिको कार्यादेश (टीओआर) बारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश  (टीओआर) बारे पनि आइतबारसम्म कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकका अनुसार संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित कांग्रेस, एमाले, रास्वपा र माओवादीका प्रतिनिधि आइतबार बिहान बसेर टुंग्याउने भएका छन ।  कानुनमन्त्रीको नेतृत्वमा बनेको टिओआर तय गर्न बनेको समितिमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला, रास्वपाबाट शिशिर खनाल रहेका छन् । माओवादीबाट भने प्रतिनिधि छैन ।

बैठकमा गृहमन्त्री रबि लामिछानेको नाम तोक्ने नतोक्नेबारे छलफल नभएको प्रमुख सचेतक लेखकले बताए। उनले उक्त विषय कार्यादेश बनाउँदा छलफल हुने बताए । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो । सहकारीबारे संसदीय छानबिन समिति बनाउनेमा सबै दलको सहमति रहेको समेत लेखकले बताए ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।

यसैबीच संसदीय समिति बनाउने सहमति संगै प्रतिनिधिसभा बैठक आइतबार बस्ने भएको छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । दलहरुबीच सहमति भएकोले आइतबारको बैठकले भने निरन्तरता पाउने सम्भावना छ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले सदस्यहरूको मनोनयन गर्नेछन् ।
सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नेछन् ।

त्यसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसैगरी राष्ट्रियसभा बैठक पनि आइतबार दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्ने कार्यक्रम तय भएको छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् ।

राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेस गर्नेछन् ।

सञ्चारमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक र विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले सुरक्षित कारोबारसम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

६ जेष्ठ २०८१, आईतवार ०७:३३ मा प्रकाशित
Nabintech