Play

नेपालको कम्युनिस्ट आन्दोलनभित्र नवसामन्तवाद प्रवृति दखियो- कांग्रेस नेता महर

गुरुकुल खबर


नेपालगञ्ज, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्व कम्युनिस्ट आन्दोलनमा विचलन आएको र नेपालका कम्युनिस्टहरूमा सर्वहारा चरित्र हराएर नवसामन्तवादी चरित्र मौलाउँदै गएको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले नेपालगञ्जमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले ७५ वर्षीय इतिहसमा नेपालको कम्युनिस्ट आन्दोलन लोकतन्त्रको सतमार्ग समात्न नसकेर राजनीतिक अधिकारविहीन समाजवाद स्थापनाको भ्रमजालमा बाँचेको बताए।

बामपन्थमा विश्वास गर्ने र पपुलिजमका अनुयायी यी दुवै कस्मेटिकमा बढी विश्वास गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थाप्रति उनीहरू अझै पूर्णरूपले प्रतिवद्ध हुन नसकेको उनले बताए। पछिल्लो दशकमा कम्युनिस्टहरूमा सत्ता र शक्तिको दुरुपयोग गरेर देशलाई खोक्रो बनाउने प्रवृत्ति बढ्दै गएको महरको आरोप छ।

‘कांग्रेसले ओली नेतृत्वको नेकपा सरकारलाई सत्ता सुम्पिदा मुलुकको ऋण भार ६ खर्बमात्र थियो। केपी शर्मा ओलीले सत्ताबाट बाहिरिँदा भने ऋण बढेर १६ खर्बको हाराहारीमा पुग्यो। त्यसपछि पुनः कांग्रेसले सत्ताको बागडोर सम्हालेर देशलाई एउटा गतिमा ल्याउन खोजिरहेको थियो। पुष्पकमल दाहाल प्रचण्डको कपटपूर्ण र धोकेबाज चरित्रले अवस्था फेरियो। पुनः कम्युनिस्टहरू एक ठाउँमा आएर सत्ताको चरम दुरुपयोग गरेर देशको दोहन गर्न खोजिरहेका छन्,’ महरले अगाडी थपे, ‘एमालेको भर्खरै सम्पन्न प्रतिनिधि परिषद् बैठकले सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको कुरा गरे पनि सहकारी ठगलाई कानुनी दायरामा ल्याएर जनतालाई राहत दिनुपर्नेमा उल्टै सरकार सहकारी ठगहरूलाई जोगाउने खेलमा लागिरहेको छ।’

वर्तमान सरकारसँग लगानीका प्राथमिक क्षेत्र के हुन्? समृद्धिका आधार स्तम्भ के हुन्? जनपेक्ष के छ? जस्ता कुनै विषयको गहन अध्ययन र जानकारी नरहेको महरले आरोप लगाए। ‘मुखले समृद्धिको रटान लगाएर कम्युनिस्टहरू जनतालाई भ्रममा राख्न खप्पिस छन्। तर, समृद्धिका दीर्घकालिन योजना वर्तमान सरकारसँग छैनन्,’ महरले भने।

महरले सरकारमात्र नभएर कतिपय कुरामा कांग्रेस पनि सच्चिनुपर्ने बताएका छन्। ‘राजनीतिक स्थिरता र स्थायीत्वको लागि हामीले विभिन्न दललाई साथमै लिएर अगाडि बढ्न खोजेका थियौं। तर, हाम्रै बुई चढेर सम्युनिस्टहरूले देश र जनतामाथि प्रहार गर्ने काम गरे। अब हामीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर जनताका आवाजलाई बलियो रूपमा उठाउनुपर्छ।’

उनले कांग्रेसभित्रै केही व्यक्तिमा कहिले एमाले र कहिले माओवादीसँग लहसिने प्रवृति देखिएकाले त्यसको अन्त्य गरिनुपर्ने औल्याएका छन्। उनले कांग्रेसलाई कसैको साहरामा भन्दा पनि आफ्नै बलमा उभिन सक्ने बलियो लोकतान्त्रिक दल बनाउनुपर्ने बताए

१० बैशाख २०८१, सोमबार १४:५७ मा प्रकाशित
Nabintech