Play

जाजरकोटमा बिद्यालय बनाउन बेल्जियममा सांगीतिक र शुभकामना आदानप्रदान कार्यक्रम

गुरुकुल खबर


बेल्जियम, एनआरएनए बेल्जियमले नेपालीहरुको आउंदै गरेको नयाँ वर्ष २०८१ को सन्दर्भ पारेर बिशेष सांस्कृतिक साँझ तथा नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो । नेपालको कर्णाली प्रदेशको जाजरकोट र रुकुम लगायतका केहि जिल्लामा भूकम्पका कारण भापुगेको क्षतिमा राहत पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

एनआरएनए बेल्जियमका अध्यक्ष सिता सापकोटाले भूकम्पका कारण क्षतिग्रस्त बनेको जाजरकोटको बिकट गाउँमा एक बिध्यालय भवन निर्माण गर्ने उद्देस्यका साथ च्यारिटी कार्यक्रमको आयोजना गरिएको गुरुकुलखबरलाई बताईन। बाध्यताले देश छोड्नुपरेको भएपनि नेपालीहरुले आफ्नो मन, मुटु र भावनाले देशबाट टाढा नसक्ने र नेपालको कुनै भागमा चोट पर्दा बिदेशमा बस्ने नेपालीलाई पनि चोट पर्छ भन्ने संदेश दिन कार्यक्रम आयोजना गरिएको अध्यक्ष सापकोटाको भनाई थियो।

कार्यक्रममा भूकम्पले पुर्याएको क्षति र एनआरएनए बेल्जियमले सहयोग गर्नुपरेको अवस्थाका बारेमा उपाध्यक्ष काशी दनेले प्रकाश पारेकी थिईन।

कार्यक्रममा बेनेलक्सका लागी नेपाली राजदुत गेहेन्द्रराज भण्डारी, एनआरएनए बेल्जियमका पुर्व अध्यक्ष तथा संरक्षकहरु, आईसिसी सदस्यहरु, बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु गरि ठुलो संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रममा  एनआरएनए नेदरल्याण्डका अध्यक्ष थानेश्वर कंडेल, नेपाली जनसमपर्क समिति नेदरल्यान्डका सभापती सालिक गौतम लगायत पनि अतिथिको रुपमा सहभागी थिए।

कार्यक्रमका संयोजक स्थानीय सामाजिक ब्यक्तित्व योगेन्द्र श्रेष्ठ रहेका थिए । कार्यक्रममा प्रमुख कलाकारको रुपमा सुपरिचित कलाकार किरण गजमेरले र स्थानिय कलाकार तथा लोकप्रिय गायक लाउरे कान्छाले विभिन्न रोमान्चक प्रस्तुति दिएका थिए । सांगीतिक कार्यक्रममा गीत संगै विभिन्न नृत्यहरु पनि प्रदर्शन गरिएको थियो। जसमा  निकिता सापकोटा सहितका साना नानीहरु, शेर्पा समुदायका युवा कलाकारहरु, टप मोडेल किड्स बेल्जियमकी बिजेता स्तुती बस्नेतको प्रस्तुती आकर्षक मानिएको थियो ।

च्यारिटी कार्यक्र्म भनिए पनि संस्कृतिक कार्यक्रमको रुपमा संचालन गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा सांस्कृतिक कार्यक्रमका संयोजक बलराम पुनले सहभागीलाई हँसाउन र नचाउन बिशेष प्रस्तुति दिनुको साथै कार्यक्रमको लागि ७ सय ५० युरो बराबरको सहयोग गरेका थिए। यसका साथै बिदेशी नागरिक लोंगले पनि कार्यक्रमको लागि ७ सय युरो सहयोग गरेको अध्यक्ष सापकोटाले जानकारी दिईन।

कार्यक्रममा प्राबिधिक मीन पुन, खाना ब्यबस्थापन समितिका संयोजक रमेश सापकोटा सहित सदस्यहरु तारा शर्मा, बाबुराम सापकोटा, जमुना शर्मा र सुबर्ण अधिकारीको मेहनत प्रसंशा गर्न लायक थियो

यसैगरी टिकट ब्यबस्थापनको जिम्मा लिने एनआरएनए बेल्जियमका महिला उपाध्यक्ष साबित्रा गिरी, सह कोषाध्यक्ष डा. राजु श्रीवास्तव र सचिव ईश्वरा शर्मा, अतिथि सत्कारमा खटिने लक्ष्मी रेग्मी र अन्जु मल्ल,  प्रायोजक समन्वय समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष लोकेन्द्र मल्ल,हल ब्यबस्थापन समितिका संयोजक सुरज खरेल, युवा उपाध्यक्ष रिबु बस्नेत र रोसन गौतम, अर्जुन जैसेल, ईन्दिरा चामलिंग, एसम्बर लिम्बु र सन्तोष पन्त लगायतले आफ्नो जिम्मेवारी कुशलता पुर्बक निर्बाह गरेको बताइएको छ । कार्यक्रममा सहभागीहरुले गीत र नृत्यबाट मनोरंजन लिएका थिए ।

दुई चरणमा संचालित उक्त कार्यक्रमको औपचारिक कार्यक्रमको संचालन संस्थाका उप महासचिव राजेन्द्र कार्कीले तथा सांस्कृतिक कार्यक्रमको संचालन एडिना केसीले गरेकी थिईन । एनआरएनए बेल्जियमले आयोजना गरेको उक्त कार्यक्रमबाट संकलित रकम सहित अन्य सहयोग जुटाएर जाजरकोटमा स्कुल बनाउने लक्ष राखिएको छ ।

२९ चैत्र २०८०, बिहीबार २०:५२ मा प्रकाशित
Nabintech