— शकुन ज्ञवाली —
— थोत्रो छाता —
आज बर्षौ पछि
यो तिमीले
दिएको छाता
निकालेर एकतमास हेरिरहे
बाहिर दिनभरी झरी परिरह्यो
मलाई भने यो थोत्रो छाता
ओल्टाई पल्टाई
हेरिरहन मात्रै
मन लाग्यो
साँच्चै छाता जस्तो पो कँहा छ र यो
करंग सबै भाँचिएको
कपडा सबै
च्यातिएको
लथालिङ्ग धुलै धुलो
तर पनि
धुलो टकटकाउदै निकाले
त्यो दिन यो छातामुनि तिमी र म
भिज्न त नभिजेको कँहा हो र निथ्रुक्कै
के ओत दिन्थ्यो र
यत्ति सानो छाताले
तर तिमी संगै त
भिज्नुमा पनि कति
न्यानोपन
तिमीले मलाई दिएको
पहिलो उपहार
यो छाता घरमा लिएर जाँदा आमाले
“जसको छाता हो उसैलाई बुझाइदे”
भन्दा
हवस् आमा भन्दै
लुकाएकी थिए
म सुत्ने खाटमुनी जतनले
तिमीले र मैले
त्यो झरीमा ओढे पछि
एकपल्ट पनि
ओढनै मन लागेन यो छाता
म जँहा जँहा बसाई सरे
म संगै डुलेको छ यो छाता
तिमीले दिएको भन्नु यत्ति त छ
म संग चिनो
अरुले पागल ठान्दा हुन् मलाई
यस्तो थोत्रो छाता जतन
गरेर राख्ने
तर मलाई यो जस्तो महँगो
केहि लाग्दैन अरु
मेरो प्यारो
थोत्रो छाता
हाल – अमेरिका
( विश्व कबिता दिवसको शुभकामना )