Play

कांग्रेस सम्बद्ध कर्मचारी युनियनको विशेष भेला सहित परिचयात्मक र सम्मान कार्यक्रम पोखरामा हुंदै

पार्टी र युनियन बिचको सम्बन्ध सुदृढ पार्ने र कर्मचारीको समस्या समाधानमा पहल गर्न लक्ष्य


गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस सम्बद्ध निजामती कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी युनियन कास्कीले पोखरामा विशेष भेला सहित परिचयात्मक, मित्रमिलन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

यही पुष १४ गते शनिवार हुने उक्त कार्यक्रममा कर्मचारी युनियनका कास्की जिल्लामा कार्यरत सदस्यहरु, गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु र युनियनको केन्दीय समितिका पदाधिकारीहरु समेत सहभागी बन्नेछन ।

युनियनको कास्की शाखाले युनियनका गतिविधीलाई निरन्तरता दिने क्रममा युनियनका सदस्य रहेका निजामती कर्मचारीहरु बिच आपसी सद्भाव क़ायम गर्न, कर्मचारीहरुको समस्या युनियनको केन्दीय नेतृत्व सम्म पुर्याउन र युनियन र नेपाली कांग्रेस बिचको सम्बन्ध सुदृढ़ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

पोखरा महानगरपालिका -१८ मेथ्लाडंग, सरांगकोटमा हुने उक्त कार्यक्रममा युनियनका सदस्य एवं कर्मचारीहरु करिव ५ सयको संख्यामा र अन्य अतिथीहरु करिव १ सय ५० को संख्यामा गरि करिव ६ सय ५० जना सहभागी हुने अनुमान गरिएको छ ।

नेपाल निजामती कर्मचारी युनियन कास्कीको आयोजक र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ कास्की एवं नेपाल स्वास्थ्यकर्मी संघ कास्की सहआयोजक रहेर कार्यक्रमको तयारी भैरहेको छ ।

कार्यक्रम सम्पन्न गर्न युनियनको गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन गुरुडंको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, नेपाल स्वास्थ्यकर्मी संघ कास्कीका अध्यक्ष दीपेन्द्र सुनारको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, युनियनको कास्की शाखाका सल्लाहकार तेजाखर लम्सालको संयोजकत्वमा प्रचार प्रसार उप समिति, अर्का सल्लाहकार शिव गौतमको संयोजकत्वमा अनुगमन तथा मुल्यांकन उपसमिति तथा युनियनका कास्की जिल्ला उपाध्यक्ष सिता बरालको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन उप समिति गठन गरिएको छ ।

सबै उपसमितिहरुलाई संयोजन सहित मुल तयारी समितिको संयोजक भने कर्मचारी युनियनको कास्की जिल्ला अध्यक्ष शुरेश श्रेष्ठ रहेको छन । कार्यक्रमका लागि अध्यक्ष श्रेष्ठ सहित अर्जुन गुरुडं, केदार सापकोटा, सुमन शर्मा, दीपेन्द्र सुनार र बसन्त कोईराला लगायतले समन्वय गरिरहेको छन ।

कार्यक्रममा कास्की जिल्ला स्थित विभिन्न वडा कार्यालय,गाउं पालिका कार्यालय, महानगरपालिका, विभिन्न जिल्ला कार्यालय एवं कास्की जिल्लामा रहेको प्रादेशिक एवं अन्य कार्यालयमा कार्यरत युनियन सम्बद्ध कर्मचारीहरुलाई सहभागी तथा कार्यालय प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको जनाईएको छ ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे रहने र प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका एवं सांसद रहेका सबैलाई आमन्त्रण गरिएको अध्यक्ष शुरेश श्रेष्ठले गुरुकुल खवरलाई जानकारी दिए । यसका साथै कास्कीबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका गुरु बराल र शारदा पौडेल, केन्द्रीय विभागमा रहेका नेताहरु सहित गण्डकी प्रदेशका पदाधिकारी र कास्की जिल्लाका पदाधिकारीहरुलाई समेत आमन्त्रण गरिएको छ ।

युनियनको कास्की जिल्ला अध्यक्ष शुरेश कुमार श्रेष्ठले  दिएको जानकारी अनुसार युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेल, महासचिव जनक रावल, गण्डकी प्रदेश अध्यक्ष दिपक रेग्मी सहित जिल्ला स्थित अन्य राजनीतिक दल संग आवद्द कर्मचारी संगठनका प्रमुखहरुलाई पनि कार्यक्रममा अतिथीको रुपमा आमन्त्रण गरिएको छ ।

जस अनुसार नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन , नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन र एकिकृत समाजवादी निकट एकिकृत सरकारी कर्मचारी संगठन लगायतका रहेका छन ।

१३ पुष २०८०, शुक्रबार ०९:४७ मा प्रकाशित
Nabintech